बुद्ध र बुद्धोपदेश बुझाउने पुस्तक अङ्ग्रेजीमा

- प्रकाश प्रसाद उपाध्याय (अल इण्डिया रेडियो “आकाशवाणी” मा ४२ वर्ष सेवापछि अवकाशप्राप्त वरिष्ठ पत्रकार)



बौद्ध धर्मावलम्बी नभए पनि प्रशारण सेवाकालमा बुद्ध जयन्तीका अवसरमा प्रत्येक वर्ष विशेष कार्यक्रमको निर्माण गर्ने गरेकाले हुनसक्दछ; बुद्ध, बुद्धोपदेश, विशेष गरी बुद्धद्वारा प्रतिपादित आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलका सम्बन्धमा गरिएका प्रवचन पढ्ने र ‘बुंद्धं शरणं गच्छामि, धम्मं शरणं गच्छामि, संघं शरणं गच्छामि’ जस्तो त्रिरत्न उद्घोष सुन्दा मनलाई सार्‍है शितलता प्राप्त हुने साथै त्यसबाट आनन्द र उत्प्रेरणा शिक्षाको बोध हुने गर्दछ। पत्रकार मित्र कुमार रञ्जितबाट “गौतम बुद्ध र उहाँको उपदेश” (Gautam Buddha and His Teachings) शीर्षकको पुस्तक पाउँदा अति हर्षित भएँ। अहिले यो पुस्तक समिक्षार्थ पढ्दै गर्दा ती दिनहरूको सम्झना आयो र कानमा त्रिरत्नको ध्वनी गुञ्जन थाले सरह लाग्न थाल्यो। यस पुस्तकका लेखक हुनुहुन्छ, नेपालका एक ख्यातिप्राप्त वैज्ञानिक डा. मुकुन्द रञ्जित।
प्रथम दृष्टिमा सर्सती हेर्दा नै पुस्तक गहन अध्ययन र शोध कार्यको परिणाम जस्तो लाग्दछ। किनभने पुस्तकका पाना पल्टाउँदै पढ्दै गर्दा यस्ता अनेक प्रसंग पाइए, जुन यस समिक्षकलाई यसअघि वा कार्यक्रमको निर्माणकालमा पढिएका ग्रन्थहरूबाट प्राप्त हुन सकेको थिएन। जस्तै, सुजाताले पिपल बोटको छायाँमुनि तपस्यामा साधनारत् सिद्धार्थ गौतमलाई खिर खान दिएपछि उनलाई बोधिज्ञान प्राप्त भएको कुरा सर्वविदित भएपनि सुजाताले पिपल बोटको छायाँमुनि रहेका तपस्वीलाई खिर अर्पण गर्नाको कारणबारे खुलासा पनि गरिएको पाउँदा लेखकले गरेको श्रमको अनुभव गर्न सकिन्छ। पुस्तकमा उल्लेख भएअनुसार सुजाता एक कुलिन घरकी बुहारी थिइन् । उनले आफ्नो सननी गाउँको अजपल भन्ने पवित्र बोटमुनि बसेर वृक्षदेवतासित भाकल गरेकी थिइन कि उनीलाई पहिलो सन्तान छोरा भएमा वृक्षदेवको पूजा गर्न आउनेछिन्। सौभाग्वश उनीबाट पहिलो सन्तान छोरा नै जन्मियो। यसबाट खुशी भएर उनले आफ्नी सेविका पुन्नालाई अजपलको बोटमनिको भुइँ सफासुग्घर गरि आउन अर्‍हाइन्। पुन्ना त्यहाँ जाँदा उनले वृक्षमुनि एकजना तपस्वीलाई विश्राम गरिरहेको देखिन्। र त्यसलाई वृक्षदेवता ठानिन्। यो देखेर उनी हतारिँदै