फलेवास , माघ १८ गते। गतिलो आम्दानी गर्ने आशामा आलु र कोदोखेती छाडेर भुइँस्याउको व्यावसायिक खेती सुरु गरेका यहाँका कृषक समस्यामा परेका छन् ।उत्पादित भुइँस्याउले उचित मूल्य र बजार नपाउँदा उत्तरी पर्वतको लेखफाँट, शालिजा, क्याङलगायतका गाविसका कृषक चिन्तित बनेका हुन् ।
लाखौँ मूल्य बराबरको भुइँस्याउ ग्राहक नआउँदा कुहिन थालेको कृषकले गुनासो गरेका छन् । आलु उत्पादनको प्रमुख पकेट क्षेत्र मानिने पर्वतको उत्तरी क्षेत्रका कृषक विगत तीन वर्षदेखि व्यावसायिक रुपमा भुइँस्याउ ९ग्राउन्ड एप्पल० खेतीतर्फ आकर्षित बनेका थिए ।
आलुको भन्दा पाँच गुणा बढी उत्पादन हुने र राम्रो बजार मूल्यसमेत पाउने आशामा आलु छाडेर भुइँस्याउको खेतीमा लागेका कृषकले रु एक हजार प्रतिकिलोग्रामको दरले बीउ खरिद गरेर खेती गरेका थिए । सहजै बिक्री हुने अनुमानमा ठूलो क्षेत्रफलमा खेती गरेकाहरु टाउकोमा हात समाएर बस्न बाध्य भएका छन् ।
जिल्लाको उत्तरमा पर्ने लेकफाँट, शालिजा, बनौ, क्याङ, भुकलगायतका गाविसमा विगत तीन वर्षदेखि भुइँस्याउको व्यावसायिक खेती थालिएको थियो ।पहिलो वर्षमा लगाएको खेतीबाट राम्रो आम्दानी गरेको तर गत वर्षदेखि उचित मूल्य पाउन छाडेको कृषकको भनाइ छ । पहिलो वर्ष कोरियामा समेत निकासी भएकाले रामै्र आम्दानी भएको थियो ।
भुइँस्याउ विशेषगरी पाँचतारे होटलमा बढी माग हुने गरेको छ भने यसबाट वाइनसमेत बनाउन सकिन्छ । “पहिलो वर्ष परीक्षणको रुपमा लगाउँदा राम्रो आम्दानी भएको थियो”, लेकफाँटका कृषक कृष्णबहादुर रञ्तिजाले भन्नुभयो – “यो वर्ष अहिलेसम्म व्यवसायी खरिद गर्न आएका छैनन् ।”अहिले घर घरमा भुइँस्याउ खनेर थुपारेको भए पनि बजार नपाउँदा समस्या भएको उहाँले बताउनुभयो । सामान्यतः चिसो ठाउँमा बढी खेती हुने भएकाले माथिल्लो भागका अधिकांश गाविसमा यसको व्यावसायिक उत्पादन थालिएको हो ।
अहिले उत्तरी गाविसका प्रायःजसो सबै घरधुरीले ५० देखि पाँच हजार बोटसम्म लगाएको स्थानीय हरिमाया पुनले बताउनुभयो । सुरुमा काठमाडौँका तारे होटल र वाइन बनाउने कम्पनीहरुबाट माग आएपछि यसको व्यावसायिक खेती सुरु भए पनि अहिले कतैबाट माग नआएको कृषक रञ्तिजाले बताउनुभयो । “यो औषधि र नगदेबालीका रुपमा प्रयोग गर्न सकिने भएकाले व्यावसायिक रुपमा थालेका हौँ, उहाँले भन्नुभयो – तर यसको बजार राम्रोसँग पाउन सकेनौँ ।”
पोखरा, काठमाडौँलगायतका क्षेत्रमा प्रचारप्रसारको अभाव भएकाले पनि व्यापारीहरु खरिद गर्नका लागि नआएको उहाँले बताउनुभयो । भुइँस्याउबाट सलाद, जुस र अन्य परिकार हुन्छन् भने वाइन बनाउनका लागि सबैभन्दा बढी प्रयोग हुने गर्दछ । यसलाई पखालेर काँचै खाँदासमेत स्वादिष्ट हुन्छ । पछिल्लो समयमा गाउँमै यसबाट रक्सी बनाउन थालिएको छ । यसको सेवनले जोर्नी दुखेको र मधुमेह रोगलाई समेत निको पार्ने भएकाले अधिकांश घरधुरीले आफ्नै प्रयोजनका लागि पनि खेती गरेको बताउँछन् ।
गएको वर्ष पर्वतमा १५ टन भुइँस्याउ उत्पादन भएको थियो । गत वर्ष यहाँ उत्पादित भुइँस्याउ कोरिया निकासी भएको कृषक अमबहादुर रोकाले बताउनुभयो । “कोरियाबाटै माग आएकाले यस वर्ष नेपालमा भन्दा विदेशमा नै बिक्री ग¥यौँ” उहाँले भन्नुभयो, “‘स्वदेशी र विदेशी बजारमा राम्रो माग भएकाले यसको खेती विस्तारमा जुटे पनि यस वर्ष माग नआएकाले समस्या परेको छ ।”
भुइँस्याउ एउटा बोटमा नौ केजीसम्म उत्पादन हुने र बजार मूल्यसमेत राम्रो भएकाले कमाइसमेत राम्रो हुने कृषक बताउँछन् । अहिले प्रतिकिलो रु ५० मा बिक्री हुँदै आएको कृषकले जानकारी दिएका छन्



