
२०३० को दशकको शुरुतिरै काठमाडौँको प्रमुख परम्परागत व्यापारिक स्थल काष्ठमण्डप–मरुतिर पुग्दा “कृष्ण पाउरोटी” लेखिएको एउटा तीनपांग्रे ट्राइसाइकल देखिन्थ्यो। हेर्दै आकर्षक र फरक प्रकारको त्यो ट्राइसाइकल अक्सर मरुकै रैथाने न्हुछे प्रधानहरुका पुर्ख्यौली कृति विमलेश्वर मन्दिरसँगैको खालि स्थानमा नमस्कार गरिरहेको विशाल ढुङ्गे “गरुड” आकृतिनिर रोकिएको हुन्थ्यो। पाउरोटीले भरिएको त्यस ट्राइसाइकललाई बिहानै एकजना अधबैँसेले डोर्याउँदै ल्याउँथ्यो। आधा शताब्दीपछि सोही कृष्ण पाउरोटी उत्पादकका कान्छा सुपुत्र घनश्याम राजकर्णिकार लिखित “कृष्ण पाउरोटीको ऐतिहासिक यात्रा” पुस्तक पढ्दा बाल्यकालमा त्यसै ट्राइसाइकलमा ल्याइएको पाउरोटी किनिदिन बाः–आमालाई अनुरोध गरेको झल्यांस्स सम्झनामा आयो। हलुवा–स्वारी, जेरी-माल्पुवा, ग्वारामरि जस्ता परम्परागत खानेकुरा खाएर अघाएका हामी केटाकेटीलाई पाउरोटी नयाँ स्वादसहितको आकर्षण थियो। सबैभन्दा त पाउरोटी चियामा चोपेर खान मज्जा आउँदथ्यो। पुस्तक पढ्दै जाँदा थाहा पाइयो, हामीलाई पाउरोटी बेच्न राखेर ल्याइने ट्राइसाइकल त भारतीय शहर कोलकताबाट झिकाइएको रहेछ । त्यस्ता ट्राइसाइकलहरु कहिलेकाहीँ इन्द्रचोक र असनतिर पुग्दा पनि देखिन्थ्यो। पछिल्ला दिनहरुमा नयाँ सडक र रणमुक्तेश्वरतिर पनि देख्न पाइयो।
हाम्रा एकजना ठूलाबाः कृष्ण भक्त रञ्जितकारको घर कमलपोखरीको अगाडि थियो। उहाँकोमा दशैँको टिका थाप्न हाम्रा बाःले लैजाँदा पहिलो पटक कमलपोखरी नपुग्दैको दोबाटोमै रहेको कृष्ण पाउरोटी उत्पादन हुने घर र पसलको साइन बोर्ड देखेको सम्झिन्छु। त्यसपछि पशुपति जाँदा वा “जयनेपाल” र पछि बनाइएको “कुमारी” सिनेमा हलतिर फिल्म हेर्न जाँदा पनि कमलपोखरीको बाटो हुँदै गइन्थ्यो। कहिलेकाहीँ किनेर पनि खाइन्थ्यो। जेहोस्, कृष्ण पाउरोटी हाम्रो बाल्य तथा नव–युवाकालमा सर्वाधिक प्रिय आधुनिक खानेकुरा थियो। पुस्तकमा उल्लेखित चिया खाने पसलबारे जानकारी भएन, अर्थात् पसलको भित्रै पुगेर कहिल्यै खाइएन।

त्यसपछिका दिनहरुमा रेडियो नेपालमा चर्चित विज्ञापनको जिङ्गल बज्न थाल्यो।
“भैगो साथी खेल्दिनँ अब
भोक पनि लाग्यो, म त जान्छु
खाजा खान्छु, पाउरोटी, कृष्ण पाउरोटी
कृष्ण कृष्ण कृष्ण कृष्ण, कृष्ण पाउरोटी
कृष्ण कृष्ण कृष्ण कृष्ण, कृष्ण पाउरोटी…”।
