
काठमाडौं उपत्यकाको उत्तरी क्षेत्रमा अवस्थित टोखा नगरपालिकामा सामाजिक अभियन्ताका रूपमा चिनिने मनिराज डंगोलले आफ्नो जीवन कर्मवाद र समाजसेवामा लगाउदै आएका छन् । टोखा नगरपालिकाको नामाकरण प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका डंगोल स्थानीय पहिचान र संस्कृति संरक्षणको क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा स्थापित पनि छन् ।
डंगोल बुद्ध दर्शनको कर्मवादलाई आफ्नो जीवनको मूल आधार मान्छन्। उनी मान्छन् कि मानिसको जीवनमा कर्मको नै सबैभन्दा ठूलो शक्ति हुन्छ । राम्रो कर्म गर्नेहरूलाई सफलता र समृद्धि (जसलाई उनी लक्ष्मीको कृपा भनेर व्याख्या गर्छन) स्वतः प्राप्त हुन्छ । यही सोचका कारण उनी कर्मवादी दर्शनको प्रवर्द्धनमा निरन्तर लागिरहेका छन्।
टोखामा निर्माण गरिएको ‘सम्पदा पार्क’ उनको पहल र नेतृत्वमा बनेको महत्वपूर्ण संरचना हो। यस पार्कभित्र दक्ष प्रजापतिको सालिक स्थापना गरिएको छ । उनी दक्ष प्रजापतिको जीवनलाई उदाहरणको रूपमा लिन आह्वान गर्छन् । यो पार्क अहिले स्थानीय बासिन्दा तथा आगन्तुकहरूका लागि आकर्षणको केन्द्र बनेको छ।
व्यक्तिगत रूपमा अत्यन्त शालीन र सरल स्वभावका डंगोल समाजसेवामा निरन्तर सक्रिय छन्। शिक्षा, संस्कृति र सामाजिक सद्भावका क्षेत्रमा उनले पुर्याएको योगदान स्थानीयस्तरमै मात्र नभई समग्र समाजका लागि प्रेरणादायी छ।

स्थानीयवासीका अनुसार, मनिराज डंगोल जस्ता व्यक्तित्वहरूले समाजमा सकारात्मक परिवर्तन ल्याएका छन् ।




