माघ । उत्पादन बढाउन माटो राम्रो हुनुपर्छ । माटो राम्रो हुन अम्लीयपन, क्षारीयपन, नाइट्रोजन, फस्फोरस, पोटास र प्राङ्गारिक पदार्थ उपयुक्त मात्रामा हुनुपर्छ ।
माटोमा पाइने छवटा पदार्थ उचित मात्रामा भयो भने उक्त माटोमा उत्पादनदर उच्च हुने गर्दछ । तर, झापा र इलामका किसानमा अझैं पनि माटोको परीक्षण गरी अपुग पदार्थ हालेर खेती गर्नुपर्छ भन्ने चेतना आउन सकेको छैन् । माटो परीक्षका लागि मेची अञ्चलका कृषकलाई लक्षित गरी २०५८ सालबाट नेपाल सरकार कृषि विकास मन्त्रमलय कृषि विभाग माटो व्यवस्थापन निर्देशनालयले जिल्लाको सुरुङ्गामा माटो परीक्षण प्रयोगशाला स्थापना गरिएको थियो । अहिले त्यहाँ माटो परीक्षणका लागि कृषक नै नआउने कार्यालयकी प्राविधिक सहायक सीता खरेलले बताउनुभयो ।
“चेतना नभएका कारण माटो परीक्षण गराउन आउदैनन्” उहाँले भन्नुभयो । गत आवमा माटो परीक्षणको लक्ष्य नपुग्दा कृषि विकास कार्यालय झापा र इलामसँग सहकार्य गर्दै माटो परीक्षण शिविर सञ्चालन गर्नु परेको थियो । गत आवमा जिल्लाका ६ स्थान र इलामको दुई ठाउँमा माटो परीक्षण शिविर सञ्चालन गरिएको अर्की प्राविधिक सहायक अञ्जु बुढाथोकीले बताउनुभयो । गतवर्ष झापाका ६०६ र इलामका ३०३ जना कृषकले मात्र माटो परीक्षण गराएका थिए ।
इलामबाट ८५ र झापाका १४० जना कृषकले मात्र वर्षभरीमा माटो परीक्षण गराएका छन् । गतवर्ष माटो व्यवस्थापन निर्देशनालय माटो परीक्षण प्रयोगशाला सुरुङ्गाले कृषि विकास कार्यालयको सहयोगमा बुधबारे, सुरुङ्गा, बाहुनडाँगी, चकचकी, गोलधाप र पुनः बुधबारेमा माटो परीक्षण शिविर सञ्चालन गरेको थियो । शविरमा बुधबारेका ५४, सुरुङ्गाका १५, बाहुनडाँगीका ६४, चकचकीका ५२, गोलधापका ५७ र बुधबारेका ६१ जना कृषकले मात्रै माटो परीक्षण गराएका थिए ।
इलामको नाम्सालिङमा १३५ र दानावारीका ८६ जना कृषकले माटो परीक्षण गराएका थिए । “बढ्दो रासायनिक मल र विषादिको प्रयोगका कारण माटोमा उर्वराशक्ति कम भए पनि कृषकले परीक्षण गराएर माटोको उपचार गर्दैनन्” प्राविधिक सहायक खरेलले भन्नुभयो । गुणस्तरीय माटोमा ६.६ देखि ७.५ पीएच, प्राङ्गारिक पदार्थ दुईदेखि ५ प्रतिशत, नाइट्रोजन ०.१ देखि ०.२२ प्रतिशत, फस्फोरस ३५ देखि ५५ किलो प्रतिहेक्टर र पोटास १११ देखि २८१ किलो प्रतिहेक्टर हुनुपर्छ । तर कार्यालयले गरेको माटो परीक्षणबाट झापामा अम्लियपन ३६ प्रतिशत, हल्का अम्लियपन ५५ प्रतिशत र तटस्थ माटो ८ प्रतिशत मात्रै पाइएको छ ।
खेती गर्नका लागि ६.५ देखि ७.५ पिएच भएको माटो मात्रै उपयुक्त हुन्छ । माटो परीक्षण गराउँदा ७.५ भन्दामाथि पिएच भेटिए त्यस्तो माटोमा क्षारीयपन बढी हुने र खेतीका लागि अनुपयुक्त हुने खरेलको भनाइ छ । इलाममा भने माटोको अम्लियपन ५४, हल्का अम्लियपन ४२ र तटस्थ माटो ३ प्रतिशत मात्र पाइएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । माटो परीक्षण गर्दा ७ पिएच सम्मलाई तटस्थ मानिएको र सात भन्दा तल भए अम्लिय र माथि गए छारिय हुने खरेलको भनाइ छ ।
चालु आवमा पनि उक्त कार्यालयले जिल्लाका विभिन्न स्थानमा माटो परीक्षण शिविर सञ्चालन गरेको छ । कार्यालयले यो वर्ष आयोजना गरेको शिविरमा शान्तिनगरका ८१, धरमपुरका ५४, शिवसतासीका ६५ र शरणामतिका ७८ जना कृषकले मात्रै माटो परीक्षण गराएका छन् । चेतना अभावका कारण माटो परीक्षणका लागि कृषक प्रयोगशाला आउने गरेका छैनन् । “माटो परीक्षण नगरी रासायनिक मल र विषादिको प्रयोगले माटो बिग्रन्छ र मर्छ भन्नेकुरा थोरै कृषकलाई मात्र थाहा छ” खरेलले भन्नुभयो ।
माटो कसरी बिग्रिन्छ ?
माटो बिग्रनुमा प्रमुख कारण रासायनिक मल र विषादीको अत्यधिक प्रयोग नै भएको नेपाल सरकार कृषि विकास मन्त्रालय कृषि विभाग माटो व्यवस्थापन निर्देशनालय सुरुङ्गाका प्रमुख हरिबहादुर भुजेलको भनाइ छ ।
झापा र इलाममा माटोमा पाइने पिएच घट्दै गएको छ भने क्षारीयपन बढ्दै गएको छ । बालीलाई चाहिने आवश्यक तत्व दिनप्रतिदिन माटोमा मर्दै गएका कारण यहाँको माटोमा क्षारीयपन बढ्दै गएको छ । कृषकले खेतमा हाल्नुपर्ने गोबर गुइँठा बनाएर बाल्ने र खेतमा खरानी हाल्ने प्रवृत्ति बढेकाले पनि माटो बिगारेको छ । तत्काल बढी उत्पादन लिने लोभले कृषकले बर्सेनि रासायनिक मल र विषादी अत्यधिक प्रयोग गर्दै आएका छन् ।
माटोलाई मर्न नदिन र उत्पादन बढाउन रासायनिक मलको प्रयोग घटाउने, प्राङ्गारिक मलको प्रयोग बढाउने, गड्यौला मल, फोहोर व्यवस्थापनबाट घरमै तयार हुनसक्ने कम्पोष्ट मल उत्पादन गर्ने, मलखाद र खेतबारीमा स्याउलाको प्रयोग बढाउने, भकारो व्यवस्थित गर्ने, नियमित रूपमा माटोको परीक्षण र परामर्श लिने काम गर्न कृषकलाई उहाँले आग्रह गर्नुभयो । सुरेन्द्र भण्डारी/रासस



