पकुचा र बलाचा

- रत्नप्रसाद अनामणि श्रेष्ठ ,बनेपा नाला-४ ,काभ्रे


नेवार समुदाय बिश्व मान चित्रमा स्थापित समुदाय हो। यस समुदाय भित्र बिभिन्न ब्यबसाय गर्ने बिभिन्न जाती रहेको हुन्छ। बिभिन्न जाती भित्र भिन्न भिन्न चाल चलानहरु रहेका छन्। अझ भन्ने हो भन्ने काम वा ब्यबसाय अनुसार जात विभाजन गरिएको हुन्छ। हिजो आज सबैले आ आफ्नो पेशा अथवा ब्यबसाय छोड्दै गैरहेका छन। नेवार समुदाय भित्रको एक प्रमुख पेशा कृषि अथवा खेती पनि हो । यस समुदायका मानिसहरुले खेती परम्परागत गरेतापनि अन्य समुदायहरुको तुलनामा निकै उन्नत तरिकाले खेती गरेको पाईन्छ। उनीहरुले प्रयोग गरिने कृषि औजार त्यतिखेरको उन्नत औजार थियो भन्ने कुरा पुष्टि हुदै आएको छ। कृषि खेती मात्र होइन त्यसलाई भण्डारण ,प्रशोधन र त्यसलाई बिभिन्न परिकार बनाउने कुरामा पनि यो समुदाय निकै शिपालु र बैज्ञानिक तरिकाको नजिक रहेको हुन्छ। यस्ता प्रबिधि, शीप र पुराना रैथाने बिउ बिजनहरु लोप भैसकेको छ। ती कृषि अन्नहरु प्रत्यकको संस्कृतिक परम्परासँग कुनै न कुनै रुपले सम्बन्ध जोडिएको हुन्छ।  कृषि कार्यलाई सहज र सुब्यबस्था होस् भन्ने हेतुले नेवारी समुदायमा रहेको पकुचा अथवा बलाचा बारे हामी यहाँ चर्चा गर्छौ।

नेवार समुदायको खेती गर्ने स्थानमा एउटा सानो काँचो ईट्टाले बनाएको बिशेष प्रकारको घर हुन्छ त्यसलाई बलाचा अथवा बलाछें भनिन्छ। कृषि कार्य गर्न सहज होस भन्ने हेतुले यो निर्माण गरिएको हुन्छ। खेतको बिचमा बनाई राखेको हुन्छ।  नेवार समुदाय गुच्च मुच्च एकै स्थानमा मिलेर बस्ने समुदाय भएको कारणले उनीहरुको खेती टाढा टाढा हुन्छ। घर नजिकै नभएको कारणले  खेती गर्दा आराम गर्न ,साना बाल बच्चाहरुलाई सुताउन , खानपान गर्न ,कृषि सामाग्रीहरु राख्न ,हावा हुरी बर्षा असिना बाट जोगिन,कृषि सम्बन्धि कार्यहरु गर्न र घर फर्कन नसकेमा बास बस्नको लागि बनाएको हुन्छ। कसै कसैले खेतमा बनाएको घर भएकोले बुईं छें पनि भनिन्छ। विदेशतिर फाम हावस (FARM  HOUSE ) को नामले चिनिन्छ।

आफ्नो घर नजिकै यस्तै सानो घर बनाएको छ भन्ने त्यसलाई पकुचा भनिन्छ। पकुचामा कृषि सामाग्री राख्नुका साथै उहिले हातैले चिउरा कुट्ने काम पनि गरिन्छ। यस सानो घरमा प्वाक चा रहने भएको हुनाले नै पकुचा भएको होकी भन्ने भनाईहरु पनि आएको छ। नेवार समुदायमा रक्सी नभई नहुने पिय पदार्थको रुपमा लीइंछ। रक्सीलाई पंच तत्व मध्य एक तत्वको रुपमा लिइन्छ। हरेक नेवारी संस्कृतिसंग यसको सम्बन्ध गाँसिएको हुन्छ।  उक्त रक्सि बनाउन पनि पकुचाको प्रयोग गरेको हुन्छ। घरलाई चाहिने चामल ,पिठो ,चिउरा र रक्सी जस्ता खाध्य पदार्थ बनाउन यस पकुचाको महत्वपूर्ण भूमिका रहेको हुन्छ। घर सानो भएकाले भोज भतेर अस्थायी रुपमा संचालन गर्न समेत प्रयोग गरिएको हुन्छ।

हिजो आज यस्ता पकुचा तथा बलाचाहरु पूर्ण तया लोप भैसकेको छ। कृषि कार्य गर्ने स्थानहरुमा कंक्रिट जंगलले धकिसकेको छ। यसको महत्व नजानिन्दा र आवश्यकता नहुँदा ,बनाउने स्थान अभावले गर्दा लोप भैसकेको छ। यसको सट्टा टहराहरु निर्माण भई पकुचा र बलाचा ओझेलमा पर्न गएको हो।  नेवारी सभ्यतासंग निकै गाँसिएको एउटा महत्वपूर्ण बस्तु हिजो आज गुमाउन पुगेको छ। सानो छँदा जो जो पकुचा वा बलाचा मा खेली, सुती  हुर्के तिनै व्यक्तिहरुमा मनमा अझै ताजा सम्झनाहरु रहेको पाउँछौ। नेवारी सभ्यतासंग हुर्केको एउटा सभ्यता मासिन्दा आज दुख लागेको छ।

 

 

यसमा तपाइको मत