
विभिन्न कालखण्डका आन्दोलन, त्याग र बलिदानको जगमा उभिएको नेपालको राजनीति हालका दिनमा एउटा सर्वथा भिन्न र असाधारण परिस्थितितिर मोडिएको छ । २०८२ भाद्र २३ र २४ का सुधारात्मक कुरादेखि लिएर पछिल्ला राजनीतिक फेरबदलसम्म हेर्दा मुलुक सुधारतर्फ होइन, गम्भीर अनिश्चयको खाडलतर्फ धकेलिएको प्रस्ट हुन्छ।
भूराजनीतिले जन्मिएका र धेरै परका देशहरूबाट चलाइएका अदृश्य आन्दोलनहरूका कारण देशले ठूलो भौतिक क्षति मात्र ब्यहोरेको छैन, हाम्रो सार्वभौमिक निर्णय क्षमता समेत सङ्कटमा परेको छ। यो अवस्थाले आज प्रत्येक देशभक्त नेपालीको मनमा एउटा गम्भीर प्रश्न उब्जाएको छ— अब हामी विशुद्ध नेपाली भएर बाँच्ने कि परको दासत्व स्वीकार्ने? कतै हामी अक्षुण्ण स्वाभिमान गुमाएर छिमेकी ‘भुटान मोडेल’ को नियति भोग्न बाध्य त हुँदै छैनौं?
आज मुलुकभित्र चरम आर्थिक र सामाजिक संकट छ । व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिएन, बरु नागरिकहरू यसरी निराश बनाइए कि देशमै सम्भावना नदेखेर नागरिकले सडकमै आत्मदाह गर्नुपर्ने दर्दनाक र भयानक स्थिति सिर्जना भएको छ। यो आत्मदाह नेपाली राजनीतिक नेतृत्व, कृत्रिम अर्थतन्त्र र राज्यको लाचारीमाथि एउटा गम्भीर झापड हो।
तर, यस्तो गम्भीर परिस्थितिमा पनि सत्तासीनहरूको सस्तो लोकप्रियतावाद (Populism) भित्रको ‘डबल खेल’ रोकिएको छैन। ‘एआई’ (AI) र प्रविधिका आधुनिक औजार प्रयोग गरेर प्रत्येक भोटरसम्म “पुरानाले खाए, नयाँलाई मौका देऊ” भन्ने भाष्य यसरी फैलाइएको छ कि जसको प्रभाव २०८२ फागुन २१ को चुनावी रिजल्टमा समेत स्पष्ट देखियो। नवपुस्तालाई “यहाँ कोही छैन, विदेशमा सबै थोक पाइन्छ” भन्ने कृत्रिम भ्रम र संस्कार चोटा, कोठा र घर-घरमा भरिएको छ। यसैको आडमा मातृभूमिमा नेपाली अनुहारलाई अगाडि सारेर पृष्ठभूमिमा अरू कसैको स्वार्थको ‘परेड’ खेलाउने प्रपञ्च त भइरहेको छैन ?
नेपाल सधैं दुई ठूला छिमेकीहरूको बीचमा भूराजनीतिक संवेदनशीलता बोकेर बाँचेको मुलुक हो। दलाई लामा तिब्बतीयन भएर भारतमा शरणार्थी भएको र अमेरिकाले ‘फ्री तिब्बत’ स्थापना गर्न सहयोग गरी चीनलाई घेर्ने रणनीति लिएको कुरा हामी सबैलाई विदितै छ। यस्तो अवस्थामा हाम्रो सरकारले अनुमति दिएर नागार्जुनको ह्वाइटगुम्बामा वैदेशिक प्रतिनिधि समेतको उपस्थितिमा दलाई लामाको जन्मउत्सव मनाउनु, हामीले स्वीकार गरेको ‘एक चीन नीति’ विपरीत निकै गम्भीर विषय हो।
अर्कोतिर, अर्थमन्त्री वाग्ले नवउदारवादी फुलबुट्टा भित्र कृत्रिम अर्थतन्त्रको खेल खेलिरहेका छन्। आफूलाई अर्थविद् भन्न रुचाउने वाग्लेको बजेट भाषणले उनको धोती नराम्रोसँग खुस्काइदिएको छ। “यदि अमेरिकाले सहयोग नगर्ने हो भने देशको अर्थनीति ब्ल्याकलिस्टमा पर्छ” भन्दै त्रास फैलाउनु र अर्कोतिर नेपाली अनुहारको अमेरिकी सेनाले यो सरकारको अप्रत्यक्ष सहयोग पाउनु, कुनै कागताली अवश्य होइन। यो त देशलाई परनिर्भर र रणनीतिक दाउपेचको थलो बनाउने खेल हो।
विभिन्न कालखण्डमा हाम्रो अस्तित्व र अधिकारका लागि वीर पुर्खाहरू र सहिदहरूले लडेको र रगत बगाएको त्यो इतिहास खेर जाने स्थिति आउन दिनु हुँदैन। हामी ‘नेपाली हौं’ भन्नका लागि भोलिका दिन ज्यादै कठिनाइ आइलाग्ने अवस्था नजिक छ। तसर्थ, नेपाली भूमि र नेपाली अस्तित्वको रक्षाका लागि देशलाई माया गर्ने केही व्यक्ति, समूह र पार्टीहरू एकजुट भएर लाग्नै पर्छ। हाम्रो अस्तित्व जोगाउन हामीसँग अब अर्को विकल्प छैन।



