
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी कार्यकाल (२०२६–२०२८) का लागि जिस्वा तुलाधर श्रेष्ठको नेतृत्वमा समावेशी तथा अनुभवी प्यानलले उम्मेदवारी घोषणा गरेको छ।
‘सदस्यको विश्वास, एकताबद्ध नाट्टा, समृद्ध पर्यटन व्यवसाय’ भन्ने मूल नारासहित उक्त प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिएको हो। प्यानलले नाट्टाको संस्थागत सुदृढीकरण, पर्यटन व्यवसायको दिगोपन तथा आधुनिकीकरणलाई प्राथमिकतामा राख्दै १२ बुँदे घोषणापत्र समेत सार्वजनिक गरेको छ।
घोषित प्यानलअनुसार अध्यक्ष पदमा जिस्वा तुलाधर श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा विष्णु पाण्डे, उपाध्यक्षमा प्रज्ञा शर्मा पाठक, महासचिवमा सुशिल पन्त, सचिवमा रमेश घिमिरे, कोषाध्यक्षमा कृष्णप्रसाद ढकाल तथा सह–कोषाध्यक्षमा डा. विमला दाहाल उम्मेदवार रहेका छन्।
त्यसैगरी कार्यसमिति सदस्य पदका लागि प्रदीप आचार्य, दिनेश घिमिरे, सुदर्शन गजुरेल, अनु अधिकारी (राउत), रोजिना रञ्जित र त्रिलोचन न्यौपानेले उम्मेदवारी दिएका छन्।
प्यानलले सार्वजनिक गरेको १२ बुँदे घोषणापत्रमा पर्यटन क्षेत्रको दिगो विकास र व्यवसायिक हितलाई केन्द्रमा राखिएको छ। यसअन्तर्गत अन्तर्राष्ट्रिय बजारमा नेपालको डिजिटल प्रवर्द्धन, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग, पर्यटनसम्बन्धी नीतिगत तथा कानुनी सुधार, बैंक ग्यारेन्टी तथा मौद्रिक नीतिमा सहजीकरणजस्ता विषयलाई प्राथमिकता दिइएको उल्लेख गरिएको छ।
उक्त प्यानलले पर्यटन व्यवसायलाई थप व्यवस्थित, प्रतिस्पर्धी र आधुनिक बनाउँदै व्यवसायीहरूको हित संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।



