- विनोद ढकाल

गोरखा: २०६४ सालमा संविधानसभा चुनावमा विजयी भइसकेपछि तत्कालीन एमाओवादी नेताको हैसियतमा डा. बाबुराम भट्टराईले गोरखाली मतदाताहरुमाझ प्रतिबद्धता जनाए- म हरेक महिना गोरखा आउँछु।
भट्टराई प्रतिबद्धताअनुसार अझै गोरखा धाइरहेका छन् तर पुरानो नाता भने अब बाँकी छैन। एकीकृत नेकपा माओवादीका नेता र गोरखाको जनप्रतिनिधि नाता उनले त्यागिसकेका छन्। बाँकी छ त उनको गृह जिल्लाको नाता।
भट्टराई यतिबेला पूर्वमतदातासँगको सम्बन्ध पुरानै अवस्थामा फर्काउन चाहिरहेका छन् तर नयाँ नातामा। नयाँ नाता अर्थात नयाँ शक्ति। तर के गोरखाली नागरिकले उनीसँग नयाँ नाता सजिलै गाँस्लान्?
२०६४ सालको संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर २ बाट खसेको मतको ८० प्रतिशत र २०७० मा क्षेत्र नम्बर १ बाट करिब ६० प्रतिशत मत ल्याइ विजयी भट्टराईले फेरि गोरखाबाट चुनाव जित्लान्?
उनका पुराना सहयात्री तथा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फागुन १५ गते गोरखा पुगेर चुनौती नै दिए – अब चुनाव जितेर देखाउनुस्!
के प्रचण्डले गोरखामा बाबुरामको शक्ति बुझेर नै चुनौती दिने आँट गरेका हुन्?

भट्टराई एमाओवादीमा नै रहँदा एमाओवादीले गरेको एक कार्यक्रममा भट्टराईसँगै खड्का
बाबुरामले साथ छोडेपछि पार्टी पुनर्निर्माणका लागि भन्दै प्रचण्डले २ महिनाअघि आफ्ना स्वकीय सचिव एमाओवादी केन्द्रीय सदस्य चुडामणि खड्कालाई गोरखाको इन्चार्ज बनाएर पठाए। जो प्रचण्डको सचिवालयमा जानुअघि गोरखाकै जिल्ला सेक्रेटरी थिए। उनी एमाओवादीको जिल्ला प्रमुख रहेकै बेलामा बाबुरामले २०६४ सालमा ४६ हजार २ सय ७२ मत ल्याएर चुनाव जितेका थिए।
तर खड्काका अहिले टिप्पणी गर्छन्- ‘त्यो भोट बाबुरामलाई नभइ एकीकृत नेकपा माओवादी पार्टीलाई दिइएको थियो।’
‘प्रत्यक्षमा पाएको भोट ब्यक्तिको हो र समानुपातिक भोट पार्टीको हो, बाबुरामजीले चुनाव जितेको दुवै पटक गोरखामा प्रत्यक्ष र समानुपातिकमा एमाओवादीले पाएको भोटमा धेरै अन्तर छैन,त्यसैले त्यो भोट बाबुरामको नभइ एमाओवादीको भोट हो’ उनी भन्छन्।
एमाओवादी र भट्टराई दुवैलाई प्रतिष्ठाको लडाइँ
गृहजिल्ला र दुई वटा निर्वचनमा चुनाव जितेका कारण डा. बाबुराम भट्टराईका लागि गोरखा जिल्ला प्रतिष्ठाको ठाउँ हो। त्यहाँ उनी आफ्नो पहुँच विस्तार गरेर आगामी निर्वाचनमा पनि चुनाव जित्ने चाहनामा छन्। त्यसैले एमाओवादी छाडेपनि उनी महिनामा एक पटक गोरखा जान छाडेका छैनन्। जिल्ला जाँदा तीन/चारवटा गाविस पुगेका हुन्छन् र स्थानीय बासिन्दासँग अन्तर्क्रिया गर्छन्।
यसबीचमा उनले केही प्रचारात्मक कार्यक्रम पनि गरेका छन्। चेपाङ वसोबास रहेको दक्षिणी क्षेत्रका गाविसमा जाडोको समयमा भूकम्प पीडितलाई न्यानो कपडा वितरण गरे। एभरेष्ट बैंकको सहयोगमा उत्तरी लापु गाविसका २ वटा स्कुलका विद्यार्थीलाई स्वीटर वितरण गरे।
शान्ति प्रक्रियामा आएपछि गोर्खामा दुवै पटकको निर्वाचनमा क्लिन स्वीप गरेको एमाओवादीलाई गोरखामा आफ्नो आधार खस्किन नदिनु चुनौतीको विषय हो।
गृहजिल्लामा भट्टराईले विगतमा शक्तिमा हुँदा ल्याएका विकास योजना र व्यक्तित्वका कारण जनमत उतै जाने हो कि भन्ने डर एमाओवादीलाई छ। प्रचण्डले आफ्ना स्वकीय सचिवलाई जिल्ला फर्काउनुको रहस्य योसँग गाँसिएको छ।
