बा!
यो सपनाको आकाशमा
कितिञ्जेल बिचारको मदानी घुमाएर बसौ ?
त्यसैले बा
मलाइ एक झोक्का हुरी चाहिएको छ /
आमा !
अधिकारको रेखाचित्र
हेरेर म कतिन्जेल
यो आँखालाई बिछ्याई राखु ?
त्यसैले आमा
मलाइ उघारिएको चेतना चाहिएको छ /
दाजु !
भ्रमको विश्वासमा अड्किएको
यो समाजमा कति रहू ?
त्यसैले दाजु
मलाइ गौरवशाली यात्रा शुरु गर्नु छ /
भाइ !
बिरोधका पसलहरु
थापेर कतिन्जेल बसू ?
म बाँचेको समाज फेर्न
आकाशलाई काँधमा राखेर
भए पनि
नतुहीने आशा लाग्दो क्रान्ति चाहिएको छ /
दिदी !
आफ्नो रहरहरुलाई
कति पटक बन्दकी राख्नु ?
त्यसैले आँखामा असन्तोषका चेप्रा हटाउन
मुठ्ठी कसेका कसिलो हातहरुको
शाहासी साथ चाहिएको छ /
बहिनी !
म उत्सुकताको गुन्टा बोकेर
यो गरिब बस्तिहरुमा कति चाहार्नु ?
चर्किएको घाउहरुमा लगाउन
बसन्तका मुस्कानहरुको मलमपट्टी चाहिएको छ /
त्यसैले म हार्दिकताका साथ
मेरो सानो परिवारलाइ सोध्न चाहन्छु
के मैले चाहेको संसारमा
हृदयका साथ सहभागी हुने हो ?



