नेपाली कम्युनिस्ट आन्दोलन र अबको बाटो – माननीय मातृका भट्टराई


वि.सं. २०८२ फागुन २१ गते सम्पन्न निर्वाचनको परिणामलाई आधार मानेर हेर्दा नेपाली कम्युनिस्ट आन्दोलन, विशेष गरी नेपाली कम्युनिस्ट पार्टी अर्थात् (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ) को चुनावी उपस्थिति निराशाजनक देखिन्छ । प्रतिक्रियावादी र दक्षिणपन्थी शक्तिहरूले यसै परिणामलाई अन्तिम सत्य मानेर ‘कम्युनिस्ट विचार र माओवादी आन्दोलनको सान्दर्भिकता सकिएको’ भाष्य निर्माण गर्न खोजिरहेका छन् । तर, के एउटा निर्वाचनको अङ्कगणित नै इतिहासको अन्तिम सत्य हो त ? के विचारको मृत्यु मतपेटिकाको अङ्कभित्रै हुन्छ ? कतै वास्तविक सत्य अर्कै त छैन ? आज हरेक इमानदार कम्युनिस्ट विचारका अनुयायीहरूले यस विषयमा निर्मम र यथार्थपरक समीक्षा खोजेका छन् ।

​वास्तविकता के हो भने, चुनावी अङ्कगणित प्राविधिक कुरा हो, तर वैचारिक र राजनीतिक एजेन्डाको जीत ऐतिहासिक कुरा हो । आज देश जुन एजेन्डामा हिँडिरहेको छ र युवा पुस्ताले जुन परिवर्तनको माग गरिरहेको छ, ती सबै एजेन्डाहरूको वास्तविक जन्मदाता माओवादी आन्दोलन नै हो ।
आउनुस केही छलफल गरौं ।

​१. ​आज सडक र सामाजिक सञ्जालमा नयाँ पुस्ता अर्थात् ‘जेन जी’ ले देशको राजनीतिक अस्थिरता, कुशासन र महँगो चुनाव प्रणाली विरुद्ध जेहाद छेडिरहेको छ । रोचक र गौरवपूर्ण कुरा के छ भने, यो पुस्ताले उठाएका अधिकांश एजेन्डाहरू तत्कालीन माओवादीले दशकौँ अगाडि जनयुद्ध र संविधान निर्माणका क्रममा उठाएका एजेन्डासँग शतप्रतिशत मेल खान्छन् ।

अस्थिर सरकारको विकल्पमा देशमा स्थिरता र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री हुनुपर्ने माग आजका युवाहरूको हो । २०७२ सालको संविधान निर्माण हुँदै गर्दा माओवादीले यसैलाई आफ्नो मुख्य ‘नोट अफ डिसेन्ट’ बनाएको थियो ।

नेपालको विद्यमान निर्वाचन प्रणाली यति महँगो र खर्चिलो भयो कि अब सामान्य वर्गका उत्पीडित, मजदुर, किसान वा क्षमतावान् युवाले चुनाव लड्ने कल्पना समेत गर्न सक्दैनन् । यसको विरुद्ध पूर्ण समानुपातिक निर्वाचन प्रणालीको वकालत माओवादीले सुरुदेखि नै गर्दै आएको हो ।

सांसद बन्नकै लागि मरिहत्ते गर्ने र मन्त्री बन्नका लागि सांसद हुनैपर्ने बाध्यताका कारण नीति निर्माण फितलो भएको छ । संसद् बाहिरबाट विषयगत विज्ञहरूलाई मन्त्री बनाउने र सांसदहरूलाई विशुद्ध ऐन-कानुन निर्माणमा मात्र केन्द्रित गर्ने जुन अवधारणा आज जेनजीले उठाइरहेको छ, त्यो माओवादीको पुरानो एजेन्डा हो ।

​यदि २०७२ सालमा संविधान बन्दै गर्दा तत्कालीन ठूला दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) ले माओवादीका यी अग्रगामी एजेन्डाहरूलाई स्वीकार गरेको भए, सम्भवतः देशले पछिल्लो १० वर्षमा यति ठूलो राजनीतिक अस्थिरता र जनधनको क्षति बेहोर्नुपर्ने थिएन । हामी विकास र समृद्धिको दौडमा १०–२० वर्ष अगाडि पुगिसकेका हुने थियौँ । तर, संसद्को अङ्कगणित कमजोर भएकै कारण माओवादीले आफ्ना यी एजेन्डा स्थापित गर्न सकेन, जसको मूल्य आज सिङ्गो देशले चुकाउँदै छ ।

​२. ​नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनको जगमा उठाएका मुद्दाहरू आज सिङ्गो नेपाली जनताका साझा एजेन्डा बनेका छन् । किसानहरूको ऋण मिनाहा, लोडसेडिङको ऐतिहासिक अन्त्य, इतिहासमै पहिलोपटक उच्च तहका भ्रष्टाचारीहरूलाई कानुनको कठघरामा उभ्याउने आँट र सुशासनका क्षेत्रमा भएका ऐतिहासिक कामहरू यही नेतृत्वको पालामा सम्भव भएका हुन् ।

​तर, यति धेरै काम र स्पष्ट विचार हुँदाहुँदै पनि पार्टी किन रक्षात्मक अवस्थामा पुग्यो ? यसको थोक उत्तर प्रतिक्रियावादीहरूको घेराबन्दी मात्र होइन, बरु विचारलाई लागू गर्ने सवालमा हाम्रै तहबाट भएका केही गम्भीर त्रुटिहरू हुन् । माओको भनाइ अनुसार “फलाम तातेकै बेला घन प्रहार गर्नुपर्ने” अर्थात् आन्दोलनको उत्कर्षका बेला पुरानो सत्ता परिवर्तन गर्नुपर्नेमा, राजनीतिक अनुभवको कमीले गर्दा हामी चुक्न पुग्यौं।

