स्थानीय निकाय निर्वाचनमा राप्रपा नेपालको तयारी


timthumbराप्रपा नेपालले सातै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेसँगै प्रदेश नम्बर ३ को चितवनबाट सुरु गरेको छ।
राप्रपा नेपाल केन्द्रीय प्रशिक्षण विभागद्वारा आयोजित स्थानीय निकाय निर्वाचन तयारी सम्बन्धी तीन दिनसम्म सञ्चालन हुने सो प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टी अध्यक्ष कमल थापाले गरेका थिए।
कार्यक्रम उद्घाटन गर्दै पार्टी अध्यक्ष कमल थापाले आन्दोलन, नाकाबन्दी या विदेशीको उक्साहटमा राष्ट्रहित विपरित संविधान संसोधन हुन नसक्ने बताएका छन्।
प्रधानमन्त्री हुन नेपाली जनताको भोट मात्र नभएर विदेशी शक्तिको सहयोग र आशीर्वाद चाहिन्छ भन्ने आत्मसमर्पणवादी मानसिकता हावी भएकै कारण मुलुकले निरन्तर संकट भोग्नुपरेको स्मरण गराउँदै नेपाली जनताको चाहनाअनुसार हिन्दुराष्ट्रको लागि संविधान संसोधन नभए जनमत संग्रहमा जान तयार हुनुपर्ने उनले बताए।
सम्बोधनकै क्रममा अध्यक्ष थापाले संविधान जारी भएपछि पनि राजनैतिक अस्थिरता कायम हुनुले संविधान कार्यान्वन र आर्थिक विकासमा जटिलता आउने खतरा औंल्याए।
कार्यक्रममा उपाध्यक्ष टंक ढकाल, महामन्त्रीद्वय राजेन्द्र लिङदेन, डा. धवलसम्शेर राणा, प्रशिक्षण विभाग प्रमुख शुशील श्रेष्ठ, प्रशिक्षक भक्ति सिटौला, रमानन्द न्यौपाने लगायतका नेताको सहभागिता थियो।
भदौ ४ गते सम्पन्न राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठकले प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गर्दै प्रदेश नं. २ र ४ बाहेक सबैमा प्रशिक्षणको मिति सार्वजनिक गरेको थियो।
जसअनुसार प्रदेश नं. १ को भदौ १२, १३ र १४ गते धरान सुनसरीमा, प्रदेश नं. ५ को भदौ २७, २८ र २९ गते लमही दाङ्गमा, प्रदेश नं. ६ को भदौ ३०, ३१ र असोज १ गते सल्यानमा र प्रदेश नं. ७ को भदौ २३, २४ र २५ गते डोटीमा सम्पन्न हुनेछन् ।

यसमा तपाइको मत