यस बोलले कृष्ण पाउरोटी त्यस समय चर्चित बनेको थियो। उक्त जिङ्गल वास्तवमै नेपाली मौलिक विज्ञापनको नमूना थियो। त्यसका लागि ५० वर्षपछि विज्ञापन सङ्घले त्यसका सर्जक घनश्याम राजकर्णिकारलाई सम्मान गरेको सन्दर्भ पुस्तकमा पढ्न पाउँदा मज्जा आयो।
८५ वर्षीय साहित्यका जगतमा खासगरी नियात्राकारका रुपमा चर्चित राजकर्णिकारका लेखन, सामाजिक गतिविधि साथै बौद्ध धर्म जगतमा सेवाकार्य सम्बन्धमा धेरै अघिदेखि पढ्दै र सुन्दै आएको हो। खासगरी राजकर्णिकार जाति समुदाय मल्लकालमै भारतको कन्नोजबाट आएर नेपालको राजपरिवारलाई मिठाई बनाउने सेवामा संलग्न भएको कथा मित्र पदम श्रेष्ठले “नेवार” पुस्तकमा लेखेको पढेको थिएँ। त्यसलाई अनुवाद गर्ने काममा संलग्न हुँदा नै मेरो मस्तिष्कमा जिज्ञासा थियो कि भारतीय भूमिबाट आएको एउटा परिवारको वंशज कसरी पाटनको नेवाः समाजमा घुलमिल भएर बौद्ध धर्मावलम्बी बन्यो ? र कसरी तिनीहरु काठमाडौँको उदाय् (उदास) समुदायको अङ्ग जस्तै बन्न पुग्यो ? यही जिज्ञासा मैले आफ्नो जातिय गौरवको बिँडो थाम्दै आएका लेखक राजकर्णिकारसितको भेटमा २०८३ साल भाद्रको मध्यतिर उहाँहरुको पुर्ख्यौली कुलदेवतास्थल पाटनको हौगः बहाःमा उहाँकै निम्तामा पुग्दा सोध्ने अवसर पाएँ। उक्त भेटका लागि मित्र सागर पाण्डेले समय मिलाउनु भएको थियो। त्यसबेला उहाँले आफ्ना पुर्खा नितान्त व्यवसायका लागि नेपाल प्रवेश गरेको र त्यसबखत धर्मबारे भन्न सकिने अवस्था नरहेको बताउनु भयो । त्यसबाट के अनुमान लगाउन सकिन्छ भने, राजकर्णिकार परिवार नेपाल प्रवेश गर्दा बौद्ध धर्मावलम्बी थिएनन्। ललितपुर जस्तो बौद्ध धर्मावलम्बीहरुको बाक्लो बसोबास रहेको नगरमा बस्दाबस्दै उहाँहरु बौद्ध धर्म र संस्कृतिबाट प्रभावित भएर बौद्ध उपासक हुनुभएको हुनसक्दछ। पुस्तकमा लेखकका पिता कृष्ण बहादुर राजकर्णिकारले २००९ सालतिर पाटनको हौगः बहालस्थित कुलघरमा ९–१० महिना अनेकौँ दुःख–कष्ट खेप्दै नेपालकै पहिलो नमूना आराम गरिरहेका बुद्धमूर्ति बनाउन लगाउनु भयो। साथमा धर्मधातु चैत्यको पनि स्थापना गराउनु भयो। अहिलेसम्म त्यस मूर्ति र चैत्य रहेको स्थानको संरक्षणमा लेखकले जिम्मेवारी निभाउँदै आउनुभएको पुस्तकमा उल्लेख छ। हामी पुग्दा त्यहाँको कुलदेवता रहेको मूल घर ललितपुर महानगरपालिका साथै अन्य निकायहरुको सहयोगमा पुनर्निर्माण हुँदै गरेकोबारे उहाँले नै विस्तृतमा जानकारी गराउनु भयो।