​माओवादीले २१ औँ शताब्दीको जनवादको व्याख्या गर्दा एउटा सुन्दर अवधारणा अघि सारेको थियो – “मूल वैचारिक नेतृत्व सरकारमा नजाने, बरु बाहिर बसेर वैचारिक र राजनीतिक रूपमा राज्यको ‘ह्यान्डलिङ’ गर्ने ।” सम्भवतः पार्टी सोही बाटोमा हिँडिदिएको भए नेतृत्वप्रतिको जनभरोसा कहिल्यै टुट्ने थिएन । तर, पार्टी सत्ताको जोडघटाउ र संसदीय अभ्यासको चक्रव्यूहमा यसरी फस्यो कि जनतामा ‘यो पार्टी पनि अरू जस्तै हो’ भन्ने निराशा व्याप्त भयो ।

​३. ​केबल राजनीतिक एजेन्डा मात्रै अबको समस्या समाधानको अचुक ओखती हुन सक्दैन । युवा पुस्ताको निराशालाई आशामा बदल्न अब पार्टीले आर्थिक समृद्धिको ठोस र व्यावहारिक खाका प्रस्तुत गर्नैपर्छ ।

​पार्टीले आफ्नो आठौँ महाधिवेशनमा अघि सारेको ‘उत्पादन ब्रिगेड’ को अवधारणा र नवौँ महाधिवेशनको ‘समाजवाद उन्मुख अर्थतन्त्र’ को कार्यदिशालाई अब केवल दस्तावेजमा मात्र सीमित राख्नु हुँदैन । यसको स्पष्ट व्याख्या, विश्लेषण र प्रयोगको खाका नेपाली जनताका सामु राख्न सक्नुपर्छ ।

१.  दलाल पूँजीवादको चङ्गुलबाट अर्थतन्त्रलाई मुक्त गर्दै सामूहिक उत्पादन, कृषि क्रान्ति र सूचना प्रविधिको अधिकतम प्रयोग गरी युवाहरूलाई स्वदेशमै रोजगारी दिने राष्ट्रिय अर्थनीति विकास गर्नुपर्छ।

२.  स्थानीय तहदेखि नै उत्पादनका साधनमाथि जनसमुदायको स्वामित्व स्थापित गर्दै आत्मनिर्भर अर्थतन्त्र अर्थात् समाजवादी अर्थतन्त्रको जग बसाल्नुपर्छ ।

​४. ​अब पार्टीले नेतृत्वको सवालमा एउटा साहसिक र ठोस निर्णय लिनैपर्छ । पार्टीलाई जीवन्त राख्ने र जनविश्वास पुनः आर्जन गर्ने एक मात्र उपाय अब ‘नेतृत्वको पुनर्संरचना’ हो ।

क. हाल केन्द्रीय नेतृत्वमा रहेका, पटक-पटक मन्त्री र सांसद भइसकेका स्थापित र अनुभवी नेताहरू अब सत्ताको दौडबाट बाहिर निस्कनुपर्छ । उहाँहरू वैचारिक प्राधिकार सहित पार्टीको एउटा बलियो ‘थिंक ट्याङ्क’ मा बस्नुपर्छ, जसले पार्टीको नीति, सिद्धान्त र रणनीतिक मार्गनिर्देशन गरोस् ।

ख. पार्टीको बलियो कमान्ड र निर्देशनमा रहेर सत्ता सञ्चालन गर्ने, संसद् र सरकारको मोर्चा सम्हाल्ने जिम्मेवारी अब नयाँ, ऊर्जावान र बौद्धिक युवा पुस्तालाई दिनुपर्छ । जबसम्म पुराना नेताहरूले स्वेच्छाले युवाहरूका लागि ठाउँ खाली गर्दैनन्, तबसम्म पार्टी र देश दुवै बन्न सक्दैन ।

चुनावी जित / हार अन्तिम सत्य होइन :

​२०८२ फागुन २१ को चुनावी समीक्षा गरिरहँदा हामीले यो बुझ्न जरुरी छ कि निराशालाई हेर्ने यो प्राविधिक आधार अन्तिम सत्य होइन । वास्तविक सत्य त यो हो कि माओवादीका विचारहरू पराजित भएका छैनन्, बरु ती विचार बोक्ने सङ्गठनात्मक संरचना र कार्यशैली कमजोर भएका हुन् ।

​आज माओवादी पार्टी संकुचित घेराबाट माथि उठेर सही अर्थमा “नेपाली कम्युनिस्ट पार्टी” बन्ने ऐतिहासिक मोडमा आइपुगेको छ । वैचारिक रूपमा थिंक ट्याङ्कको बलियो निर्देशन, व्यावहारिक रूपमा उत्पादन र आर्थिक समृद्धिको खाका, र नेतृत्वमा युवा पुस्ताको उदय– यही नै अबको निर्विकल्प र सुनौलो बाटो हो । यदि यो रूपान्तरणलाई हामीले आत्मसात् गर्न सक्यौँ भने, नेपाली कम्युनिस्ट आन्दोलन फेरि एकपटक देशको निर्विकल्प र सर्वाधिक लोकप्रिय शक्तिका रूपमा पुनर्जीवित हुनेछ ।

यसमा तपाइको मत