सुजातानिर पुगेर सबै कुरा बताइन्। सुजाता पनि हर्षित हुँदै सुनको थालमा खिर राखेर वृक्ष देवतालाई अर्पण गर्न पुगिन्। जबकि तपस्वी त्यस गाउँमा भिक्षाटनका लागि पुगेका र थाकेर वृक्षमुनि विश्राम गरिरहेका थिए। सिद्धार्थले खिर पाएपछि त्यसलाई ४९ भाग लगाए र एक–एक गर्दै खाएर रित्तो थाललाई छेउमा बगिरहेको निरन्जना नदीमा यो भन्दै बगाए कि यो थाल पानीमा नडुबेर माथि पौडिन्छ भने ज्ञान प्राप्त गर्ने उनको चाहना पूरा हुने बुझिनेछ। थाल नदीको पानीमा परेपछि पौडिरह्यो र उनी विश्वस्त भए कि उनलाई निकट भविष्यमा नै बोधिज्ञान प्राप्त हुनेछ। उनले बोधगयामा बोधिज्ञान प्राप्त गरेको प्रायः सुन्ने र पढ्ने गरिन्छ। हुनसक्छ उक्त स्थल बोधगया क्षेत्रभित्र पर्दो हो। तर विद्वान् लेखकले लेखेअनुसार उनी साधनामा बसेको गाउँ सननी थियो, जहाँ एकदिन राति सुतेको बेलामा एउटा सपना देखे। यो सपना ब्रह्म मुहुर्तकालको थियो। सपनामा के देख्छन् भने उनी हिमालयको फेदमा शिर राखेर भुइँमा सुतिरहेका छन्। उनको नाइटोबाट एउटा बिरुवा उम्रेर माथि आकाशपट्टि गइरहेछ। उनका दुईवटै पैतालामाथि मानिसहरू निहुरिएका छन्। चारवटै दिशाबाट विभिन्न किसिमका पंक्षीहरू उडेर आउँछन् र ओर्लिएपछि सबैको रङ् एकसमान हुन्छ। उनी एउटा फोहोर हिलाम्य देखिने पहाडमाथि हिँडिरहेका छन् तर खुट्टामा अलिकति पनि हिलो लागेको छैन। बिहानीपख जब उनी ब्युँझे अनि उनले सपनाको विश्लेषण गर्दा यो अनुभव गरे कि उनको जीवनमा केही राम्रो घटना हुने भएको छ र उनलाई आफ्नो कठोर तपस्याको फल चाँडै नै प्राप्त हुनेजस्तो छ, जसबाट मुक्तिको मार्ग पनि सुलभ हुनेछ। हुन पनि यो सपना देखेको केही दिनभित्रै उनले बोधिज्ञान प्राप्त गरे। उनले बुद्धत्व प्राप्त गरेको दिन पूर्णिमा परेको थियो र महिना थियो बैशाखको। यसरी बैशाख पूर्णिमा “बुद्ध पूर्णिमा” का रूपमा सर्वपुज्य भयो।

उनको जन्म पनि बैशाख पूर्णिमाकै दिन भएकोले समस्त मानव जगतमै बैशाख पूर्णिमाले विशेष महत्व पाएको छ। तर बुद्धको जीवनमा अन्य महिनाहरूका पूर्णिमाको पनि प्रभाव परेको वृत्तान्त पाठक वर्गले विद्वान् लेखक डा. रञ्जितको यस पुस्तकबाट पाउन सक्नुहुन्छ। जस्तै बुद्धत्व प्राप्त गरेपछि उनी कपिलवस्तु पुगेको दिन ज्येष्ठ महिनाको पूर्णिमाको दिन थियो, जहाँ उनले स्वागतको निम्ति उभिएका बन्धुबान्धवहरूसमक्ष महा साम्य