
काठमाडौं — नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आफ्नो स्वर्ण जयन्तीको अवसर पारेर नेपाली अटोमोबाइल क्षेत्रकै सबैभन्दा ठूलो तथा प्रतिष्ठित मेला ‘एचपी प्रेजेन्ट्स् नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ।
नाडा अटो शोको १८औँ संस्करण आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी परिसरमा सञ्चालन हुनेछ। आयोजकका अनुसार उक्त अटो शो अटोमोबाइल, आयल तथा पार्टपुर्जा व्यवसायीका लागि उत्पादन तथा सेवा प्रदर्शनसँगै व्यावसायिक प्रवर्द्धनको प्रभावकारी मञ्च बन्नेछ।
यस वर्षको अटो शोमा साना तथा ठूला गरी कुल २०० वटा स्टल रहनेछन्। प्रदर्शनीमा २२ ब्रान्डका प्यासेन्जर कार, १६ ब्रान्डका लाइट कमर्सियल भेहिकल तथा १२ ब्रान्डका दुईपाङ्ग्रे सवारी साधनको सहभागिता रहने जनाइएको छ। साथै, ८ नेपाली उत्पादकसहित ६९ कम्पोनेन्ट तथा अन्य सरोकारवाला व्यवसायीहरूले आफ्ना उत्पादन तथा सेवाहरू प्रदर्शन गर्नेछन्।
देशभरका अटोमोबाइल व्यवसायीहरूमा अटो शोप्रति उत्साह बढ्दो रहेको नाडाले जनाएको छ। स्टलका लागि अत्यधिक माग भए पनि भृकुटीमण्डपको सीमित स्थानका कारण सबै इच्छुक व्यवसायीलाई समेट्न कठिन भएको आयोजकको भनाइ छ।

प्रदर्शनीमा स्वदेशी उत्पादनसँगै अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन तथा अटोमोबाइल सामग्री पनि प्रदर्शन गरिनेछ।
नयाँ प्रविधि, विद्युतीय सवारी साधन, पार्टपुर्जा तथा सेवाबारे उपभोक्ताले प्रत्यक्ष जानकारी लिन सक्ने व्यवस्था गरिने आयोजकले जनाएको छ।
पछिल्लो समय सुस्ताएको नेपाली अटोमोबाइल बजारलाई पुनः चलायमान बनाउन अटो शोले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। व्यवसायीका लागि व्यापार प्रवर्द्धनको अवसर र उपभोक्ताका लागि नयाँ मोडल तथा प्रविधिबारे जानकारी लिने उत्कृष्ट अवसरका रूपमा यो मेला महत्वपूर्ण रहने विश्वास व्यक्त गरिएको छ।
स्वर्ण जयन्तीको अवसरमा आयोजना हुन लागेको यस वर्षको नाडा अटो शो विगतका संस्करणभन्दा थप आकर्षक र व्यापक सहभागितासहित सम्पन्न हुने आयोजकको विश्वास छ।