२०५७ सालमै “हिमाल” खबर पत्रिकाले “सयवर्षका १०१ नेपाली” शीर्षकमा कृष्ण बहादुर राजकर्णिकारका बारेमा संक्षिप्त परिचय प्रकाशित गर्दा पढ्न पाएको थिएँ। १०१ पात्र मध्ये केही पात्रबारे ममा अत्यन्तै गहिरो रुची रहेको थियो। त्यस मध्ये कृष्ण पाउरोटीका संस्थापकबारे चासो नहुने त कुरै भएन। पाउरोटीका बारेमा तत्कालीन समाजमा चलेका विभिन्न प्रकारका हल्लाबारे लेखकले पुस्तकमा स्पष्ट पार्नुभएको छ। बाल्यकालमै सुन्दै खाँदै हुर्कँदाको “खुट्टाले पिठो मुछेर पाउरोटी बनाउने” कुरा गलत रहेछ भनेर स्पष्ट हुन पाएँ। पाउरोटीलाई धेरै बल लगाएर पिठो मुछ्नुपर्ने हुँदा भारतमा रबरको बूट लगाएर मुछ्ने गरिन्थ्यो। तर कृष्ण बहादुर धार्मिक विचारका भएको हुँदा खानुपर्ने पाउरोटीलाई हातैले मुछ्न लगाएको कुरा थाहा भयो।
कृष्ण पाउरोटी भण्डारको शुरुवातदेखि संघर्ष र षडयन्त्रका अनेक गाथा साथै उतार–चढावका वर्णन पढ्न पाइन्छ। जुन निकै कौतुहलपूर्ण र चाखलाग्दो छ। कृष्ण बहादुरले कलकत्ताबाट पाउरोटी बनाउने विधि मात्र सिकेर आएका थिए, पैसा कमाएर ल्याएका थिएनन्। घरमा आर्थिक दुरावस्था भएर लगानी गर्ने रकम नहुँदा कृष्ण बहादुर चिन्तित भइरहन्थे।

आफ्ना श्रीमान्को मर्म थाहा पाएकी उनकी धर्मपत्नी प्राणमायाले आफ्नै गरगहना बन्धकी राखेर २६ सय रुपियाँको लगानीबाट कृष्ण पाउरोटीको व्यवसाय २००५ सालमा स्थापना गराएको ऐतिहासिक कुरा पनि थाहा भयो।
ललितपुरको हौगःबहाःमा कुल देवता रहेका राजकर्णिकारहरुका केही परिवार काठमाडौँमा पनि बसोबास गर्दछन् र हलुवाई मिठाई बनाउने काम नै गर्दै आएका छन्। त्यसकारण राजकर्णिकारहरुको पुस्तैनी काम नै मिठाई बनाउने हो भन्ने कुरामा द्विविधा छैन।
पुस्तकमा मेरै पुर्खाले गर्दै आएको कपडा रङ्गाउने पेशा र व्यवसायसम्बन्धी एउटा प्रसङ्ग उल्लेख गर्नुभएकोमा लेखकप्रति हृदयदेखि कृतज्ञ छु। कमलपोखरीको पर्यायवाचकका रुपमा कृष्ण पाउरोटीका साथमा आफ्ना गुरु डा. भोजराज प्याकुर्यालले सञ्चालन गर्नुभएको “प्रभात कम्पनी” बारे केही हरफमा “रङ्गाई–छिपाई गर्ने नेपालको पहिलो कारखाना” भनेर उल्लेख गर्नुभएको छ। तर “कारखाना” को परिभाषाभित्र सो “कम्पनी” कसरी पहिलो भयो भनेर उल्लेख नहुँदा पाठकमा भ्रम श्रृजना हुन सक्दछ। वास्तवमा थानका थान कपडा ल्याएर रङ्गाई–छिपाई गर्ने काम हाम्रा पुर्खा साथै अन्य हाम्रै टोल चिकंमूदेखि मजिपाः हुँदै जोशीदेवलसम्मका केही परिवारले परम्परागत रुपमै