
हरेक कुराको एउटा सीमा हुन्छ, केही पनि सिमारहित हुँदैन।
आज हामी नेपालीहरू पैसालाई नै सर्वोपरि ठानेर सीमापारिको मोहमा छौँ । आफ्नै जन्मभूमिको मौलिकता, पहिचान र स्वाभिमान हाम्रो परिचय हो । देशको माया मनमा राखेर विदेश पुग्न युवाहरू बाध्य छन् । युवाहरू आफ्नै देशको माटो, खेतीबारी , सानाठूला उद्योगधन्दा छाडेर सोझासाझा परिवार तथा आमाबाबुलाई गाउँमै छोडेर हामी विदेशका गल्लीहरूमा पुगेका छौँ र तल्ला स्तरका काममा पसिना बगाउन बाध्य भएका छन् । हाम्रो कमजोर अर्थतन्त्रको कारण यो बाध्यता झन गहिरो भएको छ ।
छोराछोरीलाई वैदेशिक रोजगारको लागि हवाईजहाज चढाउन बाबुआमाले आफ्नो पेटको गाँस काटेर, घरखेत बेचेर ऋणको भारी बोकिरहेका छन्। यदि हामी यसरी नै आफ्नो मा बिर्सेर कमाउने बाटोमा मात्र लागिरह्यौँ भने हाम्रो समाज र जीवन पुनः उठ्न नसक्ने गरी थलिने निश्चित छ।
विक्रम संवत् २०६५ सालपछि गाउँ-गाउँमा सडक पुगे; भौगोलिक विकटताका बाबजुद अनकन्टार वडाहरूमा धुले बाटो भए पनि गाडी गुडे। तर विडम्बना, बाटोघाटो पुगेसँगै गाउँमा सम्भावना खोज्नुको साटो मानिसहरू सहर र विदेशतिर लामबद्ध भए। आज हाम्रा गाउँघरका खेतीयोग्य पाखाहरू बाँझा छन्, जहाँ मानिसको साटो बाँदर, चितुवा र बँदेलको रजगज छ। सहाराविहीन बुढाबुढीहरू झ्यालढोका थुनेर बस्न बाध्य छन्।
सपनाको विदेश पनि सोचेजस्तो सहज छैन। अस्ट्रेलिया वा अमेरिकामा महिनाको हजारौँ डलर कमाए पनि भारी कर, खानपिन, यातायात र बैंकको ऋण तिर्दै तीसौँ वर्ष बित्छ। खाडीका ५० डिग्री तापक्रममा काम गर्नेहरूले पाउने सामान्य तलबले बिरामी पर्दा औषधोपचार गर्न समेत पुग्दैन। यता आफ्नै देशमा भने प्रतिव्यक्ति १९ रोपनी खेतीयोग्य जमिनको भाग पुग्ने सम्भावना हुँदाहुँदै पनि खेतीपाती र स्थानीय उत्पादन पूर्ण रूपमा ठप्प छ।
अर्कोतर्फ, देशको राजनीति र प्रशासनिक अवस्था उत्तिकै निराशाजनक छ। सरकारले जन्मिएका बच्चादेखि मृतकका नाममा समेत करको बोझ थपेको छ, साना बालबालिकाको विद्यालय शुल्कमा कर लगाइएको छ। तर, साना कृषि उत्पदन , बाटोघाटो, सिँचाइ र खानेपानीजस्ता आधारभूत क्षेत्रमा बजेट छुट्याइँदैन। रु. ११०० पर्ने रासायनिक मल रु. ३००० सम्म तिरेर किन्न किसान बाध्य छन्। यति मात्र होइन, प्रविधि र सामाजिक सञ्जालको दुरुपयोग गरी कृत्रिम बौद्धिकता (AI) र अल्गोरिदममार्फत मानिसको सोच र राजनीतिलाई भ्रामक दिशामा मोड्ने काम भइरहेको छ।
विदेशबाट ‘पुरानाले खाए, अब नयाँलाई मौका देऊ’ भन्दै आफन्तलाई भोट हाल्न दबाब दिने प्रवृत्तिले वास्तविक आवश्यकताभन्दा प्रचारबाजीलाई प्रश्रय दिएको छ।
आफ्नो देशका खेतबारी र उत्पादनका साधनहरू थन्क्याएर अर्काको देशमा पसिना बगाउनु हाम्रो स्वाभिमान र अर्थतन्त्रका निम्ति सकारात्मक विषय होइन।
यदि समयमै सरकारले व्यावहारिक कृषि नीति, रोजगारीको सिर्जना र जनपक्षीय विकासमा ध्यान दिएन भने भूपि शेरचनको कविताले चेतावनी दिएझैँ हाम्रो राष्ट्रिय जीवन र अस्तित्व कहिल्यै नउठ्ने गरी गिर्नेछ।


