रिपोर्टर्स क्लबले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले आफ्नो मोवाईल देखाउँदै टिचिङको एक्सचेन्जमा एम्बुलेन्सका लागि १३ पटक फोन गरेपनि नउठेका कारण कोइरालालाई अस्पताल पुर्याउन नसकको बताए ।’ मैले टिचिङको एक्चेन्जमा एम्बुलेन्स बोलाउन १३ पटक फोन गरेँ, तर फोन उठेन,’ उनले भने,’त्यसपछि पूर्व राष्ट्रपति डा. रामबरण यादवलाई पनि टेलिफोन गरे। मैले इन्जेक्सन लगाउँदै एम्बुलेन्स ल्याउन फोन गरेको थिएँ । कोइराला निवासमा सवारी साधन भए पनि अक्सिजन विनाको सवारी साधनमा लिएर जान झनै जोखिम हुने थियो ।’उनले कोइरालालाई अस्पताल भर्ना गर्न सोमबारको लागि टिचिङकोको ६०१ नम्बर बेड बुक गरिएको भएपनि उनको स्वास्थ्य अवस्थामा सुधार आई सामान्य अवस्था भएपछि पहिला नै अस्पताल नलगिएको जिकिर गरे। ‘सुशील दाईले शुक्रबार ज्वरो आए जस्तो भयो भन्नुभयो त्यसको उपचार गरियो,’ उनले भने,’ शनिबार अलि गाह्रो भयो भन्नुभयो एण्टिबायोटिक सुरु गरियो।
आइतबार विहान ६ बजे बोलाउनु भयो म साढे ६ बजे पुगे त्यसबेला पनि उहाँको स्वास्थ्य स्थिर थियो।’ कोइरालाले कमजोर महशुस भयो भनेपछि आफूले टिचिङको ६०१ नम्बर बेड बुक गरेको उनले बताए। सोही दिउँसो कोइरालाले जाउलो खाएपछि आफू राति साढे नौ बजे घर गएको उल्लेख गर्दै उनले भने,’ त्यसपछि अतुलजीले फोन गरेर स्वास लिन गाह्रो भयो आउनुस भन्नु भयो । म केही इन्जेक्सन लिएर गए। उहाँको स्वास्थ्य अवस्था बिग्रिएको थियो। तीनबाट इन्जेक्सन लगाए। गर्दागर्दै लान भ्याइएन।’
उनले इन्जेक्सन लगाउने बेलामा कोइरालाले हात थिचेर सुतेकाले आफूले इन्जेक्सन लगाउन हात निकाल्नु पर्यो भन्दा उनले ‘ए बुझें’ भनेर भनेको विषयलाई अपब्याख्या गरिएको भन्दै इन्जेक्सन लगाउँदा निस्किएको रगत लुगामा लागेको बताए। डा. योगीले निधारमा कुनै पनि चोट नभएको दाबी गर्दै राति शौचालय जाने बेलामा अलि लरबरिएर बेसिनको सहारामा कोइरालाले आफूलाई थिग्राएको र सो क्रममा टाउकोको पछाडि अलि छोएको भए पनि कुनै चोट भने आफूले नपाएको बताए।
बाहिर आशंका गरिएजस्तो टाउकोमा चोट थिएन त्यो दाहसंस्कार गर्ने बेलामा नुहाउँदा पुष्टि भइसकेको छ,’ उनले भने। डा. योगीले राति १२ बजे आफूले इन्जेक्सन लगाएको र त्यसपछि साढे १२ बजे सीपीआर गरेको उल्लेख गर्दै त्यस अवस्थासम्म कोइरालाले कुराकानी गरिरहेको बताए।



