देश टुक्राउने अभिब्यक्ति दिनेलाई छाडदैनौं– चुरे भावर


timthumbचुरे भावर राष्ट्रिय एकता पार्टीले राष्ट्रिय स्वभामिना, स्वाधिनता र राष्ट्रियताका बिरुद्ध उभिने जो सुकैको प्रतिकार गर्ने जनाएको छ।

काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो पार्टीले देश टुक्राउने अभिब्यक्ति दिने जस्ता कार्य तत्काल बन्द नगरे त्यसको प्रतिवाद गर्ने जनाएको हो।

सो पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले नाकाबन्दी र भूकम्पको मारमा परेका जनतालाई थप दुःख दिने गरी बन्द र हडताल गरे त्यसको बिरुद्ध उभिने पनि जनाएको छ। ‘यहाँ भारत टुक्रेर तीनवटा भयो, जर्मन टुक्रेर यतिवटा भयो भनेर देश टुक्राउन के गार्‍हो छ भन्ने खालको अभिब्यक्ति सुनिन थालेका छन्,’ न्यौपानेले भने, ‘यो देश टुक्राउने अधिकार कस्लाई छ, को हो त्यो देश टुक्राउछौं भनेर धम्की दिने, त्यसको प्रतिवाद चुरे भावँरले गर्नेछ।’

राजनीतिक माग राखेर गरिने शान्तिपूर्ण आन्दोलनलाई समर्थन जनाउँदै उक्त पार्टीका अध्यक्ष न्यौपानेले देश र जनता बिरुद्ध हुने जुनसुकै आन्दोलनको प्रतिवाद गर्ने जनाएका छन्।

संघीय गठबन्धनका संयोजक समेत रहेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिकार नदिएमा त्यस्तो अवस्था आउने सक्ने भन्दै केही दिन अघि चेतावनी दिएका थिए। त्यसपछि चुरे भावरका अध्यक्ष न्यौपानेले उनको नाम नै नलिई उक्त चेतावनी दिएका हुन्।

सरकारले आफनो पार्टीसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै उक्त पार्टीले आपत्ति जनाएको छ। चुरे भावर प्रदेश दिने भनेर राज्यले सम्झौता गरे पनि त्यसप्रति सरकार गम्भिर नभएकोमा उक्त पार्टीले आपत्ति जनाएको छ। उक्त पार्टीले आफना १४ बुदेँ माग प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाए पनि वार्ताका लागि आब्हान नगरेकोमा असन्तुष्ट ब्यक्त गरेको छ।

गठबन्धनले गरिरहेको आन्दोलन देश र जनताको हितमा नभएको पनि उक्त पार्टीको ठहर छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराई–मधेसमा राजमार्ग र नाका अबरोध गर्ने कार्यको प्रतिवाद गरेको उक्त पार्टीले काठमाडौंमा पनि त्यस्ता कार्य गरे प्रतिवाद गर्ने चेतावनी दिएको छ ।

यसमा तपाइको मत