
यो देश यस्तो हो
जहाँ
चिकित्सक मात्र भएर हुँदैन
चाकडीबाज पनि हुनपर्छ ।
कवि मात्र भएर हुँदैन
कसैको क्रान्तिलाई बल पुग्ने
कविता लेख्न सक्ने पनि हुनपर्छ
टिक्ने वा बिक्ने हो भने
प्रभुका पाउ धुन सक्नुपर्छ
वा
गोहीको आँसु रून सक्नुपर्छ
हैन भने,
आफ्नो मालको रक्षा आँफै गर्न सक्ने हुनपर्छ
यहाँ चलाख-चाप्लुसहरू
चढेर, प्रभावशालीहरूको बुई
पुग्छन् चुचुरोमा
विचारले सक्षम स्वाभिमानीहरू
चिप्लाईएर प्रतिगामी मानिदै
अग्रगामी भनाउँदाको सभ्यताको पुछारमा पुग्छन
यो यस्तो देश हो
जहाँ
घरको चुलो बाल्न,
आफ्नो आत्मसम्मानमा आगो लाउनुपर्छ
सन्ततिले सम्मानले बाचुन भन्न,
मुटुबाट झिकी त्यिनलाई परदेश भगाउनुपर्छ
यो यस्तो देश हो
जो चलेको छ ब्रेक फुस्केको गाडी जस्तो
यो कहिलेसम्म चल्छ
र कहाँसम्म चल्छ
त्यस्को कुनै टुंगो छैन
खैर! यो यस्तै देश छ।
– मेलवर्न



