सेवा नै धर्म हो

- पूर्व सेनानी टङ्क बहादुर बजगाई


 

मठ र मन्दिर पाटी र घाट
बनाउछौँ भनी गरेर आँट
शास्त्रका ठेली पल्टाइकन
पुराण भन्छन् पण्डित जन ।१।

आस्था बोकेका दानविर पनि
पुराण सुनी दान गर्छन अनि
भक्तहरूको दान गर्ने मन
यस्तै रीतिले जम्मा हुन्छ धन ।२।

बग्दछ त्यहाँ द्रव्यको कुलो
बन्दछ हेर कोष धेरै ठूलो
एक भाग त्यही खर्चमा जान्छ
केही रकम दक्षिणाले जान्छ ।३।

भागबन्डा गर्दा घट्दछ दाम
सोचे अनुसार हुँदैन काम
निर्माण किन अधुरो पो रह्यो
दाताले भन्लान रकम काँहा गयो ।४।

काम गर्दै जादा पुग्दैन खर्च
आम्दानी खर्च सुनाउनु पर्छ
दाता सबैको चित्त बुझ्दा खेरी
नपुग देखे थपिदिन्छन फेरी ।५।

सेवा गरेमा चलिरहन्छ नाम
समाजसेवा अपजसे काम
लालची न भै काम गर्नु पर्छ
सेवा नै धर्म भनी सोच्नु पर्छ ।६।

यसमा तपाइको मत