
कयौ रात हाम्रा छुटे एक्लिएर
बसेको छ आशा बिहानी कुरेर
बिलौना सुनाई कहाँ काव्य बन्छ
नलेखौँ भनेनी मनै छट्पटिन्छ
बसेको छ टाढा उही जून एक्लो
अँध्यारो हियोमा छ माया बचेको
सुनाएर पीडा कहाँ दु:ख घट्छ
नदुख्नेहरूले कहाँ घाउ बुझ्छ
बगेको छ खोला सुसाएर एक्लै
सहारा बिनाको भरोसा छ आफ्नै
उडेका हजारौँ चरी फर्कि आऊ
सँगै रात काटौँ लुटुक्कै निदाऊँ
परेली बहन्छन् सधैँ पीर बोकी
कहाँ आँसु खस्छन् मनैमा नघोची
न भोको हुँदाको अवस्था बुझिन्छ
म के पो गरौँ खै न न्यास्रो सकिन्छ
फलेको छ हाँगो उहीँ चोट बोक्छ
यही जिन्दगी हो स्विकारेर झर्छ
छ आमाहरूको उहीँ एक चिन्ता
उडेको चरी खै कहाँसम्म पुग्छ



