पूँजीवाद, परनिर्भरता र नेपाली युवाको दायित्व : माननीय रामप्रसाद ढुङ्गाना

- रामप्रसाद ढुङ्गाना


पूँजीवादमा सामन्त र दलालहरूबाट इमान, दया, मर्यादा तथा मानवीय धर्म र निष्ठाको कुनै मूल्य हुँदैन। पुजीवादी चिन्तन बोकेका देशहरू अन्य मुलुकको उन्नति देख्न सक्दैनन्। भेनेजुयला र इरानको हालको अवस्थाले पूँजीको अगाडि मानवीय मूल्य मान्यता गौण बन्ने गरेको यथार्थ प्रष्ट पार्छ। विश्वका विकसित तथा ठूला मालिक देशहरूले अन्य मुलुकका मूल्यवान वस्तुहरू नियन्त्रणमा लिन र आफ्ना स्वार्थ लाद्न विभिन्न एजेन्ट वा प्रतिनिधिहरू तयार पार्ने गरेका छन्। नेपालको सन्दर्भमा पनि ५० देखि १०० वर्षको सामाजिक इतिहास हेर्दा, जीवनभर दाससरह काम गराएका मानिसहरूलाई समेत शारीरिक अवस्था कमजोर भएपछि घरबाट निकाल्ने प्रवृत्ति जस्तै आज साना र थोरै जनसङ्ख्या भएका देशका खनिज तथा जलस्रोत हात पार्न विदेशी राष्ट्रहरूबाट विभिन्न षड्यन्त्र र चलखेल हुने गरेको आभास हुन्छ।

यस्तो जटिल परिस्थितिमा देशप्रतिको जिम्मेवारी र युवापुस्ताको भूमिका गम्भीर समीक्षाको विषय बनेको छ। विभिन्न पार्टीमा आबद्ध तथा बाहिर रहेका नयाँ पुस्ताका युवाहरूले देशलाई के कति योगदान गरेका छन्, त्यो सबैको सामु छ। आज देशको कुल जनसङ्ख्यामध्ये करिब ९९ लाख युवाहरू उच्च शिक्षाको प्रमाणपत्र बोकेर विभिन्न देशमा जसोसुकै काम गर्न विदेश पलायन हुन बाध्य हुनुले हाम्रो देशको दयनीय अवस्था छर्लङ्ग पार्छ।

यद्यपि, कार्ल मार्क्स, फ्रेडरिक एंगेल्स, लेनिन, स्तालिन र माओले परिपक्व उमेरमा प्रतिपादन गरेको वैज्ञानिक समाजवादको बाटो र दर्शन आज पनि उत्तिकै सान्दर्भिक छ। उनीहरूभन्दा उन्नत विचार र दर्शन दिन नसकेको कुरा विश्वसामु स्पष्ट छ। मार्क्स र एंगेल्सले गरेको आर्थिक, सामाजिक तथा धनी-गरिबबीचको विश्लेषण र दलाल एकल पूँजीवादविरुद्धको सिद्धान्तलाई आजसम्म पनि कसैले खण्डन गर्न सकेको छैन। तसर्थ, विदेशी चलखेल र पूँजीवादी शोषणविरुद्ध सचेत बन्दै देशको माटोमा केही गर्ने दायित्व आजको नयाँ पुस्ताको काँधमा आएको छ।

— नुवाकोट

यसमा तपाइको मत