
अाधुनिक साहित्य परिषद्काे सिर्जनात्मक अाठाैं श्रृङखला । विशेष परिस्थितिमा पनि हामी सिर्जनामा निरन्तर छाै । यसपालिको श्रृङखला लघुकथाकाे श्रृङखला । सहभागीता नम्बर १५। जितु खड्का ।
मनिटरको मुख (लघुकथा)
‘गुड मोर्निङ सर ’
विद्यार्थीहरू स्वागत गर्न आआफ्ना ठाउँबाट उठेपछि प्रसन्न मुद्रामा गोकुल सरले ‘सिट डाउन’ भनी सबैलाई बस्ने निर्देशन दिए ।
लक्ष्मीप्रसाद देवकोटाको ‘यात्री’ कविता पढाउनुपर्ने थियो । उनले मठमन्दिरमा पूजापाठका लागि लामबद्ध भक्तजनहरुका सन्दर्भ ल्याए । त्यहाँ माग्न हात थापेर बसेका रोगी, असहाय, दीनदुःखीहरूका करुण कथाहरू सुनाए । परोपकार, मानवता, भ्रातृत्वका कुरा गरेर नअघाउने तर आपत्–वितपत्मा कसैलाई सहयोग नगर्ने ढोंगी मानिसहरूका उदाहरण पेस गरे । लामो व्याख्यानपछि कक्षा शान्त हुने कुरामा उनी विश्वस्त थिए । तर, कुनै उपलब्धि हात परेन । विद्यार्थीहरू हल्लामै मस्त थिए ।
आश्चर्यको कुरो कक्षामा ‘हल्ला नगर’ भन्नेकोे हल्ला झन् ठूलो थियो ।
‘ईश्वर र धर्मप्रति तिमीहरूको धारणा के छ ?’ पाठतर्फ डोहाेर्याउने उनको प्रयास कायमै थियो ।
अनेक यत्नपछि पनि कक्षामा आशातीत परिणाम नआएपछि उनलाई शिक्षण पेशाप्रति वितृष्णा पैदा भयो । विद्यार्थीको व्यवहार देखेर अचाक्ली रिस उठ्यो । राताराता आँखा पार्दै उनले भने— ‘मनिटर ! कोको हुन् क्लास डिस्टर्ब गर्ने तिनीहरुलाई बाहिर निकाल्नुपर्यो । अब एक्सन नलिई भएन ।’
यसो–उसो गर्दागर्दै समय सकियो । घण्टी लागेपछि उनीसँगै विद्यार्थी बाहिर निस्किए । अनि पो उनले हल्लाको रहस्य थाहा पाए – प्रश्नको उत्तर नदिई हल्ला मचाएर अरुलाई समेत पढ्न नदिने त उही कक्षाको मनिटरै पो रहेछ ।
‘चुप् लाग तिमी !’ उनले मनिटरलाई गाली गरे । उसको मुख रातो भयो ।
जितु खड्का
सुनसरी



