
साउनको झरी खै कता हरायो
फुसफुस कोदे पानीमा
लेऊ लागेको नास्पाती बोटमा
चढेर नास्पाती खाएको स्मरण ताजै छ
आरुको बोटमा चढेर निथ्रुक्क भिजेर
आरु चपाको ताजै छ
तर अहिले शहरमा छु
यहाँ पानी बेस्सरी पर्छ
तर मैले रुझ्न मनपराउने
कोदे पानी पर्दैपरेन
मैले खाने आरु र नास्पाती
असनको सागुरो गल्लीमा मात्र भेट्छु
नत्र मित्रराष्टको आँप र केरा मात्र
मित्रराष्टकै भाइहरु बेच्न ल्याउँछन्
कतै साउने झरी पनि
मित्रराष्टकै महोदयले ल्याउनु पर्ने त होइन
म अचम्ममा परेको छु
दिल्लीमा पानी पर्दा
काठमाडौँमा छाता ओड्नु पर्ने
नेपालको राजनीतिलाई झै
साउने पानीलाई कुन राजनीति लाग्यो
पर्न छाड्यो
मेरो प्रिय साउनेझरी
तिमीलाई इन्द्रको सभामा
प्रतिपक्ष बनाए की
वा भष्टचारको आरोपमा
विदेशी नेतालाई झै
फोहोरको कन्टेरमा
इन्द्रको शहरमा घुमाउँदैछन्
य तिमी कुनै जेलमा पो छौँ कि
कतै अनशन बसेर पो हो की
तिमी किन आएनौ
तर प्रिय झरी
तिमीलाई म स्मरण गरिहेको छु
साउने झरी तिम्रो
शीतलतामा निथु्रक्क भिज्न
आतुर छु तिम्रै प्रतिक्षा गरिरहेछु ।



