अरनिको जीवनी बारे पुस्तक समिक्षा

- प्रकाशप्रसाद उपाध्याय


अङ्ग्रेजी, नेपाली र नेवाः भाषामा कलम चलाएर विभिन्न विधामा लेख एवम् पुस्तकहरू लेख्दै आएका सिद्धिबहादुर रञ्जितकारको दशौं कृति “अरनिको” समीक्षार्थ  हात पर्दा अत्यन्त खुशी लाग्यो। किनभने यो पंक्तिकार पनि अरनिकोको नामबाट प्रभावित मध्येमै पर्दछ । नेपाली लेखन कलाको भण्डारलाई समृद्ध तुल्याउँदै सेवानिवृत्त जीवनलाई सार्थक बनाइरहेका इञ्जिनीयर सिद्धिबहादुर रञ्जितकारको नेपाली भाषामा लेखिएको पुस्तकले मूर्तिकला, वास्तुकला तथा चित्रकलामा एकसमान दक्षता राखेका शाक्यवंशीय नेपाल आमाका एक यशस्वी पुत्र अरनिकोको प्रतिभाशाली एवम् यशस्वी जीवनको झलक दिनमा पूर्ण सफलता पाएको अनुभव हुन्छ।

१३ औं शताब्दीको उत्तराद्र्धमा १८ वर्षको उमेरमा चीन पुगेका अरनिकोले वास्तुकलाको आफ्नो शीप र ज्ञानलाई जसरी त्यस देशमा स्थापित गर्ने र लोकप्रिय बनाउने काम गरे, त्यसले नेपाली वास्तुकला, मूर्तिकला र चित्रकलालाई नेपाल मण्डल बाहिर विश्वमा परिचित मात्र गराएन, चीनियाँ सभ्यता र वास्तु शिल्पको अङ्ग समेत बनाउँदै नेपाल र चीन सम्बन्धलाई अमरत्व पनि प्रदान गर्यो। चीनियाँ परम्परागत भवनका तस्बीरहरूबाट झल्किने नेपाली वास्तु शिल्पकै प्रभावका कारण अरनिको स्मृतिपटलमा आइहाल्दछन् ।

‘अरनिको’ शीर्षक भएको पुस्तककासाथै नेपाली र अङ्ग्रेजी भाषाका अन्य ४ पुस्तकको पनि एकसाथ लोकार्पण हुनुले एकातिर सिद्धिबहादुर रञ्जितकारको लेखन क्षमताको राम्रै जानकारी हुन आउँदछ भने अर्कोतिर ८४ वर्षको उमेरमा पनि लेखकमा लेखनप्रति विद्यमान जाँगर तथा उत्साह कायम राख्दै समयको सदुपयोग गर्ने क्षमताको पनि ज्ञान हुन्छ। यसअघि लेखकका अङ्ग्रेजीमा र ब. सं. २०२२ मा लोकार्पण भएको ४ सय ६१ पानाको पुस्तक Kumari : Multifaceted Living Goddess को लोकर्पणको अवसरमा उपस्थित हुँदा नै एउटा कम्युनिष्ट देशबाट इञ्जिनीयरिङ्ग विधामा दक्षता हासिल गरेर आएका वैज्ञानिक सोच भएका व्यक्तिमा आफ्नो धर्म र संस्कृतिप्रतिको लगावमा कुनै कमी नभएको अनुभव भएको थियो। यसैक्रममा अरनिकोको सम्बन्धमा लेखकको मनमा जहाँ आफ्नो देशको कलाकारको विद्वताप्रति गर्वको भाव झल्किन्छ, त्यहीँ विदेशी भूमिमा आफ्नो देशका नाम चम्काउने अरनिकोको भूमिकाप्रति सम्मान पनि प्रकट गर्नुभएको छ।

