नालाङ्ग परिक्रमा : असन्तुष्टि रहर होइन बाध्यता

- वासुदेव गुरागाईं


कृतिप्रभाव
जिन्दगीभर पवित्र शिक्षण पेसामा घुँडा धसेका माधवलाल श्रेष्ठ यतिखेरको अवकाशित जीवनमा साहित्यको चौतारीमा सियाँल ताप्ने अभियानमा हुनुहुन्छ । लागेका कुरा लेख्नु हुन्छ, देखेका कुरा बोल्नु हुन्छ । उहाँलाई एक झमेटमा पढ्दा सरसरर्ती आउने अभिव्यक्ति यही हो । मान्छेले के लेख्छ, कस्तो लेख्छ, कुन शैली अपनाउँछ, के कुन विधामा लेख्छ त्यो ठुलो कुरो होइन । ठुलो कुरो त त्यो हो, – उसको लेखनीको भाव कस्तो छ ? कतातिर बगेको छ ? उसले हिँड्न खोजेको बाटो के हो ?
साहित्यलाई समाजको ऐना भन्नेहरू पनि यहाँ थुप्रै छन् । यदि त्यसो हो भने माधवलाल श्रेष्ठका रचनामा वर्तमान बोलेको छ छर्लङ्गसँग । वर्तमानमा पनि बढी राजनीतिक वर्तमान । चाहना, प्राप्ति, असन्तुष्टि, सुझाव आदिइत्यादि उनका रचनामा छर्लङ्गै देखिन्छन् । यी सबै चिज पाइने उनको रचना कृतिको नाम हो, – ‘नालाङ्ग’ मुक्तक सङ्ग्रह –वि. सं. २०७७), जो यतिखेर मेरा हातमा यसले के भन्छ ! भन्ने पर्खाइमा छ ।
बाग्मती प्रदेशअन्तर्गत काभे्रपलाञ्चोक जिल्लामा पर्छ ‘नाला’ सहर । सर्जकका कुरामा विश्वास गर्ने हो भने यसको प्राचिन नाम थियो – ‘नागिरापुर ।’ पछि किराँतकालमा यसलाई ‘नालाङ्ग’ भनियो । तर यतिखेर भने यो सहर ‘नाला’ नामले परिचित छ, अझ त्यो पनि उग्रचण्डी नाला । यस मुक्तक सङ्ग्रहमै उनले यसको इतिहास खोतलेका छन् यसरी –

प्राचीनकालमा भनिन्थ्यो नागिरापुर
माता उग्रचण्डीको आशीर्वाद छ प्रचुर
किराँतकालीन नालाङ्ग देश हो यो
जनको हितार्थ मारियो महिषासुर ।

मुक्तक सङ्ग्रहको नाम नालाङ्ग राख्नुमा एकातिर उनी यही इतिहासबाट प्रभावित हुनु हो भने अर्कातिर उनको जन्मथलोप्रतिको अगाध आस्था र मोह पनि हो । यो उनको मन मस्तिष्कमा रहेको सकारात्मक भावको पहिचान हो, जो नमनीय छ ।
सङ्ग्रहमा समाविष्ट मुक्तक सुरु हुनुभन्दा अघि सम्पादकीयसहित पञ्च विद्वान्हरू, – प्रा. जगत्प्रसाद उपाध्याय ‘पे्रक्षित’, परशुराम पराशर, वियोगी बुढाथोकी, प्रभात सापकोटा, रुद्र अधिकारी, को शुभकामना छापिएको छ । अनि, छैठौँ अर्थात् अन्तिम पङ्क्तिमा मुक्तककार आपैmँ उपस्थित भएर आफ्ना कुरा पनि केही ओकलेका छन् । त्यसैले मुक्तक के हो ? कस्तो हुनुपर्छ ? यसको सैद्धान्तिक धरातल के हो ? भन्ने विषयमा यहाँ थप चर्चा परिचर्चा गरिरहनु आवश्यक देखिएन । पञ्च विद्वान्हरूको शुभकामना अभिव्यक्तिबाटै यी कुराको पर्याप्त पहिचान मिल्छ । त्यसैले सामान्य पाठकका नाताले आपूmलाई परेको प्रभावका विषयमा आक्षरिक रूपमा अलिकति ओकल्नु श्रेयस्कर होला भन्ने म ठान्दछु ।
मुक्तककार कवि माधवलाल श्रेष्ठ मुलुकको परिवर्तित राजनीतिक प्राप्तिप्रति निकै आशावादी थिए तर उपलब्धि उनले सोचेजस्तो पटक्कै भएन, न त आम जनताले सोचेजस्तो नै हुन सक्यो । महत्वाकाङ्क्षा ठुलो राख्ने तर उपलब्धि त्यसको विपरीत हुँदा मान्छेका विचारमा विद्रोह जन्मन्छ । हुन त जो कसैलाई यसो भएन उसो भएन, यसो गर उसो गर भन्न सजिलो छ तर गर्नेलाई गर्न पनि गाह्रै छ । तर एउटा कुरो के हो भने गर्नेको दृष्टि, सोच कतातिर ढल्केको छ भन्नेबाटै उसको हैसियत थाहा हुन्छ, उसको आशय÷मनसाय थाहा हुन्छ । बिहानीले दिउसोको सङ्केत गर्छ भन्ने आहान त्यसै चलेको होइन । उनका प्रस्तुत मुक्तक एक पटक पढिहेरुँ त ! यिनले के छनक दिन्छन् –

