काठमाडौं- बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आइतबार भव्य समारोहबीच दशरथ रंगशालामा औपचारिक रूपमा पार्टी घोषणा गर्ने भएको छ। घोषणा समारोहमा ७५ जिल्ला र २४ देशबाट आउने प्रतिनिधिले सहभागिता जनाउने प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए। त्यसका लागि प्रतिनिधि काठमाडौं आउने क्रम सुरु भइसकेको छ। सत्तारुढ दलसहित २५ देशका राजदूतलाई समेत निम्तो गरिएको उक्त पार्टीले जनाएको छ। कुपोन्डल, बबरमहल, कालिमाटी र रत्नपार्कबाट सुरु हुने पदर्शन अपराह्न १२ बजेभित्र रंगाशालामा प्रवेश गरिसक्नेछन्।‘अबको निकास आर्थिक विकास’ भन्ने नारासहित भट्टराईले पत्रपत्रिका, टिभी र युट्युबबाट आफ्नो योजना प्रचार गरिरहेका छन्। एक लाखभन्दा बढीलाई एकैपटक संस्थापक सदस्य बनाउने योजना रहेको पनि नयाँ शक्तिले जनाएको छ।
यसैबीच भट्टराईले नागरिक शोस”ग कुरा गर्दै नीति र कार्यक्रम लिएर जनताबीच जाने र जनअभिमत प्राप्त गरेर स्थानीय, प्रादेशिक र केन्द्रीय निर्वाचनमा श्रेष्ठता हासिल गर्ने सोच रहेको बताएका छन्। ‘श्रेष्ठता हासिल गरेपछि देशको नेतृत्व लिने हाम्रो सोच छ,’ उनले भनेका छन्।
भट्टराईले जनताको विश्वास जितेपछि राजनीतिक रुपमा संविधान संशोधन गरेर अपूर्ण रहेका अधिकारका कुरालाई पूर्णता दिइने बताए। ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमार्फत लोकतन्त्रलाई सुहाउ”दो ढंगले विकास गर्छौं,’ उनले भने, ‘आगामी निर्वाचन सम्पन्न हुने बेलासम्म यो लक्ष्य प्राप्त गर्ने योजना छ।’
भट्टराईले थप योजना सुनाउँदै भनेका छन्, ‘आर्थिक विकास र समृद्धिका लागि सात, पन्ध्र र पच्चीस वर्षीय कार्ययोजना बनाएर लागू गर्न प्रयत्न गर्छौं।’



