१७ कात्तिक, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुबीच सामूहिक भेटवार्ता हुने भएको छ ।
भारतीय राष्ट्रपति मुखर्जी तीन दिने राजकीय भ्रमणका क्रममा बुधबार मध्याहृन काठमाडौं आइपुगेका छन् । उनले आजबाट उच्चस्तरीय भेटवार्ता सुरु गर्दैछन् ।
मधेसी मोर्चामा आवद्ध सात दलका नेताहरुले राष्ट्रपति मुखर्जीसँग बिहीबार साँझ ८ बजे हायत होटलमा सामूहिक भेटवार्ता गर्ने तय भएको छ ।
मोर्चामा आवद्ध दलका एक नेताले अनलाइनखबरसँग भने, ‘भेटका लागि मोर्चामा आवद्ध सात वटै दलका अध्यक्षहरुलाई बोलाइएको छ ।’
यसअघि भारतबाट हुने उच्चस्तरीय भ्रमणहरुमा पनि मधेसी मोर्चामा आवद्ध दलसँग सामूहिक छलफल हुँदै आएको छ ।



