सधैं साधारण राष्ट्रिय पोसाकमा सार्वजनिक कार्यक्रममा देखिने राष्ट्रकवि माधवप्रसाद घिमिरे सोमबार बेग्लै पहिरनमा देखिन्थे । सुनौलो पोसाक र कालो टोपी, घरीघरी मधुर मुस्कानले उनको सय वर्ष संघारकोे बुढ्यौली घ्वाप्लाक्कै छोपिएझैं लाग्थ्यो। सभागृहको मञ्चमा हर्षित मुद्रामा उनी घरी टोपी मिलाउँथे, घरी गाउन सम्हाल्दै मुस्काउँथे। यो खुसीको सर्जक थियो– त्रिभुवन विश्वविद्यालय।राष्ट्रकवि घिमिरे र स्रष्टा इन्द्रबहादुर राईलाई त्रिविले सोमबार एक कार्यक्रमबीच ‘महाविद्यावारिधि’ विशेष उपाधिले विभूषित ग¥यो । जब राष्ट्रपति विद्यादेवी भण्डारीले घिमिरेलाई त्रिभुवन विश्वविद्यालयका तर्फबाट मानार्थ महाविद्यावारिधि उपाधि प्रदान गरिन्, राष्ट्रकवि घिमिरे भावुक बने । राष्ट्रकवि घिमिरेले भने, ‘आज मलाई यो सम्मान दिँदा जीवनकै ठूलो सम्मान दिएजस्तो महसुस भएको छ ।’
त्रिविका रजिस्ट्रार डिल्लीराम उप्रेतीले उनलाई मन्तव्यका लागि अनुरोध गर्दा उनले आफैंले तयार पारेर ल्याएको भावना पोखिहाले । उनले आज विज्ञान तथा प्रविधिले विश्व एक भइसकेको समयमा नेपालको विकासका लागि व्यक्तिगत स्वार्थबाट माथि उठेर काम गर्न सबैलाई आग्रह गरे ।
‘सबैको हातमा विश्वलाई नै देख्न सक्ने जादुको दर्पणजस्तो मोबाइल आइसकेको छ तर मानिसमा व्यक्तिगत भावनाबाट माथि उठ्न सक्ने क्षमता विकास हुन नसकेका कारण राष्ट्र विकास हुन सकेको छैन,’ उनले भने, ‘अब हामी सबैले राष्ट्रको विकास गर्नका लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नु जरुरी छ ।’त्रिविले नेपाली वाङ्मय श्रीवृद्धिमा अत्यन्त सराहनीय एवं विशिष्ट योगदान पु¥याएबापत राष्ट्रकवि घिमिरे तथा वरिष्ठ साहित्यकार राईलाई सम्मानार्थ महाविद्यावारिधि विशेष उपाधि प्रदान गरेको हो ।
विसं १९७६ असोज ७ गते आफू वरिपरि पहाडले घेरिएको मस्र्याङ्दी नदीका किनारमा रहेको लमजुङको पुस्तुन गाउँमा जन्मिएका घिमिरेले सय वर्ष नाघेपछि पनि नेपाली साहित्यमा योगदान दिने कार्यलाई निरन्तरता दिइरहने प्रतिबद्धता जनाउन चुकेनन् ।
तीन वर्षकै उमेरमा आमा गुमाएका र आफूमुनिका भाइसमेत गुमाउनुको पीडामा हुर्केको आफू राष्ट्रकवि बनेको वृत्तान्त घिमिरेले कार्यक्रममा सुनाए ।
६ वर्ष हुँदा अक्षर छिनेका उनले ८–९ वर्षकै उमेरमा गाउँको फुलेबाबासँगबाट पञ्चांग निकाल्ने विधि सिके । ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा(लमजुङ) गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा उनले प्रथमा उत्तीर्ण गरे । त्यसपछिको अध्ययनका लागि उनी बनारस पुगे ।
शास्त्री प्रथम खण्ड उत्तीर्ण गरेपछि उनले विसं १९९८ सालमा भाषानुवाद परिषदबाट मासिक २५ रुपैयाँ तलबमा लेखक पदमा अस्थायी नियुक्ति पाए । त्यसपछि २००१ सालमा गोरखापत्र दैनिकमा मासिक ४० रुपैयाँ तलबमा सहायक सम्पादक पदमा जागिरे भए । २०१० सालमा लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा गठन भएको काव्य प्रतिष्ठानमा चार वर्षसम्म सदस्य रहेर काम गरेका थिए घिमिरेले ।
विसं १९९२ को ‘ज्ञानपुष्प’ फुटकर कवितादेखि आरम्भ भएको राष्ट्रकवि घिमिरेको सार्वजनिक साहित्य यात्रा हालसम्म जारी छ । कविता विधातर्फ नवमञ्जरी, उषाचरित्र, नयाँ नेपाल र चैतवैशाख, गीततर्फ किन्नरकिन्नरी, बालकविता संग्रहतर्फ घामपानी, बाललहरी, सुनपङ्खी चरी, बिजुले र बिजुला, खण्डकाव्यतर्फ गौरी, पापिनी आमा, राजेश्वरी, राष्ट्रनिर्माता, धर्तीमाता, इन्द्रकुमारी लगायत साहित्य यात्रामा उनले सिर्जना गरेका काव्य र काव्येतर विधाका रचना हुन् ।
