पसिनाको मूल्यदेखि विद्रोहसम्म: श्रमिक दिवसमा कविता गुञ्जियो


अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर कलङ्कीस्थित जागरण एकेडेमीको सभाहलमा ‘श्रम-श्रमिक विशेष कविता वाचन कार्यक्रम–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ। श्रमिक दिवस विश्वभर श्रमिकको हकअधिकार र सम्मानको स्मरण गर्दै विभिन्न कार्यक्रममार्फत मनाइने गरिन्छ । यही सन्दर्भमा आयोजित उक्त कार्यक्रममा श्रम, श्रमिक र सामाजिक यथार्थलाई केन्द्रमा राख्दै समकालीन नेपाली कविहरूले सशक्त प्रस्तुति दिएका थिए।‘वर्तमान कविता समूह’ र ‘रातो घर फाउन्डेसन’को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा भिन्न पुस्ताका दुई दर्जनभन्दा बढी कविहरूको सहभागिता रहेको थियो। उनीहरूले आफ्ना ओजपूर्ण सिर्जनामार्फत श्रमिकको जीवन, संघर्ष, शोषण र स्वाभिमानका विविध पक्षलाई उजागर गरे।
कार्यक्रमको प्रारम्भ वरिष्ठ कवि श्यामलले ‘फरक फरक लोकतन्त्र’ तथा ‘पित्तलको पिकदानी’ कवितामार्फत गर्दै निर्वाचनमा प्रयोग हुने श्रमिकहरूको विडम्बना र श्रममाथिको राजनीतिक शोषणमाथि तीखा प्रश्न उठाए। कवि अमर आकाशले ‘स्वाद’ कवितामा काममा गएकी आमाको प्रतीक्षामा रहेका बालबालिकाको भोक र भावनालाई मार्मिक रूपमा चित्रित गरे भने कवि चाचुले ‘गुजुल्टिएको नाम्लो’ मार्फत श्रमिकको काँधमा थपिँदै गएको आर्थिक भार प्रस्तुत गरे। यसैगरी कवि रामगोपाल आशुतोषले ‘भोकको रामायण’ मा पुस्तौंदेखिको अभावको कथा बुने भने कञ्चन गजमेरले ‘पसिनाको मूल्य’ मार्फत श्रमको वास्तविक महत्त्व उजागर गरिन्। कवि मिथोचले ‘पसिनाको गीत’ मा श्रमिककै पसिनाले पृथ्वीलाई हरियो बनाएको भाव व्यक्त गरे।
कवि किसन पौडेल, अभय श्रेष्ठ, लुमन्ती चित्रकार, प्रमोद स्नेही, जयन्ती स्पन्दन, शेखर कुमार श्रेष्ठ, बाबु त्रिपाठी, नमुना शर्मा लगायतका कविहरूले पनि आ–आफ्ना कवितामार्फत श्रमिक जीवनका विविध आयाम प्रस्तुत गरे। उनीहरूका कवितामा श्रमिकको पहिचान, सामाजिक विभेद, स्वास्थ्य अभाव, ऐतिहासिक उपेक्षा र विद्रोहको चेतना सशक्त रूपमा अभिव्यक्त भएको थियो। कार्यक्रममा प्रेमिला राई, प्रशान्त खरेल, सोमनाथ दाहाल, गोपाल कुमार मैनाली, शकुन्तला जोशी, अनिता लामा, लक्ष्मी माली, राजबाबु पहाडी, राजाराम राउत, स्नेह सायमी, धीरकुमार श्रेष्ठ, रिता बलामी, वासुदेव अधिकारी तथा चन्द्रबहादुर लामालगायतका कविहरूले पनि श्रमिक जीवनका कथा, पीडा र सम्मानका भावलाई गहिरो रूपमा प्रस्तुत गरे।
कार्यक्रमकी सहजकर्ता कवि रमी प्रियाले ‘मानिस र पर्खाल’ कवितामार्फत सहकार्यको सट्टा विभेद निर्माण गर्ने मानव समाजको यथार्थमाथि तीक्ष्ण टिप्पणी गरिन्। समारोहको समापन गर्दै कवि तथा ‘वर्तमान कविता समूह’का सदस्य विश्व सिग्देलले ‘जुस पसलमा’ कविता वाचन गरे। उक्त कवितामा श्रमिकको श्रम र जीवनलाई समाज र व्यवस्थाले कसरी निचोरेर रित्तो बनाउँछ भन्ने मार्मिक चित्रण गरिएको थियो।
सो अवसरमा बोल्दै सिग्देलले विगत दुई वर्षदेखि निरन्तर यस्ता कार्यक्रम आयोजना हुँदै आएको र आगामी दिनमा पनि निरन्तरता दिइने बताए। उनले आगामी ‘विश्व वातावरण दिवस’का अवसरमा समेत यस्तै अर्थपूर्ण कार्यक्रम आयोजना गर्ने योजना रहेको जानकारी गराए। कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने जागरण एकेडेमीका प्रतिनिधि राधिका अधिकारीप्रति आयोजकले धन्यवाद ज्ञापन गरेका थिए। समग्रमा कार्यक्रमले श्रमको सम्मान र श्रमिक अधिकारको पक्षमा सशक्त साहित्यिक ऐक्यबद्धता प्रस्तुत गरेको आयोजकको भनाइ छ।

 

यसमा तपाइको मत