काठमाडौँ। काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेल आफूभन्दा सिनियर (वरिष्ठ) नेता हो भन्दै उनीसँग मिलेर पार्टी चलाउने बताएका छन् ।
रिपोर्टर्स क्लवको कार्यक्रममा शुक्रबार उनले भने, ‘मेरो कार्यकालका कसैलाई काखापाखा गरिने छैन। सबैलाई समेटेर म अगाडि बढ्छु। रामचन्द्र पौडेलजी मेरो पूरानो सिनियार साथी हो।’
अब आफू प्रधानमन्त्री नहुने घोषणा गरिसकेका देउवाले रामचन्द्रसँग धेरै दुःख गरेको अनुभव भएको उल्लेख गर्दै आफूले त्यसको मूल्यांकन गर्ने बताए। उनले भने ‘उहाँले धेरै दुःख पाउनु भएको छ। उहाँसँग लामो संघर्षको अनुभव छ।’ देउवाले भने ‘त्यसको मुल्याङकन हुन्छ। पार्टी पूर्ण एकताबद्ध भएर अघि बढ्छ । कुनै गुट र भागबण्डा हुँदैन।’
नेता देउवाले नेपालमा लोकतन्त्र स्थापनाका लागि २००७, २०४६ र २०६२÷६३ सालमा भएका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको ऐतिहासिक पार्टीको सभापतिको जिम्मेवारी सम्हाल्न पाएकामा आफूलाई अत्यन्त गर्व, सम्मानित र जिम्मेवारी बोधको महसुस गरेको बताउँदै उनले भने – “सबैलाई नमिलाउने हो भने केका लागि सभापति रु”
सभापति देउवाले भने– म पार्टीको सभापति हुँ । सबै नेता तथा कार्यकर्तालाई निर्धक्क भएर कुरा राख्ने अधिकार छ । सबैले गुनासो र अन्याय भएको कुरा राख्न पाउँछन् । कसैलाई पनि काखा र पाखा गर्दिनँ ।
उनले आफू सभापतिमा निर्वाचित नभई जिम्मेवारी पाएको भन्दै पार्टीलाई मिलाउने र एक बनाएर अघि बढाउने जिम्मेवारी आफ्नो भएको बताए। नेता देउवाले तीनपटक प्रधानमन्त्री भइसकेको स्मरण गर्दै उनले भने – भर्खरै पार्टी सभापति भएँ । मैले काँग्रेसबाट धेरै कुरा पाइसकें । अब पार्टीलाई एकीकृत गरेर लैजाने, मिलाउने, चुनौतीको सामना गर्ने मेरो काम हो । शान्ति र प्रजातन्त्रलाई बलियो तुल्याएर देशलाई समृद्धिको दिशामा लैजाने काममा सहयोग पुर्याउन सबैलाई आह्वान गर्दछु ।
सरकारको नेतृत्व लिन हतारमा छैनौ भन्दै देउवाले सरकार आफ्नै बोझले ढल्छ भने । हामी विपक्षीको भूमिका खेल्न चाहन्छौँ किनभने प्रजातन्त्रमा विश्वास गर्नेले बलियो विपक्षी भएको खण्डमा प्रजातन्त्र फस्टाउँछ, फुल्छ, कसैमाथि अन्याय हुन्दैन, उनले भने ।
विपक्षी बलियो भएन भने त्यहाँ तानाशाही हुन्छ भन्ने तथ्य बुझ्न आवश्यक छ भन्दै उनले आवश्यकता र परिस्थितिले माग गरेको खण्डमा राष्ट्रिय सरकार नबन्ने भन्ने होइन भने । सभापति देउवाले प्रजातन्त्रको सुन्दर पक्ष भनेको शक्ति सन्तुलन हो, त्यसका लागि पनि काँग्रेस विपक्षमा बस्नुपर्छ, उनले भने ।
पार्टीको सिद्धान्त, नीति र आदर्शलाई आत्मसात् गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र र बहुदलीय व्यवस्थालाई कसैले कमजोर बनाउन नदिने कामलाई प्राथमिकता राख्ने उनको भनाइ थियो । लोकतन्त्रको स्थायित्व, संविधानको कार्यान्वयन, प्रदेशको सीमाङ्कनलगायत मधेसका मुद्दा सम्बोधनमा पनि विशेष ध्यान पुर्याउने उनले बताए ।
फरक प्रसंगमा देउवाले न्याय परिषद्बबाट न्यायाधीश नियुक्तिका लागि संसदीय सुनुवाइ गर्न पठाएको पत्र सभामुखबाट फिर्ता पठाएको विषयमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग कुरा गर्ने बताए ।
उनले भने– यो अत्यन्त सम्मानित पद भएकाले सभामुखले त्यस्तो हस्तक्षेप गर्न हुँदैन, त्यो गर्ने नै होइन । बरु सुनुवाइ समिति बनाएर छिटो काम गरेको भए हुन्थ्यो । कसलाई चित्त बुझ्छ बुझ्दैन समितिले छिनोफानो गरिहाल्छ नि । सभामुख विवादरहित र असल मान्छे हुनुहुन्छ, कसैले फसाइदियो जस्तो लाग्छ ।
साथी बदल्न सक्छौँ तर छिमेकी बदल्न सक्दैनौँ भन्ने तथ्यलाई ध्यान पुर्याएर छिमेकीसँग राम्रो सम्बन्ध राख्नुबाहेक अर्को विकल्प नरहेको देउवाले स्पष्ट पारे ।
राष्ट्रको हितमा छिमेकी भारतसँगको विगतको चिसोलाई हटाएर सम्बन्धमा सुधार ल्याउने र चीनसँगको सम्बन्ध बढाउने पक्षमा आफू रहेको उनले बताए ।