लय मिलाउँदै भन्थे उनी म त प्रजातन्त्रवादी
उपमा दिँदै बुझाउँथे राम्रा कुरा आदिइत्यादि
हो कि भन्दै बढाइयो सम्बन्ध सहकार्य पनि
तर व्यवहार सधैँ भित्र पित्तल बाहिर चाँदी ।
***
व्यवस्था फेरियो व्यवहार फेरिएन
सरकार फेरियो संस्कार फेरिएन
सपना धेरै बाँडियो जनताहरूमा
वाचा पूरा नगर्ने विचार फेरिएन ।

***
जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड भनेभैmँ सूत्रमा यो भन्दा बढी के नै भन्नु प¥यो र ! चाहे त्यो प्रजातन्त्रवादी होस् वा अरू कुनै वादी । वादको कुरा यहाँ ठुलो होइन, ऊ कतातिर उन्मुख छ भन्ने सोच ठुलो हो ।
सरकार सर्वहाराको छ । झुपडी र गरिबको गीत गाउँछ । तर, व्यवहार त्यसअनुरूप छैन । कतातिरबाट जनतालाई सुखसुबिधा दिन सकिन्छ भन्दा पनि कतातिरबाट यिनलाई निचोर्न सकिन्छ भन्नेमा सरकार लागेको छ । कवि मनमा भित्रभित्रै यही कुरा पलाएको छ । त्यसैले कर मात्र थोपर्ने सरकारलाई सुनाउन÷पढाउन शालीन रूपमा कवि यस्ता मुक्तक रचना गर्छन् –

कर जति बढाउँछौ बढाऊ सरकार
सुरक्षाको प्रत्याभूति गराऊ सरकार
सधैँ आश्वासन मात्र बाँडेर हामीलाई,
बलिको बोको बनाई नतड्पाऊ सरकार ।
****
जायज कर मात्र तिर्न लगाइयोस् सरकार
बिचौलियाको अहित कार्य भगाइयोस् सरकार
समृद्ध र सुखी नेपालको लक्ष्य प्राप्तिको निम्ति,
विकासको कार्यमा चासो जगाइयोस् सरकार ।
***
कोही माग्छन् मागे जति देऊ न सुन
कोही भन्छन् हाम्रोमा खाली नछर्नू नुन
सबै जनताको एकसूत्रीय माग यो छ,
नथुपार्नू कर बरु तिर्नू निर्वाचनको गुन ।

भाषणमा अग्राख भाँच्ने तर विकासका काम कारबाहीमा सिन्को नभाँच्ने सरकारको शैलीप्रति कवि मन विरक्तिएको छ । त्यसैले भनेरै हुने त होइन भन्ने जान्दाजान्दै पनि उनी यस्ता मुक्तक रचना गरेर आत्मशान्ति प्राप्त गर्नेतिर लागेका देखिन्छन् ।
गाउँमा नुन छैन सहरमा सुनको खोजी छ । नारामा सस्तो बजार छ दसैँ, तिहारजस्ता चाडमा तर त्यहाँ पनि भित्रभित्रै कालो बजारियारूपी घुन छ । यो स्थिति कविलाई पटक्कै मन पर्दैन । अनि त्यही असन्तुष्टिलाई यसरी ओकल्छन् मुक्तकीय शैली र शब्दमा –

सहरमा छैन भन्छन् सुन
गाउँमा छैन भन्छन् नुन
आउँदै छ दसैँ र तिहार
हटेन कालो बजारिया घुन ।

