एउटा आह्वानलाई सङ्गालेर आइरहेको प्रिय मान्छे

- पुरुषोत्तम भट्ट


कतिन्जेल चम्केला त्यो कोट
हजारौँ नाङ्गाहरू माझ,
हजारौँ भोकाहरू माझ
म सोचिरहेको छु, गम्भीर भएर

सदा राज गरिरहेछ
एउटा कोट,
सदा चमकमा छ
एउटा कोट,
जो मागिरहन्छ
तपाईंहरूको बस्ती पसेर भोट

कतिन्जेल चम्केला त्यो महल
हजारौँ झुपडीहरूको माझ,
एउटा बेग्लै अस्तित्व दाबी गरेर

जो चाहँदैन
सबैको घरमा उज्यालो,
जो चाहँदैन
सबैको घरमा दीपावली
पुँजीवादको बेग्लै गीतमा
भइरहेको छ नृत्य यहाँ,
चम्किला कोटहरू
गरिबहरूका घरbastतिरै जाइलागेका
भद्दा दृश्य छन् यहाँ
यी तमाम दुर्दशा मेट्न
एउटा क्रान्तिको झिल्को जन्मिँदै छ रे,
अब भन्नुस, त्यो को हो त्यो ?
जो भेटिन्छ गरिबका बस्तीतिर ?

बर्सौँदेखि एउटा धुर्बे हात्ती
गरिबहरूको झुपडी भत्काउनमै खुसी छ,
रमाइरहेछ, उत्साहित भइरहेछ
उही धुर्बेको सुँडभित्र पस्न
एउटा क्रान्तिको कमिलो जन्मिँदै छ रे,
अब भन्नुस, त्यो हो को त्यो ?
जो हाम्रो बस्तीमा ल्याउन चाहन्छ दीपावली

आफूसँग दामको धाकमा
दाबी गर्दैछन् कोही यहाँ,
पुँजीवादले धनीहरू लागि स्वर्ग बनाउँछ
धनीको व्यवस्था हो यो
यही कुरा नपत्याएर
यो अन्धकारमा दीप बालेर
जो हाम्रो बस्तीमा छिर्दैछ रे
को हो त्यो
जो हामी जस्तै लाग्दैछ

अरबपति मान्छेको विचार पनि
हजार नोटमै निहित हुन्छ,
मान्छेको कदापि मूल्य हुन सक्दैन
मान्छेलाई किनेर
विचारको क्रयशक्ति बढाउन सकिदैन
यो त्रिशूली खोलानेर उभिएको झुपडीबाट
फेरि एउटा योद्धा जन्मिँदै छ रे
अब भन्नुस, त्यो हो को त्यो
जो हाम्रो आँगनमा आउँदैछ
हाम्रो घरमा आउँदैछ

नक्कली श्रीपेच महलमा राखेर
विचार बोकेर मैदानमा आऊ तिमी पनि,
आह्वान गर्दैछ
एउटा गरिबको बच्चा पनि
“मेरो उज्यालो नखोस” भनेर

अब भन्नुस, को हो त्यो
जो मानिसको दुःख मेट्ने
सानदार घोषणा गरिरहेछ

उत्तरगया–५, माझगाउँ, रसुवा

यसमा तपाइको मत