अरनिको वर्तमान सम्बत् अनुसार १२०८ मा चीन जाँदा त्यहाँ सम्राट कुबलाई खानको शासन थियो । कुबलाई खानले तात्कालिन नेपाल मण्डलको उत्कृष्ट वास्तुकला, मूर्तिकला र चित्रकलाको ख्याति तिब्बतसम्म पुगेको थाहा पाएपछि नेपालका शासकलाई १ सय जना वास्तुकला, मूर्तिकला र चित्रकला आदिका विज्ञहरू पठाउन आग्रह गर्दै एउटा धार्मिक, सामाजिक र संस्कृतिले सम्पन्न टोली नेपाल पठाए। चीनियाँ सम्राटको आग्रहअनुसार १८ वर्षीय अरनिको आफ्ना अन्य ८० जना सहकर्मीहरू सहित घरमा आमाबाबु, पत्नी, छोराछोरी आदिलाई छाडेर पहाडि उकालो–ओरालो बाटो हिँडेर तिब्बतको राजधानीसम्मको लामो पदयात्रा गर्दै ल्हासा र त्यसपछि चीन पुगे।

लेखकका अनुसार अरनिको र उसका सहयोगी वास्तुकलाविद्हरूले चीनको राजधानीमा टेक्नुअघि २ वर्ष ल्हासामा बिताए र त्यहाँ उनीहरूले गुम्बा, मूर्ति, चित्र आदिको अतिरिक्त स्वर्णचैत्य विहारको निर्माण गरेर ख्याति प्राप्त गरे। यसपछि चीन पुगेको अरनिकोको टोलीले ८ वर्षको निरन्तर श्रमबाट ५०.९ मिटर (१७६ फीट) अग्लो महाचैत्यको निर्माण कार्य सु–सम्पन्न गर्यो।। चैत्यको निर्माण सम्पन्न भएपछि सेतो चुनले पोतिएको हुँदा श्वेत चैत्यको नामबाट प्रख्यात भयो।

लामो बसाई कालमा चीनियाँ भाषामा पनि दक्षता हासिल गरेका अरनिकोले महाचैत्यको निर्माण सम्पन्न भएपछि “महाचैत्य नेपाली मौलिक वास्तुकला शैलीमा निर्माण भएको” कुरा चीनियाँ भाषामा जनसमुदायलाई बताए। उनको यस वक्तव्यले चिनियाँ जनतामा पनि नेपाली वास्तुकलाको सुन्दरताको छाप पर्न गयो। लेखकका अनुसार अरनिकोले ल्हासामा सुवर्ण विहारको निर्माणपछि अति ठूलो श्वेत चैत्यको निर्माण गरेका थिए। चीनको राजधानीमा रहेको महाचैत्य चीनियाँहरूका लागि मात्रै नभई विश्वका लागि नै अद्भूत गौरवपूर्ण स्मारकका रूपमा खडा भयो । त्यस चैत्यले चीनियाँहरूको हृदय जित्न सफल भए । त्यति ठूलो स्मारकको निर्माण चीनियाँहरूले पहिले देखेका थिएनन्।

श्वेत चैत्यको निर्माण सम्पन्न भएपछि यसको अवलोकन गर्न पुगेका सम्राट कुबलई खानका साथै राजघरानाका अन्य सदस्यहरूमा समेत ‘अवश्य पनि अरनिकोमा दैवी शक्ति र ज्ञान लुकेको छ, अन्यथा यस्तो अति अग्लो चैत्य त्यति सहजताका साथ निर्माण सम्पन्न गर्ने अवस्था हुँदैन’ भन्ने विचार उत्पन्न भयो भन्दै लेखक लेख्दछन्– ‘श्वेत चैत्य निर्माणपछि बौद्ध धर्मावलम्बीहरूका लागि त्यस स्थान तीर्थस्थल बन्न थाल्दा बौद्ध धर्म मान्नेहरूको संख्या बढ्न थाल्यो।