गर्दै आएको हो, जुन ०४० सालको दशकसम्म अस्तित्वमा रह्यो। त्यस्तो काम गर्ने हामी “छिपा” अर्थात् रञ्जितकार जातिको पुस्तैनी पेशा नै हो। तसर्थ पुस्तकमा कमलपोखरीको “प्रभात कम्पनी” लाई लेखकले “पहिलो” भनेर उल्लेख गर्नु त्रुटी हुनगएको हो कि ? भन्ने प्रश्नमा लेखकले तात्कालिन समयमा आफूले कमलपोखरीमा सुनेको आधारमा लेखेको बताउनु भयो। यस तथ्यबाट नेपालमा कपडा रङ्गाई–छिपाई गर्ने काममा एकजना गैर नेवाः उद्यमी असफल भइसकेको तथ्य थाहा पाउन सकिन्छ।

आफू पत्र–पत्रिकामा समाचार लेखन गर्दै आएको कारण पनि पुस्तकका लेखकले नेपालबाट प्रकाशित हुँदै आएका विभिन्न पत्र–पत्रिकाबारे गर्नुभएको टिप्पणीबारे केही लेख्नैपर्ने ठानेको छु। पुस्तकमा उहाँले डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले काठमाडौँका विभिन्न स्थानमा गरेको सडक विस्तारका क्रममा जनताका घरहरु भत्काउँदाको अवस्थाबारे लेख्दा “आफूले सामान हटाउन मात्र एकदिनको समय दिएर आफ्नै घर भत्काउन अनुरोध गरेको” कुरा कुनै निजी सञ्चार माध्यमले महत्व नदिएको, तर सरकारी मुखपत्र “गोरखापत्र” ले कुनै आशय नबिगारिकनै प्रकाशित गरिदिएकोमा धन्यवाद दिँदै सन्तोष व्यक्त गर्नुभएको छ। यसबारेमा लेख्नुपर्दा नेपालमा सडक विस्तारका नाममा गैर न्यायिक ढङ्गबाट जनताका निजी सम्पत्ति हडप्ने योजनाकार तात्कालिन काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीका संरक्षक डा. भट्टराईलाई पछिल्ला दिनमा त्यस बापत नेपाली जनमतले दण्ड दिइसकेको घाम जस्तै छर्लङ्ग छ। घनश्याम राजकर्णिकार जस्ता हज्जारौँ पीडितहरुले दिएका श्रापले काठमाडौँ उपत्यकाका उर्वरा भूमि हडपेका भू–माफियाहरु तत्कालका लागि शक्तिशाली जस्ता देखिएपनि वास्तवमा उनीहरुको पतनको दिन शुरु भैसकेको पनि देखिँदैछ।
अन्त्यमा,२०८० श्रावण ६ गतेका दिन “सिद्धिश्वरमान–अक्षलोक साहित्यिक केन्द्र” द्वारा काठमाडौँको राष्ट्रिय नाचघरमा आयोजित सम्मान कार्यक्रममा “उत्कृष्ट नियात्रा साधक सम्मान” घनश्याम राजकर्णिकारलाई समर्पण गरिँदा एउटै लहरमा “उत्कृष्ट सञ्चार साधक सम्मान” साथ म समेत हामी एकै लहरमा अन्य थुप्रै साधकहरुकासाथ उभिएका थियौँ । आदरणीय उद्यमि, लेखक तथा समाजसेवी घनश्याम राजकर्णिकारको सु–स्वस्थता र दीर्घायु्को कामना गर्दै भविष्यमा उहाँबाट अन्य गहकिला कृतिहरु पनि पढ्न पाउने आशा लिएको छु । साधुवाद ।