सूत्रको प्रवचन गरे। ज्ञानको खोजीमा रात्रिकालमा गृह त्याग गर्दै निस्केका सिद्धार्थ गौतमले बुद्धत्वको प्राप्तिपछि आफ्नो पहिलो धर्मचक्र प्रवर्तन गरेको दिन आषाढ पूर्णिमा थियो। यसका अतिरिक्त श्रावस्ती पुगेर स्थानीय मानिसहरूलाई ज्ञानको आलोकबाट प्रदिप्त गरेको र आफ्नी स्वर्गीय आमाका लागि प्रार्थना गरेको दिन पनि आषाढ पूर्णिमा रहेको बुझिन्छ। कात्तिक महिनाको पूर्णिमाका दिन मगधका राजा अजातशत्रु भगवान बुद्धको शरणमा पुगेका थिए भने मार नामका शत्रुसित उनको सामना माघ महिनाको पूर्णिमाका दिन भएको थियो। राजगिरमा उनको पहिलो प्रवेश पुष महिनाको पूर्णिमाका दिन भएको थियो भने कपिलवस्तुका लागि प्रस्थान गरेको दिन फागुन पूर्णिमाको दिन थियो। यसरी यस पुस्तकले विभिन्न महिनाहरूमा परेका पूर्णिमासित भगवान बुद्धको जीवन सम्बद्ध रहेको जुन वृत्तान्त दिएका छन्, त्यो सबै वर्गका पाठकका लागि एउटा रुचिकर सामाग्री हुने देखिन्छ।
भगवान बुद्धले आफ्नो जीवनमा ८४ हजार धम्मसूत्रहरूको प्रतिपादन गरे, जसमध्ये ८२ हजार धम्मसूत्तको प्रतिपादन स्वयम् उनीबाट भयो भने शेष सूत्रहरूको प्रतिपादन उनका शिष्यहरूले गरेर उनीसामु अनुमोदनका लागि पठाएका रहेछन्। बुद्धले अधिकांश प्रवचन जेतवन बिहारमा गरेका थिए।
६ वर्षको कठोर तपस्याबाट बुद्धत्व प्राप्त गरेपछि सिद्धार्थ गौतम प्रफुल्लित मनले त्यस वृक्षप्रति आफ्नो आभार व्यक्त गर्न अरू एक साता त्यहीँ त्यसै वृक्षमुनि ध्यान मुद्रामा बसे। त्यसपछि दोस्रो साता उक्त बोधि वृक्षलाई एकटकले हेरिरहे, जसमुनि बसेर तपस्यारत् हुँदा उनलाई बोधिज्ञान प्राप्त भएको थियो। बौद्ध साहित्यमा यअनिमेष दृष्टि नेत्र पूजा कहलाउँछ भने उक्त स्थललाई अनिमेष चैत्य भन्ने गरिन्छ। कठोर तपस्या फलिभूत भएकोमा त्यस स्थलप्रति उनको मनमा यति माया जाग्यो कि अर्को साता गौतम बुद्धले बोधिवृक्षको परिक्रमा गर्दै बिताए। उनको यस परिक्रमाले चक्रमानको संज्ञा पाएको छ। चौथो साता उनले त्यहाँबाट वृक्षको उत्तर–पश्चिमको बाटो समाते, जहाँ उनले एउटा रत्नजडित छाप्रो भेट्टाए। त्यहाँ उनले एक साता साधना र तप गर्दै बिताए। यो छाप्रो रत्नघर कहलाउन थाल्यो। पाँचौं साता अजपल नामको बोटमुनि साधनामा बसिरहेका बेला उनीनिर एउटा ब्राह्मण आयो र कुनै तपस्वी सन्न्यासी ठान्दै सोध्न थाल्यो– जोगीजी, ब्राह्मण कसलाई भन्दछन् ?