एमाओवादीको प्रचार युद्ध
एकीकृत नेकपा माओवादीको गोर्खामा अहिले प्रचारका दुई तरिका प्रयोगमा ल्याएको छ। पहिलो बाबुराम भट्टराईले मार्क्सवाद र कम्युनिष्ट विचारधारा छोडेको, अनि दोश्रो नाकाबन्दीमा समर्थन गरेको र कम्युनिष्ट भाषामा आत्मसमर्पण गरेको । यो प्रचारले एमाओवादीलाई फाइदा पुगिरहेको छ। किनकी गोर्खामा रहेको कम्युनिष्ट जनाधार भट्टराईको नयाँ शक्तिप्रति यहि कारणले विकर्षित छन्।
पहिलोपोस्टसँगको कुराकानीमा एमाओवादीका जिल्ला इन्चार्ज खड्काले भने ‘उहाँले मार्क्सवाद र कम्युनिष्ट विचारधारा दुवै छोड्नुभयो,यसलाई गोरखाली जनताले अस्विकार गरेका छन्।’ संविधानसभाबाट बहिर्गमन र नाकाबन्दीलाई समर्थन गरेका कारण भट्टराई आत्मसमर्पणवादी धारको नेता बनेको आरोप लगाउँदै उनले थपे ‘स्वाभिमानी गोरखालीले भिमसेन थापालाई स्वीकार गर्छन् तर आत्मसमर्पणवादीलाई साथ दिँदैनन्।’
एमाओवादीको यस्ता प्रचारले नयाँ शक्तिका अभियन्ताहरुलाई अप्ठेरो पारेको छ। नयाँ शक्तिका गोरखा नगरपालिका संयोजक गोवर्द्धन श्रेष्ठ असहजता स्वीकार गर्दै भन्छन् ‘ एमाओवादी प्रचारबाजीले धेरै समर्थकहरुमा अन्यौल देखिएको छ, हामीले यसलाई चिर्न जरुरी छ।’
नयाँ शक्ति निर्माण अभियानले पनि जिल्लामा प्रचार अभियान तीव्र पारिरहेको छ। उनीहरुले मुख्य नारा ‘आर्थिक समृद्धि’ बनाएका छन् र प्रचार अगाडि बढाएका छन्।
नयाँ शक्तिका जिल्ला संयोजक रमेश पोखरेल आफूहरुले नयाँ शक्ति विरुद्धको प्रचार चिर्ने दावी गर्छन्। ‘नयाँ योजना सुरु गर्दा केही अन्यौल त रहेको हो, तर निरन्तरको स्कुलिङबाट हामीले नयाँ शक्ति आर्थिक विकास र परिवर्तनको लागि हो भन्ने कुरा बुझाउन सफल भइरहेका छौं’ पोखरेल भन्छन्।
नयाँ शक्तिको शक्ति कति?
२०६७ सालको पालुङटार प्लेनमदेखि गोरखामा बाबुराम भट्टराई विचार समूह प्रष्ट रुपमा खुल्न थालेका हुन्। तर त्यतिबेला जिल्ला सेक्रेटरी रहेका खड्काले उनीहरुलाई ‘नाकाबन्दी’ लगाउँदै आएका थिए। जिल्लाका कुनैपनि कार्यक्रममा यो विचार समूहका नेताहरुलाई पार्टीको प्रतिनिधित्व गर्न पाउँदैनथे। पछि अधिवेशनमा त गाउँदेखि जिल्ला तहसम्म यो विचार समूहलाई हराउन अभियान जस्तै चलाइयो।
एमाओवादीका अनुसार हेटौंडा महाधिवेशनअघि जिल्लामा भएको अधिवेशनबाट निर्वाचित ५१ सदस्यीय जिल्ला समितिका रमेश पोखरेल र ज्ञानेन्द्र कुमाल मात्र नयाँ शक्तिमा गएका छन्। गाउँ कमिटीमा निर्वाचित कोही पनि नयाँशक्तिमा गएका छैनन्। त्यतिबेला अधिवेशनमा संस्थापन पक्षले छानीछानी बाबुराम भट्टराई पक्षधरलाई हराइदिएपछि उनीहरुले समानान्तर कमिटी घोषणा गरेका थिए। समानान्तर कमिटी नै अहिले नयाँ शक्तिमा सिफ्ट भएको छ।

नयाँशक्ति निर्माण अभियानका अनुसार जिल्लाका ३५ गाविसका गाउँ कमिटी अध्यक्षले नयाँ शक्तिलाई समर्थन गरेको छ। गोरखा नगरपालिका नयाँ शक्ति संयोजक गोवर्द्धन श्रेष्ठका अनुसार नगरपालिकामा नयाँ शक्ति र एमाओवादीको अनुपात ८०/२० छ।
