साहित्यकार लव जोशीको ‘जुलुस’ कविता कृतिको विमर्श तथा ‘देश परदेश’ नाटक मञ्चन सम्पन्न


असार ३२ गते सुख शान्ति मिडियाको सभाहलमा साहित्यकार लव जोशीद्वारा रचित कविता कृति ‘जुलुस’ माथि विमर्श तथा सोही सङ्ग्रहभित्र समाहित ‘देश परदेश’ नामक शीत नाटकको मञ्चन कार्यक्रम सम्पन्न भएको छ। आधुनिक साहित्य परिषदका अध्यक्ष मुरलीप्रसाद ढकालको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा साहित्यिक क्षेत्रका नयाँ पुराना व्यक्तित्वहरूको समुपस्थिति रहेको थियो।

​कार्यक्रममा ‘आगो काव्य’ विधाका परिकल्पनाकार दीर्घबहादुर चन्द प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। यसैगरी, ‘सुसेली’ काव्यविधाका परिकल्पनाकार दुर्गा अधिकारी ‘भमरकोटे’, वरिष्ठ साहित्यकारद्वय छवि वैरागी घिमिरे र चन्द्रा न्यौपाने, तथा समीक्षक एवं गोंगबु साहित्य समाजकी अध्यक्ष द्वारिका कुइकेलको विशेष आतिथ्यता रहेको थियो। शीत काव्य समाज नेपालका केन्द्रीय अध्यक्ष एवं प्रथम शीत ईश्वर कृष्णबहादुर के.सी.ले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको समुद्घाटनपश्चात् औपचारिक रूपमा नाटक मञ्चन र कृति विमर्श प्रारम्भ गरिएको थियो।

​समारोहमा कृतिभित्र समेटिएको शीत नाटक ‘देश परदेश’ को सफलतापूर्वक मञ्चन गरिएको थियो। उक्त नाटकमा कलाकारद्वय रामकृष्ण रिजाल र सरोज धमलाले अभिनय गर्नुभएको थियो। यसैगरी, समीक्षक द्वारिका कुइकेलले कविता सङ्ग्रह ‘जुलुस’ माथि गीति शैलीमा कलात्मक समीक्षा प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रममा उपस्थित स्रष्टाहरूले सङ्ग्रहभित्रका विभिन्न कविताहरू वाचन गर्नुभएको थियो।

​मन्तव्यका क्रममा प्रमुख अतिथि दीर्घबहादुर चन्दले ‘जुलुस’ कृति विद्रोहभित्र पनि सुशासन र नैतिकता सिकाउने एक उत्कृष्ट सिर्जना भएको विचार व्यक्त गर्नुभयो। आफ्ना विचार राख्दै कृतिकार लव जोशीले यस कार्यक्रमले आफूलाई भावुक बनाउनुका साथै साहित्य सिर्जनामा अझ बढी जिम्मेवारी बोध गराएको धारणा राख्नुभयो।

​उक्त कार्यक्रममा सुशीला अधिकारी, सरोज जोशी, सरस्वती अर्याल, महेन्द्र थापा मगर, रोजकुमारी थापा, सीता सुवेदी, कमला भण्डारी, वासुदेव ठकुरी, राजेन्द्र गिरी ‘गुन्द्रुके जादुगर’, सत्यनारायण ढकाल, रेखा महर्जन, किरण बस्नेत, ज्ञानेन्द्रकुमारी भण्डारी, गीता अर्याल, कमलादेवी सिम्खडा, पार्वती घिमिरे पौडेल, नवीन घिमिरे र सुनिता बुढाथोकी लगायतका स्रष्टाहरूले आ-आफ्ना रचना तथा सङ्ग्रहका कविताहरू वाचन गर्नुभएको थियो।
डा. ध्रुव गजुरेलले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमलाई सभापति मुरलीप्रसाद ढकालले उपस्थित सम्पूर्ण महानुभावहरूप्रति हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दै समापन गर्नुभएको थियो।

यसमा तपाइको मत