वास्तवमा कुरो हो नि ! सहरमा नुनको समस्या छैन । त्यहाँ त नुनलाई सुनमा बदल्नेहरू छन् । दसैँ तिहार वा जुनसुकै अवस्था होस् नुनदेखि सुनसम्म कालो बजारी गर्ने कालो बजारियाको भिड छ त्यहाँ । गाउँ नुनको आसमा टुलुटुलु टोलाउँदा पनि त्यहाँ कसैको आँखा पुगेको छैन । यही कथाव्यथा र मर्मलाई कविले यसरी आफ्ना सिर्जनामा समेटेका हुन् तर सुधारका कुरा त परै जाओस् यत्ति लेखेको पढ्नेसम्म फुर्सद पनि कसैलाई छैन ।
कवि असन्तुष्टि मात्रै पोख्दैनन् आफ्ना रचनामा । उनी सुधारका लागि सुझाव दिन पनि उत्तिकै जाँगरिला देखिन्छन् । मुक्तककार कवि माधवलाल श्रेष्ठको तलको रचनाले यही छनक दिन्छ –

जे जे गर्नु छ अहिल्यै गर साथी
मनपरी तन्त्रले पुगिँदैन माथि
प्रगति र प्रशंसा गुमाउँदै छौ
हरेक पल नपु¥याउँदा भाँती ।
***
ज्वरो आउँदा तिमी सिटामोल बनेर आऊ
शरीर कमजोर भए भिटामिन बनेर आऊ
साँच्चै तिमी मातृभूमिको माया गर्छौ भने,
मन्डले प्रवृत्ति त्याग, मन्डेला बनेर आऊ ।

कतिखेर कवि घुक्र्याउन पनि थाल्छन् शासकलाई । राजनीतिकर्मीलाई । म जस्तो चोखो कोही छैन भनी बर्बराउने ताँतीलाई । परधर्मी आचरणलाई । महान् क्रान्तिकारी हुँ भन्ने जमातलाई । उनीद्वारा रचित तलको मुक्तकले यही कुराको सङ्केत गर्छ –

खाऊ खाऊ राष्ट्रिय ढुकुटी मिलेर खाऊ
विरोधीहरूलाई पनि वाइन पिलाऊ
समृद्धि र सुखको मन्त्रणा गर्दै र जप्दै
पुरातन शासन र भाषणमै रमाऊ ।

भनाइ र गराइ, बोली र व्यवहार फरक–फरक हुने र नित्य निरन्तर छल गर्ने कुरालाई सङ्केत गर्दै धार्मिक बिम्ब अगाडि ल्याएर कवि बेजो पु¥याएर भन्नसम्म भन्छन् । यस कुराको प्रमाणका लागि अन्यत्र जानु पर्दैन, तल प्रस्तुत मुक्तक नै यसका लागि काफी छ –

सबैको सोचाइको आफ्नै कद हुन्छ यहाँ
सेकेन्डमै शान्ति जपेर बध हुन्छ यहाँ
जेरी जस्तै मिठो हुन्छ नमस्ते तिनको,
तर छल विष्णुको भन्दा बेहद हुन्छ यहाँ ।

राज्यको शङ्कास्पद आचरण र फितलो अनुसन्धान, अनावश्यक नातावाद कृपावादप्रति पनि कवि दृष्टि परेको छ । यस्तोमा उनको चित्त बुझेको छैन । यस स्थितिलाई व्यङ्ग्य गर्दै कवि लेख्छन् –

भेटिएको सुन तामा परेछ
अपराधी झन् मामा परेछ
जोखिममा सधैँ निर्मलाहरू,
कानून पूरै झोलामा परेछ ।

माधवलाल श्रेष्ठको ‘नालाङ्ग’ मुक्तक सङ्ग्रह सरसरती पढ्दा यो कुनै असन्तुष्टिहरूको पुलिन्दा नै हो कि जस्तो पनि लाग्छ पाठकलाई तर पटक्कै त्यस्तो होइन । उनका आँखाले जे देख्यो त्यही लेखे । उनको मनले जे पढ्यो त्यही कुरा अरूलाई पनि पढाए । असन्तुष्टि व्यक्त गर्नु उनको रहर होइन बाध्यता हो, जो जनताको उपज नभएर यी वा ती सत्तासिनहरूको अकर्मण्यताको उपज हो । हिउँमा हात हालेर कसैले आत्था भन्न सत्तैmन, न त आगोमा हात हालेर कसैले हिउँको अनुभव गर्न सक्छ । त्यही स्थितिमा देख्छु म मुक्तककार माधवलाल श्रेष्ठको ‘नालाङ्ग’ मुक्तक सङ्ग्रह । तर, मतmुकको सैद्धान्तिक आधार र सूत्रहरूलाई अगाडि तेस्र्याएर गुरुले लेखेको कृति गुरु नै हुनुपर्छ भनेर खोजी गरियो भनेचाहिँ त्यो पाठकको भूल हुनेछ, किनकि उनी यस अभियानमा भरखर उकालिने प्रयासमा छन् ।
****            ****              ****

यसमा तपाइको मत