बुद्धत्व प्राप्त गरेका सिद्धार्थ गौतमले भने– सही ब्राह्मण त्यो हुन्छ, जसले सबै पापबाट मुक्ति पाएको छ, जसले कसैलाई सताउँदैन, अहंकारमुक्त हुन्छ र ज्ञानबाट परिपूर्ण हुन्छ।
छैठौं साता पनि उनी बोधिवृक्षको पूर्वपट्टिको कुनामा रहेको अर्को बोटमुनि साधना गर्न बस्न पुगे। यति गर्दा पनि नथाकेका गौतम बुद्ध बोधिवृक्षको दक्षिणी दिशामा रहेको अर्को बोटमुनि तपस्या गर्न बसे। त्यहाँ बस्दा सात दिनसम्म निरन्तर वर्षा भइरह्यो। बोटमुनि नागराजको बास रहेछ । उसले उनलाई वर्षाको पानीबाट जोगाउन आफ्नो फणा छातासरह फैलाए।
सिद्धार्थ गौतमको जीवन हुन पनि बाल्यावस्थादेखि नै अलौकिक घटनाबाट प्रभावित थियो। जस्तै, एउटा राजमहलमा जन्म लिनुपर्ने बालकले लुम्बिनीको जंगलमा पिपलको वृक्षमुनि बैशाख पूर्णिमाको दिन जन्म लिनु, जन्म लिनेबित्तिकै पाइला सार्न थाल्नु, हरेक पदचिन्हका साथ कमलको फूल फक्रिन थाल्नु, सात पाइला सारेपछि यो भन्नु कि ‘म यस विश्वको अग्रगामी हुँ।’
१ सय १ पाना भएको यस पुस्तकका हरेक पाना भगवान् बुद्धको जीवनका महत्वपूर्ण घटनाहरू र उनका उपदेश साथै भगवान् बुद्धसित सम्बन्धित अनेक ज्ञानमूलक प्रसंगहरुबाट भरिएका छन्। जसले पुस्तकलाई रोचक, पठनीय र संग्रहणीय बनाएको छ। तर लेखकले पुस्तकको पृष्ठ संख्या ८ मा सुजातालाई सननी गाउँको बासिन्दा बताएका छन् भने पृष्ठ संख्यामा २३ मा ऊरुबेल निवासी एक धनी महिला भनी उल्लेख गरेबाट पाठकमा एउटा भ्रम उत्पन्न हुनसक्ने देखिन्छ। त्यसलाई प्रष्ट पार्न सके पाठक वर्गमा भ्रम उत्पन्न हुने सम्भावना रहने छैन।

३५ वर्षको उमेरमा बोधिज्ञान प्राप्त गरेका गौतम बुद्धले ४४ वर्षसम्म मानव जातिको कल्याणको लागि धर्मको प्रचार गरे, हिंसा र कुमार्गगामी अंगुलीमाल र आम्रपाली जस्तालाई सत्‌मार्गमा ल्याए र आफ्नी पत्नीलाई पनि धर्मको दीक्षा दिएर ८० वर्षको उमेरमा कुशीनगरमा महापरिनिर्वाण प्राप्त गरे।
६ अध्याय भएको यस कृतिका प्रारम्भिक ३ अध्यायहरूमा सिद्धार्थ गौतमको जन्म, प्रारम्भिक जीवनका विभिन्न घटना, विवाह, सन्तानोत्पत्ति, २९ वर्षको उमेरमा अभिनिष्क्रमण, सननी भन्ने गाउँमा प्रवेश र कठोर साधना, सुजाताबाट खिर ग्रहण, तपस्यामा बाधा पुर्‍याउने शत्रु मारको सामना, अजातशत्रु उनको शरणमा आउनु, सारनाथमा प्रथम धर्मचक्र प्रवर्तन, त्यहाँबाट राजगिर, नालन्दा, श्रावस्ती आदिको परिभ्रमण र कपिलवस्तुमा प्रवेश जस्ता वृत्तान्तहरू पाइन्छन्।
बाँकी तीन अध्यायमा उनका उपदेश, उनको दर्शन, जीवनलाई प्रभावित गरेका दिन र विभिन्न पूर्णिमाहरूको विस्तृत वृत्तान्त पाइन्छ।
