फागुन, काठमाडौं । मधेसमा रक्षात्मक अवस्थामा पुगेको पार्टी संगठन र जनमतलाई ब्युँताउन एमालेका शीर्षनेता सहित पार्टीको ठूलो पंक्ति शुक्रबारदेखि तराई झर्दैछ । एक हजारभन्दा बढीको केन्द्रीय टोलीसहित शीर्ष नेताहरु मधेस पस्न लागेका हुन् । दुई सातासम्म एमालेका सबै नेताहरु मधेसमै मुकाम बनाएर बस्नेछन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहित एमालेका प्रायः सबै नेताहरु शुक्रबार साँझसम्म झापा पुग्नेछन् । ओलीले आजै अपरान्ह झापा सदरमुकाम चन्द्रगढीमा पत्रकार सम्मेलन गर्दैछन् । शनिवार झापाको काँकडभिट्टाबाट शुरु हुने दुईसाता लामो मेची- महाकाली तराई मधेस अभियानमा सहभागी हुन पार्टीका २५ हजार नेता कार्यकर्ता नियमित परिचालन हुने अनुमान एमालेले गरेको छ ।
यो अभियानका क्रममा ३५ लाख जनता प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहभागी हुने अनुमान गरिएको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताए । मधेसमा एमाले विरुद्ध फैलाइएका ‘भ्रम’ चिर्ने र आसन्न निर्वाचनमा जनमत आफ्नोतर्फ फर्काउने प्रयोजनका लागि एमालेको अभियान प्रभावकारी हुने नेताहरुको दावी छ ।
एमालेले अबका दुई साता सम्पूर्ण शक्तिसहित तराई मधेसका सदरमुकाम र मधेसी बाहुल्य रहेका बजारहरुमा जनसभा, कोणसभा, सांस्कृतिक कार्यक्रम र प्रचारात्मक अभियानसहित मधेसी जनताको मन जित्न केन्दि्रत हुने एमाले नेता सत्रुघन महतोले बताए ।
संविधान जारी भएदेखि एमालेका शीर्ष नेताहरु मधेसका भित्री बजारहरुमा ठूला कार्यक्रम लिएर गएका छैनन् । माधवकुमार नेपाल आफ्नो गृहजिल्ला रौतहटमा नियमित जाँदा पनि त्यहाँ पटक-पटक मधेशी मोर्चाका कार्यकर्ताहरुसँग झडप हुने गरेको छ ।
संविधान जारी भएदेखि एमाले अध्यक्ष ओली २ नम्बर प्रदेशका जिल्लामा गएका छैनन् । उनी यसपटक सुनसरीको इनरुवा, सप्तरीको राजविराज, कञ्चनपुर र लाहानको गोलबजार, जनकपुर, गरुढा लगायतका मधेस आन्दोलनका केन्द्र भागमा पुग्नेछन् ।
मधेसका प्रमुख शहर र मधेसीको जनघनत्व रहेका बजारहरुमा आमसभाहरु आयोजना हुँदैछन् । ती आमसभाहरुमा एमाले नेताहरुले मैथिली, भोजपुरी भाषामा भाषण गर्नेछन् ।
झडपको त्रास
अभियानको पूर्वसन्ध्यामा एमालेका कार्यकर्ताले मैथिली र भोजपुरी भाषामा प्रकाशित भएको अपिल बाँड्न मधेसी बस्तिमा पसेका छन् । यसैक्रममा विहीबार साँझ सप्तरीमा मधेशी मोर्चाका कार्यकर्ताले अवरोध गर्दा झडप समेत भएको छ ।
एमालेले आफ्नो मेची महाकाली अभियानमा अवरोध नगर्न सबैमा आह्वान गरेको छ । तर, एमालेको कार्यक्रमलाईनै लक्षित गरेर सप्तरीमा मोर्चाले चक्काजाम आयोजना गरेको छ । ओली मधेस बिरोधी भएको भन्दै उनको कार्यक्रममा अवरोध गर्ने चेतावनी मोर्चाका सप्तरी संयोजक दिनेश यादवले दिएका छन् ।
एमालेको अभियानमा एक हजार नेता कार्यकर्ता, कलाकार र स्वयंसेवक हरेक दिन मोबाइल टोलीमा हुनेछन् । केन्द्रबाटै खटिएको यो टोली दुई सातासम्म झापादेखि कञ्चनपुरका सबै कार्यक्रममा सहभागी हुने प्रचार बिभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
मधेसी मोर्चाको आवरणमा कांग्रेसबाट अवरोध हुन सक्ने भन्दै एमालेले सम्बन्धित क्षेत्रका सुरक्षा निकायलाई समेत आफ्नो कार्यक्रमबारे जानकारी गराएको एमाले स्रोतले जनाएको छ । सम्भावित झडप रोक्न सुरक्षा निकायले सतर्कता अपनाएको छ ।
एमालेको अभियानका क्रममा अन्यत्र तनाव नभए पनि राजविराज,गोलबजार,जनकपुर लगायतका ठाउँमा बढि सुरक्षा सतर्कता अपनाइएको छ । ती ठाउँ मधेसी मोर्चाको आन्दोलनबाट प्रभावित छन् ।
यो अभियानको पूर्वसन्ध्यामा गृहमन्त्री बिमलेन्द्र निधीले सिराहामा दिएको अभिव्यक्तिले पनि परिस्थिति उत्तेजक बनाएको एमाले सप्तरीका सचिव शम्भु यादवले बताए ।
एमालेको कार्यक्रममा कतैबाट अवरोध भएमा सशक्त प्रतिकार गरिने र झडप भएमा त्यसको जिम्मेवारी गृहमन्त्रीले लिनुपर्ने एमाले सप्तरीले विज्ञप्तिमार्फत चेतावनी दिएको छ ।