यसैगरी, उनले विशष्ट प्रज्ञा प्रतिष्ठान पदक, त्रिभुवन प्रज्ञा पुरस्कार, मालती मंगले गीतिनाटक विशेष नगर पुरस्कार, सीताराम साहित्य पुरस्कार, सिलसिला परिवारद्वारा रथयात्रा, आदिकवि भानुभक्त पुरस्कार लगायत एक दर्जनभन्दा प्रमुख साहित्यिक सम्मान तथा पुरस्कार प्राप्त गरिसकेका छन् ।
यसैगरी, भारतको पश्चिमा बंगाल राज्यको दार्जिलिङमा माघ १७ गते विसं १९८४ मा जन्मेका डा. इन्द्रबहादुर राईको शिक्षाको सुरुआत स्थानीय सन्त रोबर्ट्स उच्च माविबाट भएको थियो । उनी नौ वर्षपछि प्रथम श्रेणीमा म्याट्रिकुलेसन पूरा गरेका थिए । त्यसपछि उनी सन्त जोसेफ कलेज, दार्जिलिङमा भर्ना भई उच्च माध्यमिक शिक्षा उत्तीर्ण गरे । उनले बिए पूरा गरेको १२ वर्षपछि मात्र अंग्रेजी साहित्यमा एमए गरेका छन् । एमए गरेको ४० वर्षपछि डा. राईले सन् २००४ मा आफूले अध्ययन गरेको उत्तरबङ्गाल विश्वविद्यालयको छत्तिसौं दीक्षान्त समारोहमा उनले पहिलो पटक मनार्थ महशाविद्यावारिधि प्राप्त गरे ।
अस्वस्थ रहेका कारण उनी उपाधि ग्रहण गर्न सकेनन् । दार्जिलिङमा नेपाली जाति भए पनि नेपाली भाषाको भने मान्यता थिएन । त्यही नेपाली भाषालाई भारतीय संविधानको अष्टम अनुसूचीमा समावेश गराई राईले अहं भूमिका खेलेको कार्यको प्रशंसा त्रिविकी शिक्षा अध्यक्ष सुधा त्रिपाठीले गरिन् ।
डा. आइबी (इन्द्रबहादुर) राईको सन् १९६१ मा ‘बिपना कतिपय’ कथासंग्रह प्रकाशित भएको थियो । त्यसैगरी ‘आज रमिता छ’ उपन्यास प्रकाशित छन् । डा. राईको अर्काे कृति ‘कथास्था’ मा हामीजस्तै मैनाकी आमा, ब्ल्याक आउट, काजु, बदाम र छोरा, खिरलगायत कथा संकलित छन् । डा. राईलाई भारतको उत्तरबंगाल विश्वविद्यालयले महाविद्यावारिधि प्रदान गरेको १२ वर्षपछि त्रिविले दोस्रो मानार्थ महाविद्यावारिधि उपाधि दिएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई गर्व अनुभूति भएको बताइन् । ‘स्रष्टाविशेषलई सम्मानित गर्नु केवल व्यक्तिविशेषको सम्मान होइन,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘यसले एकातिर राष्ट्रलाई पनि सम्मानित गर्छ भने अर्कोतिर भावी पुस्तालाई पनि गहिरो उत्प्रेरणा र मार्गदर्शन गर्छ ।’
प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले नेपाली साहित्य, शिक्षा र समाजलाई लामो समयदेखि असाधारण योगदान दिँदै आएका गुरुहरुलाई सम्मान गर्न पाउँदा राष्ट्रकै लागि गर्वको अनुभूति भएको जनाए । उनले मानार्थ उपाधिले स्रष्टाहरुलाई राष्ट्रका लागि थप योगदान दिन आत्मविश्वास बढाउने जनाए ।
‘त्रिविले विशिष्ट स्रष्टालाई गरेको सम्मान कलासाहित्यको भूमिकालाई महतर्व दिनु हो भन्ने मैले ठानेको छु,’ उनले भने ।
त्रिविले हालसम्म स्वदेशी र विदेशी गरी ११ व्यक्तित्वलाई मानार्थ महाविद्यावारिधि प्रदान गरिसकेको छ । भारतीय पूर्व राष्ट्रपति सर्वपल्ली राधाकृष्णन र केआर नारायणन, लिली टर्नर, डा.रोबर्ट एल फ्लेमिङ, अमाडु माथर एम बिओ, दाइसाकुइकेदा र नफिस सादिकले यो उपाधि पाएका छन् ।
यो उपाधि पाउने नेपालीमा पारसमणि प्रधान, धरणीधर कोइराला, प्रा. यदुनाथ खनाल र प्रा. नयराज पन्त छन् ।