जीवन र मृत्यु तथा दुःख र वेदनाको चक्रमा परेका मानव जीवन कुनै न कुनै अविस्मरणीय घटनाले भरिएको हुन्छ। समान रूपमा भगवान् बुद्धको जीवनमा पनि महत्वपूर्ण घटनाहरू भएका दिनहरूको उल्लेख विद्वान् लेखकले पुस्तकमा गरेका छन्। जस्तै बालक सिद्धार्थको अवतरण भएको दिन शुक्रबार परेको थियो। उनले गृहत्याग गरेको दिन सोमबार परेको थियो। बोधिज्ञान प्राप्त गरेको दिन बुधबार थियो। शनिश्चरवार उनले सारनाथमा धर्मचक्र प्रवर्तन गरेका थिए। उनले महापरिनिर्वाण प्राप्त गरेको दिन मंगलबार थियो। र आइतवार उनको अन्तिम संस्कार गरिएको दिन थियो।
अध्याय ५ मा भने विद्वानु् लेखकले ३३ पानामा भगवान बुद्धका उपदेशका विभिन्न सूत्रहरूको वर्णन गरेका पाइन्छ। जसको अक्षरशः पालना गर्न सक्ने मानिसले समाजमा पूजनीय स्थान पाउन सक्दछ।
पुस्तकको अध्याय ६ मा बौद्ध दर्शनका तीन मुख्य विशिष्टताहरूको उल्लेख पाइन्छ, जुन जीवनको क्षणभंगुरता, जीवनमा दुःख वेदना र व्यथाका कारण तथा निष्प्रभतासित सम्बद्ध छन् । यस प्रकार बुद्धले जन्म र मृत्युको चक्रमा परेको मानव जीवनमा संवेदना र स्वार्थले पार्ने प्रभावको चर्चा विस्तृत रूपमा गरेको पाइन्छ। बौद्ध दर्शनको सम्पूर्ण वृत्तान्त पुस्तकका १८ पानामा भेटिन्छन्।
बौद्ध धर्ममा उपासनाको ठूलो महत्व पाइन्छ। लेखकले यस विषयमा पनि विस्तारले लेख्दै उपासनाका विभिन्न विधाहरूको उल्लेख गरेका छन्, जसबाट सामान्य पाठकहरूलाई उपासनाको महत्व, तरिका र विविधताको सम्बन्धमा विस्तृत जानकारी पाउन सहज हुने लाग्दछ।

लेखकले बुद्धको जीवनलाई दुई प्रकारको भोजनले प्रभावित गरेको उल्लेख गरेका छन्। त्यस मध्ये पहिलो हो– सुजाताद्वारा अर्पण गरिएको खिर, जुन ग्रहण गरेर उनलाई बोधिज्ञान प्राप्त भयो। दोस्रो हो– च्याउको आहार, जुन चुण्ड सुनारले उनलाई भिक्षामा दिएका थिए, जुन भोजन खाएर उनले महापरिनिर्वाण प्राप्त गरे। केही विद्वान् लेखकले उनले भिक्षामा सुँगुरको मासु पाएका थिए, जुन खाएर उनले महापरिनिर्वाण प्राप्त गरे भनी बताएका छन्।
यस्तो महत्वपूर्ण पुस्तक युवा पाठकहरूले पढ्न र बुझ्‌न पाउने गरी लेखकले अंग्रेजी संस्करण उपलब्ध गराएर भावी सन्ततिको चरित्र निर्माणमा सघाउ पुर्‍याउने र वर्तमान युगमा समेत बुद्धोपदेश प्रासंगिक रहेको कुरा छर्लंग पारेका छन्। युद्ध, हिंसा, असहनशीलता साथै राग, द्वेष र ईष्याबाट जर्जर भइरहेको वर्तमान विश्वमा बुद्ध सन्देश अझै आवश्यक र सान्दर्भिक रहेको छ।
भवतु सब्ब मंगलम्।

यसमा तपाइको मत