कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान संशोधनबारे आफूसँग कुनै छलफल नभएको बताएको छ । सरकारले मधेसी मोर्चासँग वार्ता गरी कात्तिक मसान्तभित्र संविधान संशोधन विधेयक दर्ता गर्ने बताएको भोलिपल्ट एमालेको धारणा आएको हो ।
विपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीसँग कुनै छलफल नभएको दाबी गरे । पूर्वप्रधानमन्त्री ओलीले भने, ‘अरु को-को सँग के-के भए, तर एमालेसँग संविधान संशोधनबारे कुनै छलफल अहिलेसम्म भएको छैन ।’
भोलिका दिनमा कसैले संशोधनको विषयमा परामर्श गरे एमाले छलफल गर्न तयार रहेको उनले बताए ।
यद्यपि उपयुक्त विषयमा संविधान संशोधन हुने कुरामा आफ्नो दल निकै सचेत रहेको स्पष्ट पारे । अध्यक्ष ओलीले भने, ‘देश र जनताको हित हुने कुरामा मात्रै संविधान संशोधन हुन्छ भन्ने कुरामा एमाले प्रष्ट छ । हचुवाको भरमा संविधान संशोधन हुन सक्दैन ।’
संविधान संशोधन कसैको दबावमा संविधान संशोधनका मुलुक कसैको प्रयोगथलो हुन नसक्ने ओलीले बताए । उनले अघि भने,’अनेक प्रकारका इन्जेक्सनहरु अब प्रयोग हुँदैनन्, हाम्रा हात पाखुरा र नशाहरुमा यो विषाक्त इन्जेक्सन हान्न दिँदैनौं । हाम्रो आफ्नो राष्ट्रिय लक्ष्य हुन्छ, त्यस अनुसार हामी अघि बढ्छौं ।’
सरकार र मधेसी मोर्चाको तीनबुँदे सहमतिप्रति लक्षित गर्दै ओलीले क-कसले कहाँ-कहाँ के-के गर्छु भनेर सत्ता प्राप्तिका लागि के-के सहमति गर्छ त्यो आफूहरुको विषय नभएको बताए । उनले भने, ‘देशका लागि आवश्यक पर्ने सकारात्मक संशोधन हामी गर्छौं ।
पछिल्लो समय नेपालमा जे गरेपनि नमान्ने चलन हाबी भएको एमाले अध्यक्ष ओलीको गुनासो थियो । ओलीले भने, ‘यहाँ अहिले यस्तो चलन चलेको छ कि एउटा खुर्सानी हाल्यो भने मात्रै खान्छु भन्छ, अर्को खुर्सानी नझिके खान्न भन्छ, यस्तो देखियो दृढ अडान ।’
ओलीले थपे, ‘अल्झ्याउने कुरा मात्रै हो । तर, कुलो लगाउने नाममा खोलो फर्काएर खेतै बगाउने काम स्वीकार्य छैन ।’
एमाले अध्यक्ष ओलीले प्रचण्ड नेतृत्वको वर्तमान सरकारप्रति व्यंग्य गर्दै भने, ‘हुन त अहिले ठूला गणतन्त्रवादीहरुको सरकार भएको जस्तो लाग्छ । अस्ति संसदमा बोल्दा त्यस्तै सुनेको थिएँ, तर त्यसमा सरकारको कुनै प्रतिक्रिया देखिएन् ।’
निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा कांग्रेसलाई कसरी मनाउनु हुन्छ भन्ने प्रश्नमा ओलीले भने, ‘तपाईहरुले देउसी खेल्नुहोस् न । देउसी खेलेपछि आँफै त्यो वातावरण बनिहाल्छ नि ।’



