काठमाडौं महानगरपालिकाले शनिबारबाट ५ वटा जेट मेसिन सञ्चालनमा


सहरको सरसफाइका लागि काठमाडौं महानगरपालिकाले शनिबारबाट ५ वटा जेट मेसिन सञ्चालनमा ल्याएको छ।

१३० हर्सपावर क्षमता र युरो मापदण्ड ४ बमोजिमका जेट मेसिन ५००० लिटर क्षमताका हुन्। ५ हजारमध्ये ४ हजार लिटर सफा पानी र १ हजार लिटर ढलको फोहोर पानी अट्ने छुट्टाछुट्टै ट्यांकी छन्। थुनिएको ढल तानेर सानो ट्यांकीमा राखिन्छ भने ठूलो ट्यांकीमा भएको सफा पानीले फोहोर भएको ठाउँमा सफाइ गरिन्छ।

जेट प्रयोगमा आइसकेपछि थुनिएको ढल खोल्दा एउटा जेट फोहोर तान्न र अर्को जेट सफा गर्न जानु पर्दैन। हरेक वर्षको सेप्टेम्बर १५ तारिखका दिन मनाइने विश्व सरसफाइ दिवसको अवसरमा पारेर जेट मेसिनहरू प्रयोगमा ल्याइएका हुन्।

मेसिनमा रहेको हाइ प्रेसर पम्प र १२० मिटरको जेटिङ पाइप भएकाले ढल खोल्ने काम छिटो गर्न सकिन्छ । जेटमा भएको स्प्रे गनले विरुवामा भएको धूलो पखाल्न तथा सडक आसपास क्षेत्रमा सफा गर्न सकिन्छ।

 

यसमा तपाइको मत