गजल :सिस्नोपानी लगाएर लखेट्न छिट्टै आउनू

- पदम भण्डारी


पश्चातापले जलिरा’छु, भेट्न छिट्टै आउनू
मैले ठूलो भूल गरेछु, मेट्न छिट्टै आउनू

अप्ठ्यारोमा सहयोग गर्नुलाई स्वार्थ ठान्यौ
यही हो मौका सोझोपन लपेट्न छिट्टै आउनू

सोझो रूखलाई सबैभन्दा, पहिले काट्छ मान्छे
अचानोमा राख्छु घाँटी, रेट्न छिट्टै आउनू

साँचो कुरा भन्दा आरोप, ला’को हुन्छ भने
सिस्नोपानी लगाएर लखेट्न छिट्टै आउनू

काँध थाप्न नसके नि, मुखले राम–राम भन्दै
भीर खोज्ने गोरु हुँ घचेट्न छिट्टै आउनू ।

यसमा तपाइको मत