नीला ज्याकारान्डा र चक्रपथ

- प्रेम परिक्षित


कविता: नीला ज्याकारान्डा र चक्रपथ

ऊ मलाई
माथिमाथि नफुल्नु भन्छ
नीलो फूल नीलो आकाश
मन पर्दैन भन्छ
उसको दायाँबायाँ नउभिनु भन्छ
ऊमाथि
बिनासित्ती नढल्नु भन्छ
यानेकी ऊ चक्रपथ
अनि उसकै वरिपरि फुल्ने
म निरीह निलो ज्याकारान्डा

ऊ
सर्वाङ्ग देखाएर आजकल
मलाई गिँडिरहन्छ
मेरा बैजनी सपनाहरु
र बेसर्माईलो छाती फुलाउँछ
भन्छ ,उसलाई मन पर्दैन रे
माथिमाथि फुल्ने नीला फूलहरु
भन्छ , उसलाई रिस उठछ रे
मगमगाएको बैशाख र वसन्तहरु
यानेकी ऊ चक्रपथ
अनि उसकै वरिपरि फुल्ने
म निरीह नीलो ज्याकारान्डा

आजकल
मेरो चक्रपथ ठान्छ
ज्याकारान्डा संगको उसको दुस्मनी
लगभग सकिएको छ
नीला फूलहरु संगको सङ्घर्ष
लगभग अन्त्य भएको छ
चिन्दिन म गल्लिहरु
परिणाम सुकेधारा ओर्लनु पर्ने म
आज
बसुन्धरा आईपुगेको छु
यसरी सडक षडयन्त्र गर्छ म बिरुद्ध
याने कि ऊ चकपथ
अनि म उसकै वरिपरि फुल्ने
निलो ज्याकारान्डा

सडक, मेरो सुन्दरता
कहाँ अनुभूत गर्न सक्छ
मृत सडकहरु
मेरो स्वतन्त्रता कहाँ मन पराउँछ
ईर्ष्या गर्छ मेरा बैजनि फूलहरुको
र भारी लगाउँछ
मेरा हरिया सपनाहरु ट्रकहरुमा
रमाईरहेछन् गिँड्न पल्केका
बधशाला काठ मिलहरु
याने कि ऊ चक्रपथ
अनि म उसकै वरिपरि फुल्ने
निलो ज्याकारान्डा

भन्छ
सुखी जनता नफुलेका बेला
तँ किन निलाम्मै किन फुल्नु पर्यो?
सम्म्रुद्ध नेपाल नउठेका बेला
तँ मेरो वरिपरि
किन हरियै भएर झाङ्गिनु पर्यो?
मसंग किन प्रतिस्पर्धा गर्नु पर्यो?
मेरो हत्यामा
बैँस र लहरे पिपल
शोक मनाई रहेका बेला
सर्वाङ्ग एकलै दौडिरहन्छ
मेरो चक्रपथ
यानेकी सरकार
अनि म उसकै वरिपरि फुल्ने
निलो ज्याकारान्डा
बन्दी भएको छु
काठमिल बधशालामा…!!

नोट: विकासका नाममा सडक दायाबाया रहेका सुन्दर ज्याकारान्डाका रुखहरु काटेर बिरुप बनाईएको छ। वसन्त ऋतुमा यी बैजनी ज्याकारान्डा फुलेर सडकहरु मनमोहक हुन्थ्यो। सडकमा यात्रा गर्दा मन कति पुलकित हुन्थ्यो। अहिले उजाड भएको छ चक्रपथ र कलमलाई बेस्कन दुखेको छ )

यसमा तपाइको मत