नेपालमा एकै दिन सबैभन्दा बढी ५७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।ठ
मङ्गलवार दिउँसो स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार काठमाण्डूमा गरिएको परीक्षणमा ती सङ्क्रमण पुष्टि भएको हो।
अब नेपालमा सङ्क्रमितको कुल सङ्ख्या १९१ पुगेको छ।
मन्त्रालयका अनुसार पर्सा जिल्लाका ३९ जना, रूपन्देही जिल्लाका नौ जना, कपिलवस्तु जिल्लाका आठ जना र बाराका एक जनामा कोभिड-१९ देखिएको हो।
- कोरोनाभाइरस सङ्क्रमणको ‘रेड जोनमा काठमाण्डू, अब परीक्षण बढाइने’
- नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या [नक्सा]
मङ्गलवार सङ्क्रमण पुष्टि भएका सबै पुरुष भएको मन्त्रालयको प्रेस विज्ञप्तिमा जनाइएको छ।

सीमावर्ती जिल्लामा सङ्क्रमण धेरै
भारतबाट लुकीछिपी सीमावर्ती क्षेत्रमा मानिस भित्रिएका विवरणमाझ कतिपय सीमाक्षेत्रस्थित जिल्लाहरूमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ।
सोमवार २४ जनामा कोभिड-१९ पुष्टि भएको थियो।
स्वास्थ्य मन्त्रालयका अनुसार मङ्गलवार अपराह्णसम्म नेपालमा कुल १७,८७८ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो भने १५३ जना आइसोलेशनमा छन्।
स्विस र चीन सरकारले पीसीआर परीक्षण किट नेपाल सरकारलाई सहयोगस्वरूप दिएसँगै परीक्षणले तीव्रता पाएको छ।
| जिल्ला | सङ्क्रमण सङ्ख्या |
|---|---|
| पर्सा | ६४ |
| उदयपुर | ३२ |
| कपिलवस्तु | २९ |
| बाँके | २४ |
| रुपन्देही | १६ |
| काठमाण्डू | ५ |
| कैलाली | ४ |
| रौतहट र बारा | ३ |
| बाग्लुङ, चितवन र झापा | २ |
| बर्दिया, भोजपुर, कञ्चनपुर, सप्तरी र सर्लाही | १ |
| स्रोत: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय |



