उलनबटोर : तिब्बती धर्मगुरु दलाई लामाको भ्रमणपछि रिसाएको चीनले गरेको नाकाबन्दी खेपेको मंगोलियाले बाध्य भएर अब उनलाई फेरि देशमा आउन अनुमति नदिने बताएको छ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वालाई उद्धृत गर्दै भारतीय न्युज एजेन्सी आइएएनएसले जनाए अनुसार मंगोलियाका विदेश मंत्री त्सेंद मुंख-ओर्गिलले दलाई लामालाई धार्मिक उद्देश्यका लागि पनि भ्रमणको अनुमति नदिने बताएका छन्।
गएको महिना मंगोलियामा दलाई लामाले चीनको आपत्तिको बावजुद भ्रमण गर्दै त्यहाँका बौद्ध पुजारीहरुसित भेट गरेका थिए। दलाई लामाले पृथकतावादी गतिविधि चलाएको आरोप चीनले लगाउने गर्छ।
गएको साता मंगोलियाले चीनले एउटा प्रमुख सीमा चौकी बन्द गरेपछि मालवाहक ट्रकहरुको आवागमन प्रभावित भएको बताएको थियो। मंगोलियाको ट्रकलाई चीनले उच्च यातायात शुल्क लगाउँदा उत्पन्न आर्थिक संकटबाट सहयोगका लागि मंगोलियाले भारतसँग सहयोग मागेको थियो।
मंगोलियाका विदेश मन्त्री गएको साता नेपाल भ्रमणमा पनि आएका थिए।



