चौतारामा पहिलो पटक बौद्ध तन्त्रमा आधारित चर्या नृत्य साथै धाः बाजा प्रशिक्षण सम्पन्न


सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा सम्पदा संरक्षण गुठीले पहिलो पटक बौद्ध तन्त्रमा आधारित चर्या नृत्य साथै धाः बाजा प्रशिक्षण सम्पन्न गरेको छ । शनिबार चौतारामा सम्पन्न कार्यक्रममा मेयर कृष्ण प्रसाद सापकोटा र वडा नम्बर ५ का अध्यक्ष शिव श्रेष्ठले नृत्य र बाजा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

यसै क्रममा सिन्धुपाल्चोकमा सांस्कृतिक जागरण ल्याएको नेवाः खलःका संस्थापक अध्यक्ष माधव लाल कर्माचार्य साथै भक्तपुरका सांस्कृतिक अभियन्ता तथा लेखक गणेश राम रञ्जित, काठमाडौँका हस्तकला व्यवसायी साथै समाजसेवी दिल्ली रत्न तुलाधर, सन्त कुमार महर्जन र पत्रकार कुमार रञ्जित लगायतलाई सम्मान गरिएको थियो ।

गुठीका अध्यक्ष रविन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रशिक्षकहरु हेमरत्न बज्राचार्य, चनिरा बज्राचार्य, विजया लक्ष्मी श्रेष्ठ, सुरेश बोयजु र नारायण प्रसाद मचामसिलाई नं कदरपत्र प्रदान गरियो । कार्यक्रममा भक्तपुर रञ्जितकार समाजकातर्फबाट प्रशिक्षण गराएर चौतारामा सर्वप्रथम लाखे नृत्य प्रदर्शन गरिएको थियो भने भक्तपुरकै समाजसेवी बाबुकाजी रञ्जितकारले चौतारामा प्रतिस्थापन गर्न नृत्यनाथको प्रतिमूर्ति हस्तान्तरण गर्नुभएको थियो ।

यसमा तपाइको मत