प्रधानमन्त्री प्रचण्डले मोदीसँग संयोगबस भएको भेटलाई गलत रुपमा प्रस्तुत गरेकोमा दुःख ब्यक्त गरे


सी सँग २० मिनेट वान टु वान छलफल

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयोगबस भएको भेटलाई गलत रुपमा प्रस्तुत गरेकोमा दुःख ब्यक्त गरेका छन् ।

गोवामा सम्पन्न ब्रिक्स सम्मेलन सकिएपछि सोमबार स्वदेश फर्किने क्रममा त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थलमा बोल्दै प्रधानमन्त्री प्रचण्डले होटल जाने क्रममा आफू बिशिष्ट कक्षमा बसिरहेका बेला चिनियाँ राष्ट्रपति सिजिनपिङसँग आकस्मिक रुपमा भेट भएको बताए । सीसँग कुरा गरेको २० मिनेटपछि सोही कक्षमा भारतका प्रधानमन्त्री समेत आइपुग्नु एउटा सुखद संयोग भएको र सोही अवसरको उपयोग गर्दै नेपालका हीतका पक्षमा दुई देशबिच छलफल गरेको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

prachanda-front
उनले भने– ‘चीनका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता सकेर आफू बस्ने होटलमा जाने क्रममा बिशेष प्रतिक्षा कक्षमा बसिरहेका बेला अकस्मात रुपमा चीनका राष्ट्रपति म भएको ठाँउमा आइपुग्नुभयो ।’

‘समय मिलाएर चीनका राष्ट्रपतिसँग पनि वान टु वान कुरा गर्न मन थियो । तर त्यहाँ ढुङ्गा खोज्दा देउता मिलेजस्तो भयो । उहासँग हिजो भएका सम्झौता कार्यान्वयन हुनुपर्छ भन्ने बारेमा, उहाँ नेपाल आउनुपर्छ भन्ने बारेमा सीधा कुरा भयो,’ उनले भने ।

नेपालको शान्ति प्रक्रिया, संविधान निमार्णका विषय र दुईदेशको सम्बन्धबारे २० मिनेट वान टु वान छलफल भएको उनको भनाई छ ।

उनले भने–‘सीसँग भेट्ने मेरो चाहना थियो, ढुंगा खोज्दा देउता भेटियो भनेजस्तै संयोगबस भेट भई आपसी हित र चासोका विषयमा छलफल भयो । नेपाल भ्रमणको निम्तो दिने अर्को एउटा संयोग पनि जु¥यो ।’

भारतका प्रधानमन्त्री मोदीको पनि बाटो परेकाले त्यही बीचमा उनीसँग भेट भएको हो । भारतका प्रधानमन्त्री र चीनका राष्ट्रपतिसँग एकैसाथ छलफल गर्ने वातावरण बन्नु नेपालका लागि सुखद संयोग बनेको उनले बताए ।

उनले भने – ‘पछि मोदीजि पनि टुप्लुक्क आइपुग्नुभयो, तीन देशका प्रतिनिधी एउटै कक्षमा हुँदा खुसीयालीको माहोल बन्यो ।’

तपाईहरुको आर्थिक प्रगतिबाट हामी पनि फाइदा उठाउन चाहन्छौं भनेर आफूले राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपालको हीतका पक्षमा कुरा राखेको प्रधानमन्त्री प्रचण्डले बताए ।

उनले बुद्धिज्मले नेपाल, भारत र चीनलाई जोडेको बताउँदै त्रिदेशीय साझेदारीलाई अगाडि बढाउन आग्रह गरेको उल्लेख गरे ।

मिडियामा आएको बिचित्रका टिप्पणीले मन दुख्यो
भारतका प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिसँग एकैसाथ कुरा गर्न पाउनु नेपाल र नेपालीका लागि एउटा महत्वपूर्ण संयोग भएपनि नेपाली मिडियामा गलत ढंगले प्रचार भएको भन्दै प्रधानमन्त्री प्रचण्डले दुख ब्यक्त गरे । उनले भने–‘उक्त भेटले मेराे छाती फुलेको छ तर यहाँ मिडियामा अाएका बिचित्रका टिप्पणीले साह्रै नमिठो लाग्यो । एउटा मिडियाले मैले चिनियाँ राष्ट्रपतिलाई भेट्न पाँच मिनेट कुराएको भनेर लेखेछ, त्यसले मेरो मन नराम्रोसँग दुखेको छ ।’

संयोगबस भएको भेटको सदुपयोग गर्दै त्रिदेशीय हितका विषयमा भएको कुराकानी र महत्वपूर्ण भेटलाई मिडियाले बंग्याएर लेखेकोमा आफ्नो चित्त दुखेको प्रधानमन्त्रीले बताए ।

चिनियाँ राष्ट्रपतिलाई भेट्न आफुले बरु कुर्नुपरेको उनले बताए । साँझ ६ बजेर १० मिनेटमा चिनियाँ राष्ट्रपतिलाई भेट्ने कार्यतालिका भएपनि ७ बजेर १० मिनेटसम्म पर्खिएपछि मात्र भेट भएको प्रधानमन्त्रीको भनाई छ । दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमाको जहाज आउन ढिला भएका कारण भेटघाटको समय लम्बिएको बताए ।

उक्त भेटमा भारत र चीन दुबैले नेपालको शान्ति प्रक्रिया र संविधानलाई स्वागत र समर्थन गरेको समेत प्रधानमन्त्रीको भनाई छ ।

यसैबीच ब्रिक्स बिमस्टेक सम्मेलनमा आफुले नेपालको तर्फबाट स्पष्ट धारणा राखेको बताएका छन् । उनले साना तथा कमजोर आर्थिक अवस्था भएका देशहरुको उर्जा, पर्यटन, आर्थिक विकासका क्षेत्रमा ब्रिक्सका सदस्य राष्ट्रले सहयोग गर्नुपर्ने धारणा राखेको बताए ।

उक्त सम्मेलनमा भुटानका प्रधानमन्त्रीसँग नेपालमा रहेका भूटानी शरणार्थी समाधानका लागि सहयोग गर्न समेत भुटानलाई आग्रह गरेको बताए ।

यसमा तपाइको मत