नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे नेपाल आएकी दुलही बेलुकी झन्डा हल्लाउने मन्त्री बन्न नसक्ने बताएका छन्।
शुक्रबार राजधानीमा एमालेले प्रदर्शन गरेको विरोधसभालाई सम्बोधन गर्दै ओलीले नागरिकताको सवालमा यस्तो तर्क गरेका हुन्।
सरकारले संसदमा पेश गरेको संविधान संशोधनको प्रस्तावमाथि टिप्पणी गर्दै ओलीले संविधानको धारा ११ मा नागरिकता सम्बन्धी व्यवस्था भएको उल्लेख गर्दै भने, ‘संविधान संशोधनको प्रस्तावमा मातृभाषालाई समाप्त पार्ने सड्यन्त्र ल्याइएको छ। भोजपुरी र मैथेली भाषा समाप्त पार्ने खेल हुँदैछ।’
सरकार निर्वाचनभन्दा पनि आयु लम्बाउने खेलमा लागेको ओलीले आरोप लगाए। ०७४ माघभित्र तीन चरणको निर्वाचन नसक्दा संविधान फेल हुने र सरकार पनि नरहने जनाउँदै ओलीले मुलुकलाई निकास दिन आफू गम्भीर रहेको बताए।
‘संविधान संशोधन कुनै आवश्यक कुरा होइन, संशोधनले निर्वाचनलाई सहयोग पनि पुर्याउँदैन,’ उनले संशोधनको औचित्यमाथि प्रश्न उठाउँदै भने, ‘संविधान चलाउने र च्यात्नेहरुको नेपाललाई कमजोर पारेर मात्र निर्वाचनमा जाने उद्देश्य छ।’
संविधानको अनुसूचि ४ मा रहेको सीमांकनको विषयमा ओलीले देश विखण्डन गर्ने उद्देश्यले मधेस र पहाडलाई अलग गर्न खोजिएको जनाए।
राष्ट्रियसभाको प्रतिनिधित्वको सवालमा जनसंख्याको आधारमा कहीं नहुने ओलीले तर्क गरे। ‘अमेरिकाको न्यूयोर्क र क्यालिफोर्नियाजस्ता जनसंख्या भएको राज्यबाट माथिल्लो सदनमा दुई जना मात्र प्रतिनिधि छन्,’ ओलीले तर्क थियो।
उनले मधेशमा एमालेलाई ड्रम बजाएर खेद्छौं भन्नेहरुले आफ्नो हैसियत भुल्न नहुने बताए। भने, ‘मधेशमा एमालेसँग ४० सिट छ, ११ सिट हुनेहरुले खेद्ने?’
काठमाडौंबाट सुरु भएको प्रदर्शन अब देशभर फैलने उनको भनाइ थियो। ‘एमाले अब मधेशमा झर्छ। हिमाल र पहाडमा सभा हुन्छ,’ उनले भने, ‘अब एमालेको सभा ड्रोनबाट होइन स्याटलाइटबाट खिच्नुपर्छ।’
संविधान कार्यान्वयनभन्दा पनि सरकार जोगाउने प्रयास भइरहेको बताउँदै उनले संशोधन प्रस्तावलाई तासको पत्तासँग व्याख्या गरे। ओलीले संशोधन प्रस्ताव कुनै हालतमा पारित हुन नदिने दाबी गरेका छन्। भने, ‘संसदमा राम्रै उपस्थितिमा एमाले छ। देशहित विपरीतको संशोधन प्रस्ताव पारित हुन दिइँदैन।’
ओलीले मधेशका जनता चुप लागेको फाइदा उठाएर अनावश्यक व्याख्या भइरहेको बताए। उनले मधेशी जनताको राष्ट्रियताप्रतिको भावनालाई कम नआँक्न आग्रह गर्दै भने, ‘मधेशी जनता चुप लागेको फाइदा उठाइएको छ। तर, यो आन्दोलनमा मधेशी जनता आइसकेका छन्।’
प्रधानमन्त्रीले अनावश्यक कुरा गर्दै हिँडेको उनले आरोप लगाए। प्रधानमन्त्रीले पहाड र मधेश फुटाउने काम गरिरहेको ओलीको आरोप थियो।



