बिराटनगर । नेपाली कांग्रेस
का महामन्त्री कृष्णप्रसाद सिटौला लामो समयदेखि कोइराला परिवारका विश्वासपात्र रहँदै आएका थिए । तर, अब कोइराला परिवारसँग सिटौलाको मोह भंग भएको छ । आगामी महाधिवेशनमा सिटौला आफैं सभापतिमा लड्ने तयारीमा लागेका छन् ।
‘सिटौलाजीले सुशील कोइरालाबाट अब कांग्रेसको नेतृत्व हुन नसक्ने निश्कर्ष निकाल्नुभएको छ,’ कांग्रेसका एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग भने, ‘उहाँले आफ्ना निकटस्थ नेताहरुसँग पार्टी सभापतिमा आफूलाई समर्थन गर्न र कांग्रेसलाई बचाउन आग्रह गर्नुभएको छ ।’
शनिबार बिराटनगरमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिटौलाले नेपाली कांग्रेसलाई देशको नेतृत्व गर्न सक्ने पार्टी बनाउने हो भने अब नेतृत्व परिवर्तन आवश्यक रहेको बताए ।
महामन्त्री सिटौलाले भने- ‘नेपाली कांग्रेसलाई मुलुकको नेतृत्वदायी पार्टी बनाउन नेतृत्व परिर्वतन आवश्य छ ।’
महाधिवेशनपछि कांग्रेस नयाँ कार्यदिशा र योजनासहित अगाडि बढ्न उनले दाबीसमेत गरे ।
महाधिवेशनमा सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेलले सभापतिका लागि दाबा गरिरहेका बेला पत्रकारहरुले सिटौलालाई सोधेका थिए, तपाई यसपटक कुन पदमा उमेद्वार बन्नुहुन्छ ? जवाफमा सिटौलाले अहिले कुनै निर्णय नलिइसकेको बताए ।
महामन्त्री सिटौलाले १३ औं महाधिवेशनमा आफुले कुन पदमा उठ्ने भन्ने तय गरिनसकेको भन्दै आफ्नो भित्री इच्छालाई लुकाउने प्रयास गरे पनि आफू निकटस्थसँग कांग्रेसलाई बचाउने भए आफूलाई सघाउन आग्रह गर्न थालेको स्रोत बताउँछ ।
उपसभापति रामचन्द्र पौडेलले समेत सभापतिमा लड्ने घोषणा गरिरहेका बेला महामन्त्री सिटौलाले पार्टीका जिल्ला अधिवेशनहरु पूरा नभएसम्म कसैले कुनै पदमा आफु उठ्छु भन्दैमा नपत्याउन आग्रह गरेका छन् ।
सुशीललाई नसघाउने स्पष्ट, देउवालाई सघाउने अस्पष्ट
महामन्त्री सिटौलाले सुशील कोइरालाको क्याम्पबाट आफू बाहिरिएको सार्वजनिक अभिव्यक्तिबाटै स्पष्ट पारिसकेका छन् । आगामी महाधिवेशनमा सिटौलाले कोइरालालाई नसघाउने स्पष्ट भइसकेको छ ।
कोइराला परिवारका अन्य नेताहरु सुजाता, शेखर र शशांकहरुसँग पनि सिटौलाको सम्बन्ध राम्रो छैन । यो अवस्थामा सिटौलाले पार्टी सभापतिमा शेरबहादुर देउवालाई सघाउने देउवा पक्षका नेताहरुको आशा छ । तर, सिटौलाले आफ्ना निकटस्थहरुलाई भन्ने गरेका छन् कि अब नेपाली कांग्रेसको भविश्य सुशील, शेरबहादुर र रामचन्द्र तीनै नेताबाट सम्भव छैन । कांग्रेसमा अब नयाँ पुस्ता अगाडि आउनुपर्छ ।
धेरैले पत्याएका छैनन्
महामन्त्री सिटौलाले पार्टी सभापतिमा चुनाव लड्ने विषयमा कांग्रेसभित्रैका धेरैले पत्याएका छैनन् ।
यसबारे कांग्रेसका अर्का एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग भने-‘उहाँले सुशील दाइ नउठे म आफैं उठ्छु भनिरहरनुभएको छ, तर, मलाई लाग्दैन उहाँ सभापतिमा उठ्नुहुन्छ । भन्नका लागि त धेरैले भनिहाल्छन् नि ।’



