नेकपा क्रान्तिकारी माओवादीमा चलेको अन्तरकलह अन्ततः वैशाख १० गते पुगेर पटाक्षेप हुने भएको छ ।
रामबहादुर थापा बादल पक्षले आफ्नो गुटलाई एमाओवादीमा लगेर विलय गरेपछि क्रान्तिकारी माओवादीमा चलेको अन्तरकलहको पनि अन्त्य हुनेछ ।
वैशाख १० अर्थात् अप्रिल २२ दिन लेनिन जयन्ती र कम्युनिस्ट पार्टी स्थापना दिवसकाे अससर पारेर बादलहरू एमाअाेवादीमा विलय हुने भएका छन् ।
त्यही दिन अन्य माअाेवादी घटकहरूमा मात्रृका यादव र मणि थापाकाे सानाे समुह पनि एमाअाेवादीमा विलय हुने कार्यक्रम रहेकाे विश्वस्त सुत्रले बताएकाे छ ।
बादल पक्षमा रहेका हाल केन्द्रीय सदस्यहरुको संख्या १ सय १० भने पनि हस्ताक्षरमा जम्मा ५७ जनाको मात्र पुगेको बादल पक्षकै एक नेताले जनपाटीलाई खुलासा गरे ।
एमाओवादीमा जान मरिहत्ते गरिरहेका बादलहरुलाई वैद्य पक्षका नेताहरु सकेसम्म पार्टीबाट गइदिए हुन्थ्यो भन्ने भित्रैदेखि चाहिरहेका छन् । किनभने उनीहरुको यति दयालाग्दो र हतास मानसिकताबाट वैद्यहरु आफैमा दिक्क छन् ।
‘हुन त हामी पनि एकताको पक्षमा हौ । तर उहाँहरु किन यति हतारिएर जान खोजिरहनु भएको छ, त्यो हामीले बुझ्न सकिरहेका छैनौं ।’ एक केन्द्रीय सदस्यले जनपाटीलाई भने, ‘विचार, कार्यदिशा र कार्यक्रमका कयौं मुद्धाहरु हल हुन बाँकी नै छन् । ती मुद्धाहरु सुल्झाएर एकतामा जाने कुरा त हामीले पनि गरिरहेका छौ ।’
वैद्यहरु कुनै पनि हालतमा एमाओवादीसँग झुकेर, लत्रेर एकतामा जाने पक्षमा देखिदैन । उनहीरुले एकताको सर्त सिद्धान्तनिष्ठ एकता भनिरहेका छन् ।
‘एकताको हाम्रो पहिलो सर्त सिद्धान्तनिष्ठ एकता हो । विचार र कार्यदिशासहितको एकता हो ।’ वैद्यका एक नेताले भने, ‘हामी एमाओवादीहरुसँग आत्मसर्पण गरेर एकतामा जानेवाला छैनौं ।’
यता बादल पक्षहरुले एकतालाई मोड्न वैद्यहरुले केन्द्रीय समितिको बैठक एक महिना पछाडि धकेलेको आरोप लगाएको छ । बादल पक्षका केन्द्रीय सदस्य रामदीप आचार्यले पार्टी एकताको मुद्धालाई मोड्न बैठक पछाडि धकेलेकोमा आक्रोश व्यक्त गरेका छन् ।
बादलहरु कुनै पनि हालतमा एमाओवादीमा विलय हुन जाने भएपछि यता वैद्यहरु आफ्नो पार्टीलाई सिद्धान्तनिष्ठ बनाएर जोगाउने र विस्तारै क्रान्तिकारीहरुबीच धु्रबीकरणलाई तीब्रता दिन सुरमा छ ।
क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले विप्लव माओवादीसहितको एकताको कुरा गरिरहेका छन् । उनले सबै माओवादीहरु विचार र कार्यदिशालाई केन्द्र बनाएर एकतामा जानु पर्ने बताइरहेका छन् ।



