केही साताभित्रै माओवादी पार्टीहरुबीच एकीकरण हुने दाबी


काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही साताभित्रै माओवादी पार्टीहरुबीच एकीकरण हुने दाबी गरेका छन् ।prachanda

यद्यपि माओेवादीहरुलाई एकै ठाउँमा ल्याएर जनयुद्ध दिवस मनाउने आकांक्षा यो पटक पुरा नभएको उनले बताए । जनयुद्ध दिवसको अवसरमा शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले भने-‘केही हप्ताभित्रै यो प्रयास (एकता)ले मूर्त रुप लिनेछ ।’

आफू एउटै कम्युनिष्ट पार्टी बनाउन हिडेको तर, आफ्नै पार्टी विभाजित भएको भन्दै उनले दुखेसो पोखे । यद्यपि अब मोहन बैद्य, विप्लव, मातृका यादव र मणि थापाले पनि एकताको आहृवान गरेको भन्दै उनले एकताका लागि महिना कुर्नु नपर्ने बताए ।

एमाओवादी अध्यक्ष प्रचण्डले एमाओवादीलाई अबको दुई वर्षभित्र मुलुकको सबैभन्दा ठूलो पार्टी बनाएर देखाउने दाबी गरेका छन् । विगतका कमजोरी र टुटफुटका कारण पार्टी तेस्रो स्थानमा झरेको भन्दै एकीकरण, शुद्धिकरण र सुदृढीकरणको प्रक्रियाबाट पार्टीलाई पहिलो बनाउने बताए ।

यसमा तपाइको मत