
राम्रो गर्न पठाएको दमन गर्न हैन
सूर्य हेर सबैतिर झुल्किएको छैन
सरकार भनेको त सबैको हो साझा
बहुमत छ भनेर नबजाउ बाजा ।१।
पाँचवर्ष सम्मलाई तिम्रै छत्रछाया
पक्षपाती नवनी सबलाई गर माया
तानासाही प्रवृतिले चल्दैन नि देश
जनता नै चिडिएमा फेरिदेलान् भेष ।२।
के.सीसङ्ग वार्ता गर्न मध्यमार्ग खोज
विपक्षको मन जित्ने कुरा अब सोच
सानो झिल्को निभाउन गाह्रो हुन्न त्यती
आगो बढ्दै गएपछि धेरै हुन्छ क्षती ।३।
नेपालीको भविष्य त तिम्रै छ नि हात
राम्रो काम गर्नेलाई दिन्छौ हामी साथ
चाहाना नै यही गर्छौ देश बनोस् राम्रो
हत्या हिंसा अन्त्य गर कामना छ हाम्रो ।४।



