
लघुकथा
लज्जाबाेध
खाना खाएर एउटा साहित्यिक कार्यक्रममा प्रमुख अातिथ्य ग्रहण गर्न जानु थियोे मलाई । बिहानकाे चिया खाजा खाँदै गरेको बेला यही कुरा शिविकालाई जानकारी मात्रै के गराएको थिएँ, अकस्मात् उनको अाग्रह सुन्नुपर्याे मैले । हजुर, मलाई पनि दस बाह्रवटा मुक्तक लेखिदिस्स्याेस् । अब हजुरसँग कार्यक्रममा जाँदा मेरो पनि साहित्यकारका रूपमा नाम अाउनुपर्छ । हजुर वरिष्ठ कवि, म अब हजुरकी पत्नी मात्रै भएर चिनिन चाहन्नँ । मेरो पनि नारी अस्तित्व हुनुपर्छ ।
अाश्चर्यचकित हुँदै मैले भने- तिमी यो कस्तो अाग्रह गर्दै छौ शिविका ! तिम्रो लागि मैले मुक्तक लेखिदिएर हुन्छ र ? तिमी अाफै लेख, बरु नमिलेको म मिलाइदिउँला नि ।
उनी झन् उत्तेजित हुँदै बाेलिन् – किन हुँदैन हजुरले लेखिदिएर ? निकिता, रागिनी र वंशिकाका श्रीमान् हरूले अाफै लेखिदिएर उनीहरूलाई उठाएका हुन् । हजुर भने खुब अादर्श हाेइसिन्छ । जसरी पनि लेखिदिस्सियाेस् है । अाजकाे कार्यक्रममा मैले पनि वाचन गर्न पाउनुपर्छ नि ।सबैले साेध्छन् मलाई , तपाईंले लेख्नुहुन्न भनेर । कहिलेकाहीँ लेख्छु, तर मन नपरेर च्यात्ने गरेकी छु भनेर ढाट्ने गरेकी छु । निकिता र वंशिका कति ठुला पल्टिन्छन् मेरा अगाडि । बरु रागिनी साेझी र सरल छे ।
मलाई थाहा छ शिविका ! निकिता, रागिनी र वंशिकाले सुनाउने गरेका रचना उनीहरूका होइनन् , तिनका रचनामा उनीहरूकै पतिका शैलीको गन्ध पाइन्छ । अनि उनीहरूका रचना तिनकै श्रीमान् हरूले लेखिदिएका हुन् भन्ने पनि धेरैलाई थाहा छ । मैले शिविकालाई यसरी सम्झाउने काेसिस गरेँ ।
त्यही त, शिविका समर्थनकाे भाषा बाेलिन् , तर जसरी पनि अाजका लागि केही मुक्तक लेखिदिन पुनः जिद्दी गर्न थालिन् ।
म विवश भएर पाँच थान चतुष्पदी मुक्तक लेखिदिएँ । मैले लेख्दै गर्दा शिविकाका अाँखा मृगकाजस्तै ठुलाठुला देखिएका थिए । उनकाे अनुहारमा उज्यालो थपियो ।
कार्यक्रममा शिविकाले पाँचवटै मुक्तक सुनाइन्, कतै अलमलिँदै र कुनै कुनै शब्द राम्रोसँग उच्चारण नै गर्न नजानीकन । यति बेला धेरैजसाे श्राेताले घरी मेराे त घरी शिविकाकाे अनुहारमा हेरिरहेका थिए । मलाई भने भित्रैदेखि लज्जाबाेध भइरहेकाे थियोे ।



