लघुकथा : पीडा

- दामोदर ढकाल ` दिपक´


लघुकथा : पीडा
_ दामोदर ढकाल ` दिपक´

बरण्डामा बसेर तिर्थ साेचिरहेकाे थियो । मुढामा बसेर बाहिर सडककाे दृष्य होइन भविष्य हेरिरहेकाे थियो उ । अनिश्चित भविष्य । तीन महिना लकडाउनमा बसेपछि सानोतिनो पेशा व्यवसाय गरेर बस्नेकाे हालत नाजुक भैसकेको थियो । अलिअलि भएकाे बैंककाे वचत पनि सकिइसकेकाे थियो । फेरि नाकाबन्दी हुन सक्ने डरले तीन महिनालाई पुग्ने दाल, चामल र ग्याँस चाहिँ जाेडेकाे थियो ।
भुकम्पले तहन नहस भएकाे व्यापार भरखरै तङरिन लागेको थियो । फेरि काेराेना दाेख बनेर अायाे ।
भोक र रोगले मान्छे मरिरहेका बेला करोडका कार्पेट र लाखौंका जीमखानाका समाचारहरूले हुरी बनेर मन हल्लाउँथे ।
`के हुन लाग्यो देश ? के हाेला हामी जस्तो खानाकै लागि ससानो व्यवसाय गर्नेकाे हालत । गाउँमा गएर खेती गराै बाँदरले बाली उठाउन दिँदैन ।´ आफैंसँग सम्बाद गर्यो ।
` ह्य माेवाइल नि ह्याङ् भकाे भै गर्छ , बाबा लकडाउन सकिनासाथ राम्रो माेवाइल किन्नु है ।´ छोरीले भनी ।
` बुढाे पाेहाेर त गर्मीमा मुक्तिनाथ गयाै । यसपालि कहाँ जाने ? लकडाउन खुल्नासाथ जानुपर्छ है डुल्न । बरू भन्नू न कहाँ जाने ?´ श्रीमतीले भनिन् ।
`मानसरोवर इण्डियाले नेपालकाे भूमिबाट बनाएकाे बाटाेबाट ।´ उसले जवाफ दियाे ।
त्यहीबेला तल राेडमा फाेनबाट कुरा गर्दै एउटा मान्छे हिँडदै थियाे , ` २५ गतेभित्रमा कर तिर्नु पर्ने र नत्र जरिवाना हुन्छ रे ।´ याे कुरा सुनेर त झनै उसकाे दिमाग हल्लियाे । ३ महिनाकाे सटर भाडा, ३ महिनाकाे फ्लाट भाडा, छाेराछाेरीकाे स्कुलमा भर्ना, ड्रेस, कापी किताब, बिमाकाे किस्ता ।
ऊ बरण्डाबाट काेठामा छिर्नासाथ बाहिर निस्कियाे ।
` बाबा चुराेट खान पसलमा जान लाग्नु भकाे भए चुइगम नि लिएर अाउनु है ।´ छोरीको माग ।
उ मुन्टाे हल्लाउँदै बाहिर गयाे । चुराेट मागेर सल्कायाे । चुइगम गाेजीमा राख्याे । चुराेटकाे धुवा अाकाशकाे बादलतिर फ्याक्दै बाेल्याे,` हे भगवान जटिल समस्या त अब अाउँदैछ । झनै पीडाका दिन शुरू हुँदैछन् ।´

यसमा तपाइको मत