सर्वसाधारण जनताका लागि श्वेत चैत्य खुला गर्नुपूर्व बुद्धपूजा भव्य रूपमा आयोजना गर्ने सम्राट कुबलई खानको राजपरिषदले ग¥यो । श्वेत चैत्य देख्ने चीनियाँ जनताले पनि ‘भन्न शुरु गरे कि चीनमा आएर यस्तो श्वेत चैत्य निर्माण गर्न सक्ने व्यक्तिमा अवश्य पनि दैवी शक्ति हुनु पर्दछ।’ यस निर्माणद्वारा नेपाली कलाविद्हरूले नेपाली वास्तुकलाको मात्र नभई बौद्धधर्मको प्रचार–प्रसारमा समेत निकै ठूलो योगदान पुर्याए। अरनिको र उनका सहयोगीहरूले नेपाली वास्तुकला बमोजिम राजप्रासाद पनि निर्माण गरे। जसमा सम्राटको इच्छा बमोजिम चीनियाँ वास्तुकलाको पनि सम्मिश्रण गरियो।

यसरी काम गर्दै समय बितिरहेको थियो। अरनिकोलाई आफ्नी नेपालमा भएकी पत्नीको सम्झनाले सताउँदा उनी बेला–बेलामा झोँक्रिएको अवस्थामा हुन्थे। सम्राटले यसको कारण पत्ता लाउन जासूसहरू खटाए। त्यसै क्रममा अद्भूत कलाविद्वताबाट प्रभावित सम्राटले अरनिको र उनका टोलीसहितका कलाकारहरू स्वदेश नफर्कुन् भन्ने चाहनाले तानाबाना बुन्न थाले। राज्यस्तरबाटै चीनियाँ नवयुवतीहरूप्रति आकर्षित गराउने योजना बनाउन थालियो। लेखक लेख्दछन् –‘असीजना नेपाली कलाकारहरूको नेतृत्व गर्ने कलाकार अगुवा अरनिको सम्राट कुबलाई खानको रणनीतिक जालबाट उम्कन सकेनन्। नेपाली कलाका यी अगुवाहरूले एकपछि अर्को गरेर अति सुन्दरी चीनियाँ युवतीहरूसँग वैवाहिक सम्बन्ध राख्न थाले। चीनियाँ राजघरानाका उच्चपदका व्यक्तिहरूका अतिसम्पन्न परिवारकै युवतीसँग नेपाली कलाकारहरूको वैवाहिक सम्बन्ध भएकाले ती परिवारहरूको रहन–सहन पनि तिनकै स्तरमा हुने गरी राज्यले नै भवन एवम् अन्य सुविधाहरू उपलब्ध गराइदिए। राज्यतर्फबाट नै चीनियाँ राजघरानाका उच्चपदस्थ व्यक्तिहरूले गर्ने किसिमले विवाह सम्पन्न गराएर राजकीय सम्मानका साथ नेपाली कलाकारहरूको वैवाहिक जीवन सुखमय गर्न हरसम्भव प्रयास गरियो।’

यसले गर्दा नेपाली कलाकारहरूको नेपालसँगको सम्बन्ध बिस्तारै विच्छेद भयो भने चीनियाँसँग गठबन्धन भएर पारिवारिक सम्बन्ध विस्तारका साथै उनीहरु चीनियाँ जनजीवनमा रमाउन थाले। त्यसरी अरनिकोका १० पत्नी भइसकेका थिए। तर पनि अरनिकोलाई आफ्नी प्रथम पत्नीको सम्झनाले सताई राख्दथ्यो। बेलाबेलामा हुने बेचैनी र पीडाबोधले सताउँदथ्यो। सम्राटले उनको बेचैनीको खबर पाएपछि त्यसको कारण पत्ता लगाउने आदेश दिए। तद्परान्त चीनियाँ सम्राटले आफ्ना दूतमार्फत् नेपालका राजालाई एक पत्र पठाए। त्यतिबेला नेपालमा अनन्त मल्लको शासन थियो। चीनियाँ सम्राटको पत्र पाएर अनन्त मल्ल एकातिर चीनमा अरनिकोले आफ्नो राम्रा कामबाट नाम कमाएका र चीनियाँ राज्यपरिषदका उच्च पदाधिकारी पनि नियुक्त भएको खबरबाट खुशी भए भने अर्कोतिर यो पनि थाहा हुँदा दुःखी भए कि नेपालका यी यशस्वी पुत्र अब चीनबाट नेपाल फर्कन सक्ने भएन्। तर उनी चीनियाँ सम्राटको भावनामा चोट पनि पु¥याउन चाहदैनथे । यसो हुँदा अरनिकोकी पत्नी चैत्यलक्ष्मीलाई चीन जानको निम्ति तयारी गर्न आदेश दिए। लेखक लेख्दछन्– ‘अरनिकोका आफ्नो परिवारको तर्फबाट मात्र नभई नेपाल राज्यको तर्फबाट पनि शाक्य कुलबधूलाई विदाई गर्नका लागि भव्य तयारी गरियो।’ एक शुभ–साइतमा चीनियाँ डोलीमा चढेर उनी चीनका लागि प्रस्थान हुँदा लेखकअनुसार ‘हर्ष र विस्मातका साथ नेपाली चेलीलाई विदाईका लागि जनमानसका साथै परिवारहरू पनि भेला भए।’

