
काठमाडौं — बालप्रतिभाको खोजी तथा गायन र नृत्य क्षेत्रमा नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको ‘जिनियस स्टार अफ नेपाल–२०८३’ को गायन तथा नृत्य एकल प्रतिस्पर्धाको सेमिफाइनल शनिबार सम्पन्न भएको छ।
जिनियस डिजिटल म्युजिक प्रालि तथा जिनियस डान्स एन्ड म्युजिक स्कुलको आयोजनामा सीतापाइलास्थित निर्भाना एकेडेमीमा भएको सेमिफाइनलमा १३ वर्षसम्मका बालप्रतिभाले एकल गायन तथा नृत्य प्रस्तुत गरेका थिए। सेमिफाइनलबाट नृत्यतर्फ २१ जना र गायनतर्फ ७ जना प्रतियोगी फाइनलका लागि छनोट भएका छन्।
प्रतियोगिताको उद्घाटन नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी र निर्भाना एकेडेमीका निर्देशक ज्ञानुरत्न तुलाधरले गरेका थिए। कार्यक्रममा रवि रानामगरले स्वागत मन्तव्य दिएका थिए भने नृत्य निर्देशक टेक लामा (छिरिङ) सभापति थिए।

नृत्यतर्फ देवेन्द्र कुँवर, देवराज गुरुङ र सिर्जना राजबाहक तथा गायनतर्फ राजेन्द्र बजगाईं, नारायण थापा र मञ्जु लावती निर्णायक रहेका थिए।
कार्यक्रममा कलाकार संघका अध्यक्ष उत्तम केसीले यस्ता प्रतियोगिताले बालबालिकामा लुकेर रहेका प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले बालप्रतिभाको विकासका लागि नेपाल चलचित्र कलाकार संघले आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

जिनियस डान्स एन्ड म्युजिक स्कुलका अध्यक्ष तथा कार्यक्रम निर्देशक टेक लामा (छिरिङ)ले बालबालिकामा लुकेर रहेका प्रतिभाको पहिचान गरी उनीहरूलाई कला क्षेत्रमा अघि बढ्न प्रेरित गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए।
कार्यक्रमको संयोजन कृष्ण रसालले गरेका थिए। आयोजकका अनुसार सेमिफाइनलमा उत्कृष्ट प्रस्तुति दिएका प्रतियोगीमध्येबाट छनोट भएका प्रतिभाबीच फाइनल प्रतिस्पर्धा हुनेछ।