उनी थप्छन् ‘गाउँ गाउँमा गरिएको प्रचारात्मक कार्यक्रममा धेरै उत्साह देखिएको छ,यसलाई संगठनमा रुपान्तरण गर्न केही मेहनत गर्नुपर्नेछ।’ तर पहिलेदेखि बाबुराम भट्टराई विचार समूहमा सक्रिय जिल्ला नेता यानप्रसाद भट्ट अहिले निष्क्रिय छन्। गाइ फार्म सञ्चालन गरेका उनी अहिले दुवैतर्फका कार्यक्रममा सहभागी छैनन्।
एमाओवादी जिल्ला इन्चार्ज खड्का भने भट्ट एमाओवादीमा नै फर्किनेमा विश्वस्त देखिन्छन्। ती बाहेक जनयुद्ध लडेर आएका पुराना धेरै नेताहरु एमाओवादीमा नै फर्किएका उनको दावी छ।
अहिले नयाँ शक्तिमा अरु दलका नेताहरु प्रवेश गरेका छैनन्। केही स्वतन्त्र व्यक्ति, शिक्षक वुद्धिजीविहरु बाबुराम भट्टराईको भेलामा सहभागी हुने गरेका छन्। तर उनीहरु नयाँशक्तिमा खुलेर जुट्न सकेका छैनन्। यस्ता ‘न्युट्रल’ कार्यकर्ताहरुलाई दुवै पक्षले आफ्नोतर्फ गणना गर्ने गरेका छन्।
जिल्लाको संयन्त्र र विकासमा हैसियत
गोर्खाको जिल्ला विकास समितिको राजनीतिक संयन्त्रमा नयाँ शक्ति निर्माण अभियानलाई अरु दलहरु सरह सहभागी गराइएको छ। जिल्लास्तरमा बिभिन्न सरकारी र गैर सरकारी संस्थाहरुले गर्ने कार्यक्रममा अरु पार्टी सरह नै नयाँ शक्तिलाई पनि निम्ता र मञ्च दिने गरिएको छ। नयाँ शक्तिको जिल्ला परिषद गठन नहुँदै यसले जिल्लामा दलको मान्यता पाइसकेको छ।
बाबुराम भट्टराई अर्थमन्त्री हुँदा गोरखामा तीनवटा पक्कीपुल निर्माण गराएका थिए। केही ग्रामीण सडक कालोपत्रे भए भने धेरै ठाउँमा नयाँ ट्रयाक खुले र स्तरोन्नती गरिए। त्यसबाहेक साना साना टुक्रे योजनाहरु सयौं टोलमा पुगेका थिए। यस विषयमा पनि गोरखामा सकारात्मक र नकारात्मक दुवै प्रचार भएका छन्।
गोरखाको छेपेटारमा निर्माण भएको पक्कीपुल उद्घाटन गर्दै भट्टराई
विकासप्रेमी भएकै कारण बाबुरामको लोकप्रियता कायमै रहेको नयाँ शक्तिको दावी छ। अनि एमाओवादी नेताहरु भन्छन् – पार्टी छोडेपछि बाबुरामले जिल्लाका लागि गर्न सक्ने केहि छैन।
भट्टराईले संसद सदस्य पदबाट राजीनामा दिएपछि गोरखा क्षेत्र नम्बर १ मा जाने २० लाख रुपैयाँ रोकिएको छ। भट्टराईले छाडेपछि गोरखालाई धेरै घाटा लागेको भन्दै एमाओवादीका जिल्ला स्तरीय नेता नारायण श्रेष्ठको तर्क छ। ‘उहाँ बोली बिक्ने ठाउँमा हुनुहुन्थ्यो र गोरखामा धेरै योजनाहरु आउथ्यो, अब भर्खर खोलेको पार्टीबाट त्यो सम्भव छैन’ उनले भने ‘भट्टराईले एमाओवादी छाड्नु गोरखाली जनताका लागि ठूलो धोका हो।’
शान्तिप्रक्रिया सुरु हुनुअघिका निर्वाचनमा गोरखाको तीनवटै क्षेत्रबाट नेपाली कांग्रेसले जितेको थियो। त्यति हुँदा पनि गोरखामा कम्युनिष्ट जनमत बलियो नै रह्यो। २०५६ सालमा तीनवटै क्षेत्र कांग्रेसले जित्दा एमाले उम्मेदवारहरु थोरै मतले मात्र पराजित भएका थिए। जबकी तत्कालीन जनयुद्ध सञ्चालन गरिरहेको नेकपा माओवादीलाई समर्थन गर्ने ठूलो जनमतले चुनाव बहिस्कार गरेको थियो।
२०६४ सालमा भएको संविधान सभा निर्वाचनमा एमाओवादी तीनवटै क्षेत्रमा फराकिलो अन्तरले विजयी भयो। कांग्रेस दोश्रो स्थानमा र एमाले तेश्रो स्थानमा रह्यो। एमाओवादीबाट मोहन वैद्य पक्ष अलग भएपनि २०७० सालको संविधानसभा निर्वाचनमा पनि एमाओवादीले तीनवटै क्षेत्रमा विजय हासिल गर्यो। तर यसपटक एमाओवादीमा देखिएको विभाजनले आउँदा चुनावहरुमा कांग्रेस र एमालेलाई फाइदा हुन सक्ने आँकलन पनि गरिएको छ।



