काठमाडौँ : आइतबार साँझ पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पुत्र प्रकाश दाहालले फेसबुकमा एउटा फोटो पोस्ट गरे। फोटोमा प्रचण्ड लड्डुको एउटा प्याकेट बाँड्दै छन् भने हिजोमात्रै मोहन वैद्यलाई एक्ल्याएर आफूले नेतृत्व लिएको घोषणा गरेका रामबहादुर थापा ‘बादल’ लड्डु खान ‘आँ’ गरिरहेका छन्।
त्यसैगरी फोटोमा पम्फा भुषाल र मणि थापा पनि देखिन्छन्। प्रकाशले फोटोसँगै लेखेका छन्- ‘पार्टी एकताले अन्तिम रुप लिए पश्चात् यसको खुशीमा मिठाई साटासाट गर्दै। सबैलाई बधाईका साथै शुभकामना।’
विभिन्न चार माओवादी दलहरु एक हुनका लागि शनिबार १३ बुँदे साझा सहमतिमा हस्ताक्षर भएको थियो।
एमाओवादीसँग एकता गर्ने कि नगर्ने भन्ने विषयमा विवाद भएपछि मोहन वैद्यलाई एक्ल्याएर रामबहादुर थापा ‘बादल’को नेतृत्वमा क्रान्तिकारी माओवादी पार्टीको केन्द्रीय समिति पुनगर्ठन गरी यो सहमतिमा हस्ताक्षर गरिएको हो।
प्रचण्ड नेतृत्वको एमाओवादी, बादल नेतृत्वको क्रान्तिकारी माओवादी, मातृका यादव नेतृत्वको माओवादी र मणि थापा नेतृत्वको माओवादीबीच जेठ ५ गते एकता गर्ने तयारी छ।
वैद्यले भने बादलले पार्टी फुटाएपछि ६ पेजको वक्तव्य निकाल्दै ‘हाम्रो पार्टीले यस गुटलाई नवसंशोधनवादपरस्त पुच्छर प्रवृत्तिमा आधारित अवसरवादी गुटका रूपमा लिएको छ’ भनेका छन्।