महिनौंको यात्रापछि नेपाली चेली बोक्दै चिनियाँ टोली चीन पुग्यो। पत्नीलाई भेट्न पाउँदा अरनिकोको खुसीको सीमा रहेन भने चैत्यलक्ष्मीको आँखाबाट हर्षका बगिरहेका आँसु रोकिन तयार थिएन। केही दिनको विश्रामपछि अरनिकोले, चीनमा बहुविवाह प्रथा रहेको हुँदा उनले १० वटा बिहे गरे पनि आफ्नी प्रथम पत्नीको माया बिर्सन नसकेको र अब सबैले मिलेर बस्नुपर्ने बताउँदा चैत्यलक्ष्मीले पनि कुनै विरोध जनाइनन्। यसरी अरनिकोको जीवन ११ जना पत्नी, तिनीहरूबाट उत्पन्न छोरा, तिनीहरूका पत्नी  र नातिनातिनाका बीच रमाइलो गरी बित्न थाल्यो।

बढ्दो उमेर र यतिका वर्षदेखिको निरन्तर निर्माण कार्यमा लाग्दा लखतरान भएका ६२ वर्षीय शरीर एकदिन अशक्त हुन पुग्यो। सामान्य आष्ौधिमूलोबाट फाइदा नभएपछि सम्राटले राजवैद्यलाई उपचारार्थ बोलाए। राजवैद्यको उपचार पनि प्रभावहीन हुन थाल्यो र वर्तमान सम्बतअनुसार १३०६ को एकदिन अरनिकोको जीवनलीला चीनियाँ भूमिमा समाप्त भयो  लेखक लेख्दछन् –‘राज्यपरिषदले तीन दिनको शोक मनाउने घोषणा गर्दै शाक्य कुलको परम्पराअनुसार राजकीय सम्मानका साथ अन्तिम संस्कार गर्न लगाउने आदेश जारी गर्यो।’

५२ पाना र १२ वटा उपशीर्षक दिँदै अनि २ पाना सन्दर्भ ग्रन्थहरूको उल्लेख तथा इन्डेक्स राख्दै तयार पारिएको पुस्तक पढ्न लायक छ। पुस्तक पढ्ने क्रममा पाना पल्टाउँदै जाँदा अरनिको र उनको जीवनको सम्बन्धमा थप जानकारी पाउने उत्सुकता बढ्दै जान्छ। र नसिध्याई बस्न मनै लाग्दैन। लेखनमा रोचकता छ, तर जातिय र क्षेत्रीय भाषाको प्रभावको उपस्थितिका अतिरिक्त शुद्धाशुद्धिको पनि अभाव भेटिन्छ। तर पनि पुस्तक जानकारीमूलक र सन्देशमूलक छ। यसले युवा पुस्तालाई विशेष गरेर के पनि सन्देश दिन्छ भने विधा कुनै पनि होस्, उत्कृष्टता प्राप्त गर्नु महत्वपूर्ण हुन्छ र त्यस उत्कृष्टताले मात्रै जीवनलाई महत्वपूर्ण बनाउँदछ साथै सार्थक रूप दिन सक्दछ।

उक्त किताव “पाटन किताव पसल” पाटन गेटमा उपलब्ध छ।

यसमा तपाइको मत