काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पको पूर्व सूचना दिने प्रविधिको जडान गर्न लागेको बताएका छन्। भूकम्प पुनर्निर्माण महाअभियानको ललितपुरको बुङमतीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले १२ देखि २२ सेकेन्डअघि सूचना दिने प्रविधि जडान गर्न लागेको बताएका हुन्।
‘भूकम्प आउनुभन्दा १२ देखि २२ सेकेन्ड अघि सूचना दिने प्रविधि जडान गर्ने छौं। १२ सेकेन्ड अघि थाहा भयो भने सुरक्षित र खुलास्थितमा पुग्न सक्छौं। २२ सेकेन्ड भयो भने झनै आरामसँग सुरक्षित स्थानमा पुग्न सकिन्छं,’ ओलीले भने, ‘त्यो प्रविधि हामी अहिले जडान गर्दै छौं।’
उनले गरिबी र पछौटेपनको कारण भूकम्पले धेरै क्षति पुर्याएको भन्दै भूकम्पको धक्का नपुगेको स्थानका घरहरु समेत प्रतिस्थापना गर्न आवश्यक रहेको बताए। ‘भूकम्पको धक्का नपरेर मात्रै ती बाँचेका हुन्,’ ओलीले भने, ‘हाम्रो गरिबी र पछौटेपनको कारण विगतमा बनी सकेको संरचनालाई परिवर्तन सकेनौ। त्यसले हामीलाई बढी क्षति पुर्यायो।
ओलीले बुङमतीमा भूकम्प पुनर्निर्माण महाअभियानको दिउँसो २ बजेर २४ मिनेटमा उद्घाटन गरेका थिए। ८२ वर्षअघि अर्थात १९९० माघ २ गते दिँउसो २ बजेर २४ मिनेटमा नेपालमा महाभूकम्प गएको थियो